×

वीरगञ्ज १२ श्रावन । सङ्घ र प्रदेश सरकारले सहयोग नगरेको भनेर वीरगञ्ज महानगरका प्रमुख विजयकुमार सरावगीले नारायणी अस्थायी कोभिड गण्डक अस्पताल बन्द गर्ने भनी यसअघि दिएको अभिव्यक्तिमा सुधार गरेका छन्।

उनले वैशाख ६ गते तीन महीनाकालागि गण्डक अस्पतालसँग सम्झौता भएकोमा सोको म्याद साउन १८ गते सकिन लागेकोमा थप तीन महीनाको सम्झौता गर्न मौखिक सहमति भएको बताए । वीरगञ्ज महानगरपालिकाले आर्थिक भार थेग्न नसक्ने भन्दै नगरप्रमुख सरावगीले यसअघि प्रतीकसँग गण्डक अस्पतालको म्याद सकिएपछि थप सम्झौता नगर्ने र आइसोलेशन वार्ड बन्द गर्ने बताएका थिए । आज उनले गण्डक अस्पतालसँग थप तीन महीनाको म्यादका लागि मौखिक सहमति भएको र आफू काठमाडौंबाट फर्केर आएपछि लिखित सम्झौता हुने बताए ।

साउन १ गतेदेखि वीरगञ्जमा कोरोनाको सङ्क्रमण अत्यधिक बढेको छ । अहिलेसम्म आठजनाको मृत्यु भइसकेकोमा चारजनाको मृत्यु साउनको ५ दिनमा भएको छ । अहिले गण्डक कोभिड अस्पतालको आइसोलेशन भरिभराउ छ । त्यहाँको आइसोलेशनमा सङ्क्रमित राख्ने ठाउँ नभएपछि सरकारी नीति अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले लक्षण नदेखिएका र घरमा व्यवस्थापन हुने सङ्क्रमितहरूलाई घरमैं आइसोलेट हुन सक्ने व्यवस्था गरेको छ ।

घरमा व्यवस्थापन हुन नसक्नेलाई सिद्धार्थ माविको प्रिआइसोलेशनमा र लक्षण देखिएर समस्या भएका सङ्क्रमितलाई मात्र गण्डक कोभिड अस्पतालमा व्यवस्थापन गर्ने रणनीति तयार गरिएको छ। नगरप्रमुख सरावगीले लक्षण नभएकाहरूलाई आइसोलेशनमा राख्दा समस्या हुने भएकोले नयाँ रणनीति अनुसार कार्य भइरहेको बताएका छन्।

Back to top