×

वीरगञ्ज १७ श्रावन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको एप्स टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ ।

राष्ट्रपती ट्रम्पले आज राति नै टिकटकलाई प्रतिबन्ध लगाउने कार्यकारी घोषणामा हस्ताक्षर हुन सक्ने बताउनुभएको हो । चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले बनाएको टिकटक विश्वमै सबैभन्दा धेरै रुचाइएको एप्स हो ।

हाल २ अर्ब पटक डाउनलोड भएको टिकटकका ८० करोड सक्रिय प्रयोगकर्ता छन् । निर्माता बाइटडान्सका लागि निकै ठूलो धक्का हुने ठानिएको यस एपको अमेरिकामा मात्र ८ करोड सक्रिय प्रयोगकर्ता छन् ।

टिकटकले अमेरिकी नागरिकको गोप्य विवरण सङ्कलन गरेको हुन सक्ने भन्दै अमेरिकी सुरक्षा अधिकारीहरूले चासो व्यक्त गरे पनि कम्पनीले भने अस्वीकार गर्दै आएको छ । कोरोना भाइरस र व्यापारको विषयमा भइरहेको चीन र अमेरिकाबीचको विवाद मोबाइल एप प्रतिबन्ध लगाउने अवस्थासम्म पुग्नुले दुई देश गम्भीर झगडामा रहेको प्रष्ट भएको विश्लेषकहरुले जनाएका छन् ।

Back to top