×

वीरगञ्ज ११ श्रावन । नारायणी अस्थायी कोरोना अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय भारतीय नागरिकको पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले आइतबार बेलुका नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतकको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको बताए ।

शनिबार उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

वीरगञ्जको आदर्शनगरस्थित रुंगटा मार्केटमा मालाको पसल व्यवसाय गरिरहेका ती भारतीय नागरिकको आइतबार बिहान करिब ६ बजेर १० मिनेटमा मृत्यु भएको थियो ।

कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार ती व्यवसाय मुटुरोगी थिए । उनमा मधुमेहसमेत थियो ।

शनिबार दिउँसो ज्वरो, खोकी, स्वासप्रस्वासमा समस्या लिएर नारायणी अस्पतालको आकस्मिक विभागमा आएका थिए ।

‘आकस्मिक कक्षमै उनको आरडीटी परीक्षण गरियो, एन्टीबडी पोजिटिभ आएपछि स्वाब संकलन गरि राति करिब ८ बजे कोरोना अस्पताल रेफर गरिएको थियो,’ डा.सिंहले भने, ‘उपचारको क्रममा आइतबार बिहान उनको मृत्यु भयो ।’

Back to top