मुख्यमन्त्रीको वीरगञ्जमा कोरोना बैठक भाषणमा सीमित

356

वीरगञ्ज १४ श्रावन । वीरगञ्जवासीले अत्यन्त गम्भीररूपले हेरेको हिजो मङ्गलवारको बैठक भाषणमा मात्र सीमित रहेको छ ।

कोरोना सङ्क्रमण महानगरमा तीव्र गतिमा फैलिरहेको र सोको समाधानको लागि बसेको बैठक प्रदेश सरकारको मन्त्री, राजनीतिक दलका पार्टी अध्यक्ष, सञ्चारकर्मी, उद्योगी–व्यवसायीहरूको भाषणमा सीमित रह्यो ।

स्थानीय राजनीतिक दलको पहलमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा आयोजित कोरोना सङ्क्रमण समस्या समाधान विषयक बैठकमा वीरगञ्ज महानगरका नगरप्रमुख विजय सरावगी काठमाडौंमा रहेकाले बैठक निष्कर्षविहीन समाप्त भएको थियो ।



स्थानीय सरकारको अहम् भूमिका रहेको भन्दै स्थानीय कर्मचारीहरूको उपस्थिति भएपनि नगरप्रमुख सरावगी बाहिर रहेकाले उनको सहमतिबेगर केही हुन नसकेपछि डम्फु बजाएर आएका प्रदेश सरकारका मन्त्री तथा प्रदेश सचिव शान्त देखिएका थिए ।

वीरगञ्जमा कोरोना सङ्क्रमण भयावह भएपछि विगत तीन दिनदेखि विभिन्न राजनीतिक दलले छलफल गर्दै सङ्घ सरकारको प्रतिनिधित्व गर्ने सांसद् तथा कर्मचारी र प्रदेश सरकारका मन्त्री तथा सचिवहरूको बैठक वीरगञ्जको समस्या समाधान गर्नेबारेमा बसेको थियो । हिजोको बैठकमा पहिलाझैं सबैले आआफ्नो समस्या सुनाएका थिए । समाधानको बाटो खोज्न बसेको बैठक समस्या सुनेर समापन भएको थियो ।

कोरोना सङ्क्रमण रोकथामको लागि तत्काल ५ सय शैयाको सुविधासम्पन्न आइसोलेशन वार्ड तथा २ सय शैयाको भेन्टिलेटरसहितको प्रिआइसोलेशन, एम्बुलेन्स, शववाहन, शव व्यवस्थापन, मास टेस्टिङबारेमा बैठक बसेको थियो ।
समस्या समाधानको लागि बसेको बैठकमा सहभागीहरूले विगतमा जे भएपनि त्याग गर्ने र अब एकजुट भएर अगाडि नबढेसम्म समस्या समाधान नहुने बताएका थिए ।

राजनीतिक दलका नेताहरू मानवतासमेतको ख्याल नराखी दलले निर्देश गरेका कुरामाथि नै केन्द्रित रहेका थिए । आफ्नो बचाऊ गर्दै अरूमाथि आरोप लगाउने र आफ्नो गोरुको बा–है टक्का भन्दै बैठकमा आरोप–प्रत्यारोप लगाएका थिए । बैठकमा प्रदेश सरकारले ठूलै रकम पठाएको तर सो रकम लुकाइएको बुझिएको थियो । नारायणी अस्पतालमा पटक–पटक गरी चार महीनामा डेढ करोड रकम हस्तान्तरण गरेको तर सो रकम गोप्य राखिएको खुलेको थियो । जिल्ला प्रशासन कार्यालयमा पठाएको पचास लाख रुपैयाँमध्ये चौबीस लाख खर्च भएको जिल्ला प्रशासन कार्यालयले जनाएको थियो ।

मुख्यमन्त्री लालबाबू राउत गद्दीले राजनीतिक दललाई समस्याको समाधान खोज्न निर्देशन दिएका थिए । आइसोलेशन तथा प्रिआइसोलेशन बनाउन ठाउँ छनोट गरी त्यसमा लाग्ने खर्च प्राविधिक मूल्याङ्कनसहित नारायणी अस्पताल हुँदै जिल्ला प्रशासन कार्यालयको सिफारिश आएमा नियमबद्धरूपले प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री गद्दीले प्रतिबद्धता व्यक्त गरेका थिए । प्रदेश सरकारले सीमित साधनस्रोतबीच कोभिड नियन्त्रण अभियानमा सहयोग गर्ने उनको भनाइ थियो ।

१४ वटा स्थानीय तह, राजनीतिक दल, सङ्घीय सरकारको प्रतिनिधित्व गर्ने कर्मचारीहरूले संयुक्तरूपमा ऐक्यबद्धता जनाएर अगाडि बढेमा प्रदेश पनि पछाडि नहट्ने उनको जिकिर थियो । विगतमा भएका कमीकमजोरीलाई त्यागेर अगाडि बढ्न सहभागीहरूलाई उनले निर्देशन दिए । उनले यो महामारी प्रदेश र सङ्घको मात्र नभएकोले सबैले आआफ्नो तरीकाबाट एकजुट भई सामना गर्नुपर्ने बताएका थिए ।

बैठकमा राजनीतिक दलका तर्फबाट नेकाका अजय द्विवेदी, प्रजिअ विष्णु कार्की, मेसु डा. मदन उपाध्याय, नेकपाका प्रभु हजरा, जसपाका रामनरेश यादव, स्वास्थ्य कार्यालयका प्रतिनिधिलगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतीक दैनिकबाट साभार ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here