×

वीरगञ्ज । प्रदेश, स्थानीय सरकार तथा स्थानीय प्रशासनले कोभिड संक्रमितको उपचारमा लापरबाही गरेको भन्दै उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा उजुरी परेको छ ।

डब्ल्यूएचओ तथा नेपाल सरकारको प्रोटोकल विपरित कार्य भइरहेको भन्दै वीरगञ्जका अधिवक्ता सुधिर कर्णले उजुरी गरेका हुन् । रिट निवेदनमा कानुनको पालना गरी संक्रमितको सही व्यवस्थापन र उपचार गर्नुपर्ने लगायतको माग राखिएको छ ।

उजुरीमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, वीरगञ्ज महानगरपालिकाको कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, संकट व्यवस्थापन केन्द्र पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा नारायणी अस्पताल वीरगञ्जलाई विपक्षी बनाइएको छ ।

निवेदनमा भारतसँगको खुल्ला सिमानामा सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाई विदेश तथा भारतबाट नेपालमा मानिस आवत जावत गर्ने कार्यलाई तत्काल बन्द गर्न आवश्यक वन्दोबस्ती मिलाउन माग गरिएको छ ।

यस्तै समुदाय स्तरमा फैलिएको कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि जोखिममा रहेका व्यक्तिहरुको पहिचान गरी परीक्षणको दायरा बढाउन, खानपान र बसोबसको यथोचित व्यवस्था सहितका क्वारेन्टिन बनाउन, विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड बमोजिमको आईसीयू तथा भेन्टिलेटर सहितको आइसोलेसन कक्ष भएको अस्पताल व्यवस्था मिलाउन पनि माग गरिएको छ ।

यसैगरी घरमा बस्न बाध्य संक्रमितलाई तत्काल आइसोलेसनमा राख्न आवश्यक प्रबन्ध गर्न, नारायणी अस्पतालबाट अन्य वैकल्पिक स्वास्थ्य सेवा प्रवाह गराउन र कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको अन्त्येष्टिका लागि ‘सदगद स्थल’ को व्यवस्था मिलाउन माग गरिएको छ ।

अनलाइन खबरबाट साभार ।

Back to top