‘लुटेरा र डाकु’ डाक्टर

330

श्याम सरार्फ  
भनिन्छ चिकित्सक भगवानकै अर्को रुप हुन् । कयौँ विरामीलाई नयाँ जीवन प्रदान गर्ने उनै चिकित्सकहरु हुन् । त्यसैले पनि आम मानिसले चिकित्सकलाई भगवानकै रुपमा लिन्छन् । अझ नयाँ जीवन पाएर अस्पतालबाट फर्केकाहरुले चिकित्सकको पुजै गर्ने गरेका छन् ।

तर भगवान जत्तिकै मानिने चिकित्सकहरुको पछिल्लो घटनाक्रमले भने उनीहरुलाई दिइएको त्यो हैसियत खोसिँदै जान थालेको छ । कतिपयले चिकित्सकलाई डाकु ठान्न थालेका छन् भने कतिपयले लुटेरा । पछिल्ला घटनाक्रम र सञ्चारमाध्यममा आएका तथ्यांकले चिकित्सकलाई डाकु र लुटेरा उपनाम भिडाउनु पर्ने अवस्था सिर्जना गरेको छ ।

बिरामीको सेवा गर्ने पेशालाई केही चिकित्सकले कमाउधन्दा बनाउँदा यस्तो उपनाम भिडाउनु पर्ने अवस्था आउन लागेको हो ।
अहिले चिकित्सकले बिरामीलाई सेवा गर्दैनन् । अहिले त हुँदै नभएको डर देखाएर विभिन्न थरिको चेक गर्न लगाउनेदेखि औषधि लिन लगाउने गरिरहेका छन् ।



श्याम सर्राफ

यो वास्तविकताबारे बताइरहँदा कयौँ चिकित्सक अहिले कोभिड १९ का बेला आफ्नो ज्यानको बाजि राखेर भए पनि संक्रमितहरुको सेवामा खटिरहेका छन् भनेर हामीले विर्सेका छैनौँ । उनीहरुले अहिले आफ्नो परिवारलाई छाडेर भए पनि संक्रमितहरुको ज्यान बचाउन अहोरात्र खटिरहेका छन् ।

तर कोही चिकित्सक भने यही बेला बिभिन्न बहानामा विभिन्न थरिका टेष्ट र औषधि लेखेर सोझा साझा नागरिकको खल्ती खालि गर्न लागि रहेको कुरालाई पनि स्वीकार्नै पर्ने तथ्य हामीमाझ छ ।

हुन त हरेक शहरको आफ्नो छुट्टै व्यथा छ । छुट्टै कहानी छ । वीरगञ्जमा त झन यस्तो कथा कहानी कमी हुने कुरै भएन ।
यहाँ नाम चलेका हुन्, नचलेका हुन् वा गुमनामहरु हुन्, उनीहरु सबैको एउटै ध्याउन्न हुन्छ उपचारका लागि अस्पतालको चौघेरामा छिरेका बिरामीबाट कसरी हुन्छ पैसा झार्ने ।

नाम चलेका केही चिकित्सकहरू आफुले गर्ने कामको दाइत्व लिन भन्दा पनि राजनीति गर्न व्यस्त देखिन्छन्, कोही आफूलाई चर्चित बनाउन । कोही भने बिरामीलाई दुहुनो गाई बनाउन लागि पर्छन । यो सबै कुराहरु पछिल्ला दिनहरुमा विभिन्न सञ्चारमाध्यममा आइरहेको समाचारहरुले नै पुष्टि गरेको छ ।

सबै काम कमिसनमा गरिने भएकाले सामान्य उपचारका लागि अस्पताल पुग्नेहरूलाई पनि चिकित्सकले मनलाग्दी परीक्षणको चिट थमाईदिन्छ ।

कतिपयले त सानै क्लिनिकमा भए पनि चेकजाँचको सबै उपकरण राखेर चाहिने नचाहिने कुरा परीक्षण गर्न लगाएर बिरामीसँग लुट्न तल्लिन देखिन्छन् ।

चिकित्सकहरुले बिरामीलाई सेवाग्राही होइन कि ग्राहकको व्यवहार गर्छन् । सरकारी अस्पतालमा जागिरे रहेका अधिकांस चिकित्सक सरकारी अस्पतालमा काम गर्न छाडेर आफ्नो निजी क्लिनिकमा बस्ने गरेका छन् ।

पैसा, पहुँच र चिनेजानेका लागी सरल र सहज व्यवहार गरेको जस्तो देखाउने गरे पनी गाउँगाउँबाट आउने विपन्न र साधारण नागरिकलाई भने बिभिन्न बहाना र चेकजाचको नाउमा सोझै लुट्ने गरेका छन् ।

वीरगंजको वडा नं. ४ वीर्तामन्दिर नजिकै रहेको एक नामचलेका चिकित्सकले आफ्नो निजि क्लिनिकमा कमाउ धन्दा चलाईरहेका छन् ।

घटना केही दिन अघिको हो । गर्भवती रहेकी एक महिला पेट दुखेर उपचारका लागि क्लिनिक पुगिन । क्लिनिकका चिकित्सकले विभिन्न कुरा भनेर डर देखाउँदै महिलालाई नानाभाति चेक गर्न लगाए ।

आफूले भनेको नगरे पेटमा रहेको बच्चालाई नै समस्या हुन सक्ने भन्दै तर्साएपछि महिलाले बाध्य भएर चिकित्सकले भनेको चेक गराउँछिन् । पछि उनी नारायणी अस्पताल पुगेर जाँच गराउँदा सामान्य औषधिकै भरमा पेट दुख्ने समस्या समाधान हुन्छ ।

यति बेलासम्म ती महिलाले ल्याएको पैसा सकिसकेको हुन्छ । यस्तो घटना त्यहाँ पुग्ने जो सुकै बिरामीको घटनामा दोहोरिन्छ ।
एक अर्की महिलालाई बिहान रिपोर्ट हेराउन मात्र बोलाइएको थियो । तर उनलाई पनि विभिन्न मनोवैज्ञानिक त्रास देखाउँदै थुप्रै किसिमको टेष्ट गर्न लगाइयो ।

वीरगञ्जमा यस्ता कयौँ घटनाहरू छन । जसले आजभोलि चिकित्सकहरू कमाउ धन्धामा लागेको स्पष्ट पार्छ । आवश्यकताको आधारमा मात्रै चेक गराउन लगाउने चिकित्सक न्यून छन् तर अधिकांसले झुटको खेती गरी त्रास देखाएर हैरान बनाउनेहरु छन् ।

औषधिका बिभिन्न कम्पनीहरू मध्ये जस्ले बढी कमिसन दिन्छ त्यै कम्पनीको औषधि चिकित्सकहरुले लेखिदिने गर्छन् । जुन ल्याबमा बढी कमिसन दिन्छ उसैकोमा जान बिरामीलाई दबाब दिइन्छ ।

बिरामीलाई सस्तो र गुणस्तरीय उपचार गराउन चिकित्सकले भूमिका खेल्नु पर्ने थियो तर कमिशनको लोभमा मर्यादित काम गरेर सम्मानजनक पेशालाई बदनाम गराईरहेका छन् ।

हुन त स्वास्थ्यमा सबैको समान पहुँच हुनुपछ भनेर संविधानमै उल्लेख छ । तर त्यो संविधानको दस्ताबेजमा मात्रै सिमित छ । यहाँ त हुने खानेलाई सहज छ, हुँदा खानेहरुका लागि भने सहज उपचार पाउनु भनेको ठूलो उपलब्धि हात पारे झै हुने गर्छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here