×

वीरगञ्ज १३ श्रावन । बन्दाबन्दीको समयमा घटेको खाद्यान्न उद्योगको उत्पादनले अहिलेसम्म स्वाभाविक लय समात्न सकेको छैन । बन्दाबन्दी आह्वान गरिएको १ साता नबित्दै सञ्चालनमा आएका यस्ता उद्योग ४ महीना बितिसक्दा पनि क्षमताको ५० प्रतिशतको हाराहारीमा सीमित भएको उद्यमीहरूले बताएका छन् ।

अत्यावश्यकीय सूचीमा रहेका यी उद्योगलाई सरकारले बन्दाबन्दीमा समेत चलाउन दिएको थियो । बन्दाबन्दी हटे पनि खाद्यान्न उद्योगले क्षमताको आधा परिमाणमात्रै उत्पादन गरिरहेको नेपाल चामल, तेल र दाल उद्योग संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । बन्दाबन्दीका बेला सञ्चालन पूँजी, कच्चा पदार्थ र श्रमिक अभावका कारण क्षमताको २५ देखि ३० प्रतिशत उत्पादन भएको उद्योगी बताउँछन् ।

‘खाद्यान्न उत्पादनको केन्द्र वीरगञ्ज क्षेत्रका उद्योगको अवस्था त झन् समस्याग्रस्त देखिएको छ । स्वाभाविक गतिमा आउने प्रयासमा रहेका उद्योग निषेधाज्ञा लगाइएपछि थप समस्यामा परेका छन्,’ अध्यक्ष गुप्ताले भने । कोरोना संक्रमित बढेर मानिसको ज्यानै जान थालेपछि वीरगञ्जमा गत शनिवारदेखि अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ । कोरोनाको त्रास र आवागमनमा भएको अवरोधले उत्पादन प्रभावित भएको गुप्ताले बताए ।

अहिले बजारमा खाद्यान्नको माग पनि घटेको उद्योगीले बताएका छन् । ‘बजारबाट माग आउनै छोड्यो । भएको उत्पादन पनि गोदाममा थन्किएको छ,’ अध्यक्ष गुप्ताले भने । बन्दाबन्दीका बेला राहत वितरणले ह्वात्तै बढाएको माग अहिले खुम्चिएको छ ।

खाद्यान्न उद्योग पूर्ण क्षमतामा चल्न अझै लामो समय लाग्ने खाद्य उद्योगीको भनाइ छ । चामल उत्पादनका लागि धानको अभाव, श्रमिकहरू काममा फर्किइनसक्नु, लामो समयसम्म सार्वजनिक सवारी बन्द हुनुजस्ता कारणले उत्पादन क्षमता घटेको खाद्य उद्यमी बताउँछन् ।

मोरङ व्यापार संघका पूर्वकृषि संयोजक पीयूष अग्रवालका अनुसार यतिबेला धान उपलब्ध नभएकाले चामल उत्पादनमा कमी आएको छ । उद्योगीहरूसँग अहिले सोना मन्सुली, मन्सुली र कान्छीलगायत धानको मौज्दात घट्दै गएको छ ।

मौज्दात कम भएकाले पूर्ण क्षमतामा चलाउँदा कच्चा पदार्थ चाँडै सकिने र कामदार कामविहीन हुने भएकाले उद्योगहरू कम क्षमतामा चलाइएको अग्रवालले बताए । उद्योगीका अनुसार सामान्य अवस्थामा खाद्यान्न उद्योगले वार्षिक कुल मागको ६० प्रतिशत चामल, ६२ प्रतिशत दाल र ३५ प्रतिशत तेल आपूर्ति गर्ने क्षमता राख्छन् । तर, उद्योग पूर्णक्षमतामा नचलेपछि खाद्यान्नको आयात बढ्ने दाबी उद्योगीहरूको छ ।

सार्वजनिक सवारी नखुल्दा उत्पादनको बजारीकरण प्रभावित भएको, भुक्तानी उठाउन नसकिएको र यसले सञ्चालन पूँजीमा चाप परेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले बताए ।

करीब ३ हजार खाद्यान्न उद्योगमध्ये अधिकांश वीरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्जमा छन् । यी स्थानबाट देशका ठूला शहरमा खाद्यान्न आपूर्ति हुन्छ । बजारमा दिइएको उधारो उठाउन नपाउँदा उद्योग चलाउन कठिन भएको वीरगञ्जको न्यू ओम खाद्य उद्योगका सञ्चालक विश्वामित्रप्रसाद कलवारले बताए । काठमाडौं, पोखरा, हेटौंडा, नारायणगढलगायत मुख्य शहरमा खाद्यान्न आपूर्ति गर्दै आएका उद्योगीले अहिले यो समस्या भोगिरहेका छन् । यस्ता उद्योगमा काम गर्ने अधिकांश दक्ष श्रमिक भारतीय छन् । कोरोनाका कारण भारतीय सिमाना बन्द हुँदा उनीहरू नेपाल फर्किन सकेका छैनन् । यसले अधिकांश खाद्यान्न उद्योगमा कामदारको अभाव भएको गुनासो उद्योगीको छ ।

नेपाल चामल तेल र दाल उद्योग संघका उपाध्यक्ष नरेश राठीका अनुसार चामल, दाल र तेललगायत खाद्य वस्तुको विक्री भए पनि ती वस्तुबाट निस्कने कनिका, ढुटो, पिनाजस्ता सहायक उत्पादनको विक्री पनि ५० प्रतिशतले घटेको छ ।

Back to top