×

वीरगन्ज १६ श्रवाण । कोरोना संक्रमण फैलिएको पर्साको वीरगञ्जमा सरकारले चिकित्सकको विशेष टोली पठाउने भएको छ ।

पर्साका सांसद लक्ष्मणलाल कर्ण र विमल श्रीवास्तवसँगको भेटमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विशेष टोली पठाउन लागेको जानकारी गराएका हुन ।

१२औं तहका डाक्टरको नेतृत्वमा विशेष टोली पठाउने निर्णय भएको मन्त्री ढकालले जानकारी गराएको कर्णले यात्रा डेलीलाई बताए ।

‘वीरगञ्जको अवस्था भयावह छ, टोलटोलमा कोरोना संक्रमण देखिएपछि हटस्पट मानेर विशेष व्यवस्था गर्नुपर्‍यो भनेर सरकारको ध्यानाकर्षण गराएका छौं,’ कर्णले भने, ‘लकडाउन खुलेलगत्तै भारतीय सीमाबाट कामदार आएपछि संक्रमण बढेकाले सीमामा निगरानी बढाउन पनि सरकारको ध्यानाकर्षण गरायौँ ।’

कोरोना हस्पिटल तोकिएको गण्डक अस्पताल भरिएकाले अर्को व्यवस्था गर्नका लागि पनि सरकारको ध्यानाकर्षण गराइएको उनले बताए ।

‘वीरगञ्जको अवस्था भयावह भयो, डाक्टरहरू घरबाट बाहिर ननिस्केपछि अन्य बिरामीको बिचल्ली भयो । मरेको व्यक्ति जहाँ लगेपनि गाउँ टोल उठेर आउँछ, काज गर्न गाह्रो भयो । हिजो मिलनचोकका मान्छेले आउन दिँदैनन् भने । यी सारा समस्या लिएर सरकारलाई भेटन गएका हौं,’ उनले भने ।

डाक्टरहरू घरबाट बाहिर ननिस्केपछि बिरामीको मनोबल बढाउनका लागि सरकारलाई केन्द्रबाटै डाक्टर पठाउन आग्रह गरिएको उनले बताए ।

मन्त्री ढकालले वीरगञ्जको अवस्था बुझ्न आफू पनि स्थलगत निरीक्षणमा जान कोशिश गर्ने बताएको कर्णले जानकारी दिए ।

Back to top