×

राधेश्याम पटेल/वीरगञ्ज ११ श्रावन । नारायणी अस्पताल वीरगञ्जका वरिष्ठ फिजिसियन डा. नीरजकुमार सिंह अहिले अस्थायी कोभिड अस्पतालमा कोरोना संक्रमितको उपचारको ड्युटीमा खटिएका छन्। शुक्रवार बिहान र अपरान्ह गरी मृत्यु भएका दुई संक्रमितको शव कहाँ छ? कुन बेला दाह संस्कार होला भन्ने लाग्यो र उनलाई सम्पर्क गरेँ।

शनिवार बिहान १० बजे कुराकानी हुँदा उनी बाटोमा रहेको जस्तो लाग्यो, अवाज त्यस्तै सुनियो। ‘आज दुई वटा शवलाई डिस्पोज गर्ने प्लान छ। त्यसैमा बिजी छु,’ उनले बाटोबाटै भने।

वीरगञ्जको नगर सभागृहबाट गण्डक कोभिड अस्पताल मुस्लिकले १५ मिनेट लाग्छ। त्यही बीचमा भयो, डाक्टर सिंहसँग कुराकानी। निकै कठिन मोडबाट वीरगञ्ज संघर्ष गरिरहेको भान भयो, उनको बोली सुन्दा।

गत चैतमा कोरोनाको इपिसेन्टर जस्तै थियो वीरगञ्ज। त्यति बेला संकट व्यवस्थापन केन्द्र पर्सा र सरोकारवाला निकाय जति सक्रिय थिए त्यस्तो तयारी अहिले छैन। वीरगञ्ज यतिखेर फेरि कोरोनाको झोकमा परेको छ। ‘के गर्ने होला एउटा शवलाई व्यवस्थित साथ दाहसस्कार गर्ने वातावरण भएन। कसरी काम गर्ने होला?,’ उनको प्रश्न।

नारायणी अस्पतालसँग एक मात्र एम्बुलेन्स छ। चिकित्सक र स्वास्थ्यकर्मीलाई वीरगञ्ज नगरसभाको क्वारेन्टाइनबाट कोभिड अस्पताल ल्याउन र लैजान पनि यसैको प्रयोग हुन्छ। कुनै बेला अस्पतालमा मृत्यु भएका संक्रमितको शव बोकेर दाहसंस्कारका लागि पनि यसैको भर। बुधवार मृत्यु भई बिहीवार कोरोना पुष्टि भएका वीरगञ्ज–५ मास्थानका एक ७० वर्षीय वृद्धको शव उठाउन नारायणी अस्पतालका चालकले मानेनन्।

भटाभट संक्रमित थपिन थालेपछि एक्लो चालकले १६ घण्टासम्म पीपीइ लगाएर कसरी काम गरुन्? एम्बुलेन्स पनि वातानुकुलित छैन।

‘एउटा एम्बुलेन्सबाट उसले पनि कति खट्ने? दुई घण्टा पीपीई लगाएर संक्रमित ओसारपसार गर्‍यो भने पसिनाले थकबक हुन्छ,’ डाक्टर सिंहले भने, ‘ चिकित्सकलाई ड्युटी अनुसारको कोभिड अस्पताल– टाउन हालमा पुर्‍याउने मुख्य जिम्मेवारी पनि छ उसमा।'

त्यही एम्बुलेन्समा राखेर बिहीवार ७० वर्षीय वृद्धको अन्त्यष्टि गर्न डाक्टर सिहले चालकको खुट्टा नै ढोग्न परेको सुनाए। 'बिहीवार उसलाई खुटा ढोगेपछि शव उठाएर तिलावे खोला किनारमा नेपाली सेनाको मापदण्ड अनुसार दाहसस्कार भयो,' उनले भने।

उनका अनुसार स्थानीय, प्रदेश र केन्द्र सरकारसँग वीरगञ्जमा कम्तिमा ३ वटा एम्बुलेन्स र चालक स्टयाण्डबाई राख्नु पर्ने भन्दै गरेको लबिङले पार पाएको छैन।

पछिल्लो समय वीरगञ्ज महानगरले एम्बुलेन्सको सेवा उपलब्ध गराउँदै आएको थियो। तर, वीरगञ्ज महानगरले चालक बेगरको एम्बुलेन्स दिने बतायो। कोरोना पेन्डेमिकमा महानगर सजिलै पन्छियो।

‘महामारी नियन्त्रण गर्ने जिम्मेवारी हाम्रोमात्र होइन, गर्ने जति गरेका छौं, एम्बुलेन्स छ, चालक छैन, त्यसकारण संक्रमित ओसारपसारदेखि दाह संस्कारमा समस्या भइरहेको हामीले पनि महसुस गरेका छौ,’ वीरगञ्ज महानगरका समाजिक विकास महाशाखा प्रमुख अरुण महतोले भने, ‘यस विषयमा महानगर गम्भीर छ, चाडै समस्या समाधानको लागि पहल गर्छौं।'

बिहीवार राति ९ बजे थपिएका पर्साका ३० जना संक्रमितमध्ये शुक्रवार राति अर्थात् २४ घण्टामा मात्र ८ जना संक्रमित आइसोलेसन वार्ड पुग्न सके। कतिपय संक्रमितहरु पैदल र मोटरसाइकलबाटै अस्पताल पुगे। महानगर आफ्नो जिम्मेवारीबाट पन्छिएपछि अवस्था जटिल बनेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए।

शुक्रवार राति थपिएका ८ संक्रमितमध्ये पर्साका ६ जना रहेका छन। उनीहरु पनि हालसम्म कोभिड अस्पताल वा सेमिआइसोलेसन वार्ड बनाइएको सिद्धार्थ माध्यमिक विद्यालयसम्म पुग्न सकेका छैनन्।

वीरगञ्जमा डिफ्रिजर आवश्यक

शवको दाह संस्कारमा हुने ढिलाईका कारण लास गन्हाउन थाल्छ। त्यसपछि थप जोखिम बढ्ने नै भयो। त्यसैले हो, एम्बुलेन्स चालकहरु २४ घण्टापछि मृत्यु भएका शवलाई बोक्न मान्दैनन्।

उनीहरुलाई पनि आफनो ज्यानको पीर। वीरगञ्जमा हालसम्म ४ जनाको मृत्यु भइसकेकाले शव चिस्यान बाकस आर्थात् डिफ्रिजर बक्सको अवश्यकता रहेको कोभिड अस्पतालका डा. सिंहको सुझाव छ।

‘वीरगञ्जमा एक दर्जनभन्दा बढी अस्पताल छन्। तर, नारायणी अस्पतालमा मात्र एक वटा शव राख्ने सकिने डिफ्रिजर बक्स छ,’ उनले भने, ‘यसमा उद्योगी व्यवसायी, अस्पताल सञ्चालक अथवा सरकारको ध्यान गएको छैन, तत्कालै शव चिस्यान केन्द्रयुक्त बक्स आयो भने संक्रमण फैलिन र शवको व्यवस्थित दाहसंस्कार गर्न सहज होला।’

उनले वीरगञ्ज आर्थिक नगरी भएकाले यहाँका दाताहरुको समेत ५/७ लाख पर्ने बक्सको लागि सहयोग गर्न अपील गरे। शव चिस्यानयुक्त बाकस भएपछि शवलाई जति समय राख्न सकिन्छ र उपयुक्त समयमा दाह संस्कार गर्न, संयन्त्र परिचालन गर्नसम्म सहज हुन्छ।

पहिलो पोष्ट डटकममा यो रिपोर्ट राधेश्याम पटेलले लेखेका छन् ।

Back to top