कसले बुझ्ने उद्घोषकको पिडा ? बोल्नेहरुको अनुभव

118

वीरगञ्ज – के बोलेरै पनि पैसा कमाउन सकिन्छ र ? तपाईँलाई पनि लाग्ला सकिँदैन । तर यहाँ कयौँले बोलेरै पैसा कमाइरहेका छन् । हो, सुन्दा अचम्मै लाग्छ । बोलेर कमाइने भए त सबै बोलिरहेकै हुन्छन् ख्वै त हामीले कमाएको भन्ने पनि निस्किएलान् । तर बोल्न पनि कहाँ बोल्ने ? अनि कसरी बोल्ने भन्ने कुराले महत्व राख्छ नि !

अहिले कतिपयले जिविकोपार्जन गर्ने मुख्य आधार नै बोल्ने पेशा बनाइरहेका छन् । यसमध्ये कतिपयले स्टेज तताएर कमाइ गरिरहेका छन् भने कतिपय रेडियो तथा टेलिभिजनको पर्दाभित्र बोलेरै जिविकोपार्जन राम्रैसँग गरिरहेका छन् ।

विभिन्न संघ संस्था, राजनितिक दल लगायतका थुप्रै कार्यक्रमहरु दिनहुँ भइरहेका हुन्छन् । हरेक कार्यक्रम सफल बनाउन उद्घोषकको आवश्यक्ता पर्छ नै ।



रेडियो वा टेलिभिजनमा कार्यक्रम चलाउन होस् वा दर्शकलाई मनोरञ्जन दिलाउन स्टेजमा उफ्रिँदै कलात्मक ढंगले कार्यक्रम चलाउन पनि उद्घोषक नै जरुरी पर्छ ।

उद्घोषण गर्ने व्यक्ति नै उद्घोषक हो । उत्कृष्ट आवाज भएको, दक्षता हासिल गरेको, दर्शक श्रोतालाई आफ्नो बोलीबाटै आफूतिर आकर्षित गर्न सक्ने, सटिक अभिव्यक्ति दिन सक्ने र कल्पना शक्ति भएको कलात्मक अभिव्यक्ति दिन सक्ने व्यक्ति नै उद्घोषक हो ।

तर बोल्ने भन्दैमा जो कोही यो क्षेत्रमा टिकिरहन भने सक्दैनन् । निरन्तर संघर्ष गर्ने मात्रै यस क्षेत्रमा रहिरन सक्ने अनुभविहरु बताउँछन् । संघर्षकै मार्ग हो मंजिल पु¥याउने । उनीहरुका अनुसार संघर्ष गर्न नसक्ने धेरै जसो बिचैबाट बहिर्गमन भएकाहरु पनि छन् ।

अहिले चर्चामा रहेका उद्घोषकहरुका लागि संघर्षको मैदान कुनै बेला कठिन थियो । उनीहरु यो मुकामसम्म कसरी आइपुग्न सफल भए त ? यस्तो छ वीरगञ्जका केही चर्चित उद्घोषकहरुको अनुभव ।

हेमन्त तामाङ्ग

आज भन्दा झण्डै ८ वर्ष पहिले फर्कौँ । वि.सं. २०६९ सालमै हो रेडियो वीरगन्ज ९९ मेगाहर्जबाट मैले आफ्नो रेडियो यात्रा सुरु गरेको ।
प्लस टु पढ्दै गर्दा आंशिक कार्यक्रम प्रस्तोताको रुपमा रेडियोमा काम गर्र्ने अवसर जुटेसँगै सञ्चार जगतमा मेरो पनि प्रवेश भयो ।

हेमन्त तामाङ्ग

रेडियोमा कार्यक्रम कसरी चलाउँछन् होला ? भन्ने कौतुहलता मेरो मनमा पनि थियो । त्यो भन्दा पनि रेडियो प्रवेशको नयाँ किस्सा थोरै जोड्न चाहें । रेडियो वीरगंजमा म आफैँ कार्यक्रम चलाउन सक्छु भनेर पुगेको हो । तर रेडियोको गेटबाट भित्र छिर्न मलाई निकै दिन लाग्यो ।

कयौँ दिनसम्म त आज गएर भन्छु भन्दै घरबाट निस्के पनि गेटमा पुगेपछि भित्र छिर्नै हिम्मत आउँदैन थियो । केही दिनको प्रयास पछि भने रेडियोभित्र गएर आफ्ना कुरा राखें र त्यहाँबाट पनि सकारात्मक जवाफ मिलेपछि रेडियो यात्रालाई निरन्तरता दिने अवसर पाएँ ।

आंशिक प्रस्तोताकै रुपमा कार्यक्रम संचालन गरिरहेको मलाई २०७० सालमा वीरगंजमै चार दिनसम्म चलेको एक महोत्सवमा स्टेज चढ्ने अवसर जुट्यो ।

वीरगन्जमा एक पृथक कार्यक्रम भयो जसको नाम थियो ‘वीरगञ्ज कल्चरल फुड फेस्टिभल’ नाममा चलेको त्यो महोत्सवमा नै मेरो पहिलो स्टेज शेयर भयो । त्यो पनि त्यस बेला प्रायः वीरगन्जमा हुने सबै कार्यक्रममा उद्घोषण गर्ने चर्चित उद्घोषक विवेक खतिवडासँग । पहिलो कार्यक्रम नै चर्चित व्यक्तिसँग गर्ने अवसर पाएकोमा आफुलाई गर्व लाग्छ ।

पहिलो कार्यक्रममै दर्शकहरुले मलाई रुचाईदिनुभयो । यही नै मेरो टर्निङ प्वाइन्ट बन्यो । त्यसपछि वीरगंजमा जति पनि स्टेज कार्यक्रम हुन्थ्यो ति सबैमा मेरै बर्चश्व चल्यो ।

पहिलो स्टेज कार्यक्रमले मलाई जति चिनायो त्यो सँगै त्यसबेला मैले गर्नुपरेको संघर्ष र आयोजकले गरेको व्यवहारले मलाई अझ बढी सिक्ने अवसर पनि मिल्यो ।

त्यो कार्यक्रम सम्झँदा मात्रै पनि त्यस बेलाको गतिविधिहरु क्यासेटको रिलमा झैँ आँखामा झलझली आइदिन्छ ।
कार्यक्रममा कलाकार ल्याउन आयोजकले मलाई नै जिम्मा दिएका थिए । सार्वजानिक यतायातमा यात्रा गर्न कठिन हुने म जसोतसो कलाकार लिन काठमाण्डौ पुगे पनि फर्कँदा कलाकारले नै मलाई लिएर आउनु परेको जस्तै भयो ।

कलाकारलाई कार्यक्रमस्थलमा ल्याएर आफूले खाना समेत नखाई चाउचाउ र बिस्कुटकै भरमा कार्यक्रम उद्घोषण गर्नुपरेको त्यो क्षण अहिले सम्झिदा पनि आँखाबाट आँसु झर्न थाल्छ ।

सम्भवत वीरगञ्जमा भभएको त्यो कार्यक्रम नै दर्शकले खचाखच भरिएको मैले देखेको थिएँ । त्यस अघि कहिल्यै त्यस्तो देखेको पनि थिइँन ।

कार्यक्रम सफल पार्न निकै मेहनत गरियो । कार्यक्रम भब्य रुपमा सफल पनि भयो । तर कार्यक्रम सकिएपछि भने आयोजकले आफ्नो मेहनतको पारिश्रमिक दिनु त परै जाओस् सहयोगकका लागि धन्यवादसमेत भनेनन् ।

मैले अघि नै भने यो कार्यक्रमपछि वीरगञ्जमा भएका हरेक कार्यक्रममा उद्घोषणका लागि मेरै बोलावट हुन थाल्यो । कायौँ कार्यक्रम सञ्चालन पनि गरें ।

तर पारिश्रमिक नपाएको त्यो पहिलो कार्यक्रम अन्तिम भने बनेन । त्यसपछिका कतिपय कार्यक्रममा पनि पारिश्रमिक पाइएन ।
कसैले कार्यक्रम होस्ट गरिदिन आग्रह गरेपछि नाई भन्न नसक्नु र काम सकिएपछि मुख खोलेर पारिश्रमिक माग्न नसक्नुले पनि कतिपय कार्यक्रममा पारिश्रमिक पाइएन । त्यो मेरै कमजोरी भनौँ कि आयोजकको अहिले पनि सोच्ने गर्छु ।

हुन त सबै आयोजकलाई एउटै डालोमा हाल्नु हुँदैन । कतिपय आयोजक आफूले सोचेको भन्दा पनि खुला मन भएको पाएको छु । अहिले पनि ती आयोजकले कार्यक्रम चलाउन आग्रह गर्दा विना कुनै हिच्किचाहट आफ्नो सबै सेड्युल परिवर्तन गरेर भए पनि जाने गरिरहेको छु ।

एक पटक कार्यक्रम आयोजकको गैरजिम्मेवारीका कारण प्रहरीको लौरोसमेत खाएको अनुभव छ । कार्यक्रम खल्लो हुँदा दर्शकको आक्रोशको सामना समेत झेलेका दिनहरु अझै ताजा छन् ।

वीरगञ्ज बाहिर कार्यक्रम गर्दा फरक किसिमको आदर सत्कार अनि परिश्रमीक पाइन्छ । तर आफ्नो ठाउँमा कार्यक्रम गर्दाको अनुभव अलिक भिन्न छ । खैर, पारिश्रमिकको विषय होस् अथवा व्यवहार तर कार्यक्रम भने आफ्नै ठाउँ वीरगञ्जमा गर्न गज्जब लाग्छ ।

सामाजिक कन्सर्टदेखि मेला महोत्सवका कार्यक्रम अनि स्थानीयदेखि अन्तर्राष्ट्रिय क्षेत्रका कलाकार सहभागी कार्यक्रम उद्घोषण गर्दाको अनुभवले अझै आत्मविश्वास बढेको आभाष गर्छु । केही समय पहिले यस क्षेत्रमा हुने हरेकजसो कार्यक्रममा स्टेजमा चढ्ने म आजभोलि भने स्टेज चढ्न कम गरेको छु । राम्रो आयोजक र गुणस्तरीय कार्यक्रम हेरेर मात्रै अहिले मेरो स्टेजको यात्रा तय हुन्छ ।

निलिमा पौडेल

एक दशक भन्दा बढी समयदेखि अविछिन्न सञ्चारक्षेत्रमै छु । रेडियोमा समाचार वाचन गर्ने, कार्यक्रम संचालन गर्नेदेखी औपचारीक कार्यक्रम उद्घोषण गर्ने कामले नै मैले आफ्नो जीवन निर्वाह गर्दै आएकी छु । सानै उमेरदेखी यही क्षेत्रमा रुचि भएर होला यसैमा म रमाई रहेको छु । अन्य क्षेत्रमा अवसर नपाएर यसैमा अल्झि रहेको होइन । यही क्षेत्र नै अरुभन्दा विशेष लागेर यसैलाई निरन्तरता दिइरहेको हुँ ।

निलिमा पाैडेल

यसमा म रमाउनुको साथै आत्म सन्तुष्टि पनि मिलेको छ । अहिले मेरो रोजिरोटीको माध्यम नै उद्घोषण पेशा हो । चाहे त्यो रेडियोमा उद्घोषण गरेर होस या अन्य कुनै कार्यक्रम चलाएरै ।

धेरैले कार्यक्रम उद्घोषण गर्दा आयोजकका कारण समस्यामा परेको, भनेजति पारिश्रमिक नदिएको भन्ने गुनासो मसँग मेरै सहपाटीहरुले गरीरहन्छन् । तर मेरो हकमा भने यस्तो अवस्था बिरलै मात्रै आयो । अपवादमा १/२ आयोजकले मात्रै समयमा पारिश्रमिक नदिएका घटनाहरु छन् ।

हेर्दा फुच्ची देखीने भएकोले होला यसले के कार्यक्रम चलाउली र ? भन्ने सोच्छन् बरु । तर कार्यक्रम सकिसक्दा तारिफ गर्नेको कमी हुँदैन ।

आयोजकहरुले कार्यक्रम सकिएपछि पहिले भनेको भन्दा पनि बढाएर पारिश्रमिक दिएको थुप्रै उदाहरण मसँग छ । रेडियोको कार्यक्रमदेखी लिएर विभिन्न राजनितिक दल, संघ संस्थाका कार्यक्रम, सेमिनार, गोष्ठी, बैवाहिक कार्यक्रम लगायतका थुप्रै कार्यक्रम सञ्चालन गरेको अनुभव मैले बटुलिसकेकी छु ।

स्टेजमा कार्यक्रम गर्दा दर्शक श्रोताहरुको तारीफले आफुलाई गर्वान्भित महसुस गर्छु ।

बिबेक कर्ण

‘एउटा कार्यक्रम छ । उद्घोषण गरिदिनुप¥यो ।’ ‘प्लीज, मिलाउनु न । धेरैमा दुई घण्टाको कार्यक्रम त हो । तपाईले धेरै बोल्नै पर्दैन ।’ यस्तै यस्तै आयोजकका भनाईहरु सुन्नुपर्छ । अनि भन्नुपर्ने हुन्छ । ‘ठीकै छ, सर । कम्तीमा ५ हजार मिलाईदिनुहोस न ।’ फेरी आयोजकको जवाफ ‘हुन्छ ल, आऊनुहोस्, प्लीज । कार्यक्रम तपाईकै हातमा छ ।’

विवेक कर्ण

ठिकै छ गइदिउँन त भनेर कार्यक्रम संचालन गर्न दिइएको समयभन्दा चाँडै गयो त्यहाँ पुग्दा कार्यक्रमको सुरसार नै हुँदैन । निर्धारित समय भन्दा घण्टौँ ढिला गरी बल्लतल्ल कार्यक्रम सुरु गर्नुपर्छ ।

दुई घण्टामा सक्छ भनिएको कार्यक्रम ३/४ घण्टा, अँझ कहिलेकाहीँ त ५ घण्टासम्म लम्बिन पुग्छ । दिनभर एउटै काममा समय व्यतित गर्न परेपछि आफ्नो अन्य कामलाई भने थाँती राख्नु पर्ने बाध्यता आइपर्छ ।

तर कार्यक्रम सकिसकेपछि भने आयोजकको बोली फेरिन्छ, कुरा गर्ने तरिका फेरिन्छ ।
‘एक छिनको कार्यक्रम त थियो । जाबो त्यति बोलेको पनि यति धेरै ?’ आयोजकले ‘ल भोली आउ ।’ भन्दै टारिदिन्छन् । भोली जाँदा ५ हजारको ठाउँ २ हजार दिएर, मिलाउन खोज्छन् ।

केही यस्तै खालका रवैया सुरु हुन्छ आयोजकहरुका तर्फबाट । कैयौँ दिनसम्म झुलाइन्छ । त्यसपछि सुरुमा भनिएको भन्दा एकदमै न्यून शुल्क दिन खोजिन्छ । कहिले काहीँ त भोलि÷भोलि भन्दा महिनौँसम्म पनि आफ्नो पारिश्रमिक नदिएका कथाहरु छन् ।

दिनभरि गरेको मेहनतको शुल्क नपाउँदा लाग्छ, यो क्षेत्रमा व्यर्थै दुःख गर्दै छु ।

केही दिन अघि वीरगञ्जको घडिअर्वा पोखरी नजिकै रहेको एउटा अस्पतालको उद्घाटनमा होस्ट गरेको थिए । मेरै एक परममित्रको चिनजानको अस्पताल रहेछ । त्यसैले उनले भनेपछि नाईँ भन्नै नसकेर कार्यक्रम संचालन गर्न पुगेँ ।

कार्यक्रम सम्पन्न भएको २० दिन बितिसक्यो । २ दिनसम्म त फोन नै उठाएनन् अस्पताल संचालकले ।
पछि कुरा भएपछि पारिश्रमिक लिन अस्पतालमै बोलावट आयो । तर पहिला भनिएको भन्दा न्यून रुपैयाँ दिँदै यत्ति हो भनेपछि यो तपाईँ नै राख्नुस भनेर छोडेरै आएँ ।

जब भने जतिको दिन सकिन्न भने, आश्वासन दिनु पनि त गलत हो नि । मेहनत गरे बापतको शुल्क त ससम्मान पाउनुपर्ने हो नि । भनिरहनु नै नपर्ने हो ।

आयोजकले भनेको भन्दा कैयौँ गुणा राम्रै गरि कार्यक्रम चलाइन्छ । तर पनि भने जतिको शुल्क दिन भने उनीहरु आनाकानी गर्छन । किन बुझ्दैनन् कि यो मुकामसम्म आइपुग्न कैयौँ वर्षसम्म प्रयत्न गर्नुपरेको छ भनेर ।

सम्झन थाल्यो भने यस्ता कुराहरु मानसपटलमा सरर…आइदिन्छ । यस्तै एउटा घटना अर्को पनि छ ।
पोहोर साल वीरगंजमै भएको एउटा महोत्सवमा पनि यस्तै घटना आइलाग्यो । रातिको ९ बजेसम्म स्टेज कार्यक्रम संचालन गर्नुपर्ने थियो । तीन दिनसम्म त रातिको ३ बजेसम्मै कार्यक्रम चलाइयो । त्यो पनि आयोजककै आग्रहमा ।

त्यो समयमा बिहान रेडियोमा ड्युटी पनि गर्नु पर्ने थियो । त्यसैले त्यो अवधिभरी घरै नगइ रेडियो र महोत्सवको कार्यक्रम चलाएर बसियो ।

दसैँ महोत्सव भएकाले पनि हो दर्शकको खचाखच भिड लाग्थ्यो । दर्शकको जति भिड लाग्थ्यो आयोजकलाई उति नै नाफा ।
तर कार्यक्रम संचालन गर्ने होस्ट भने हिस्स पर्नु पर्ने । यहाँ पनि यस्तै भयो । सम्झौता गरेको भन्दा न्यून रकम दिइयो । त्यो पनि महोत्सव सम्पन्न भएको हप्तौँ पछि ।

आयोजक मात्रै कहाँ हुन् र केही रेडियो साहुहरु पनि यस्तै भेटेको छु । रेडियोमा काम गराउने तर पैसा नदिने ।
एउटा रेडियोमा काम गर्दा महिनौँसम्म पारिश्रमिक नदिएपछि छाड्न पर्‍यो । पैसै नदिने ठाउँमा कति काम मात्रै गर्नु । यहाँ रोजिरोटीको पनि सवाल छ । त्यहाँ काम छाडेको पनि ८ महिना भयो तर पारिश्रमिक दिने कुरै गर्दैनन् ।
यस्ता अनेकन कथा व्यथाहरु छन् ।

‘कलालाई सम्मान गर्नुपर्छ’ विषयक कार्यक्रम उद्घोषण गर्न बोलाएर पनि रित्तो हात फिर्ता भएको तितो अनुभव पनि छ ।
आयोजकले उद्घोषक राख्नुको अर्थ हो कार्यक्रम कुशलतापूर्वक सम्पन्न गर्नु । कार्यक्रमको गरिमा कायम राख्नु । जब आयोजकको गरिमा कायम राख्न हामी उद्घोषक दिनभर खटिन्छौँ भने हाम्रो पारिश्रमिक दिन किन आनाकानी ?

रायन कायस्थ

संस्कृतमा एउटा श्लोक छ,

मूर्खोऽपि शोभते तावत् सभायाँ वस्त्रवेष्टित ।
तावच्च शोभते मूर्खो यावत् किञ्चिन्न भाषते ।

रायन कायस्थ

यसको अर्थ हुन्छ, ‘सुरुमा त राम्रा कपडा लगाएको मूर्ख पनि पण्डितहरूको सभामा शोभायमान हुन्छ । तर, त्यतिबेलासम्म मात्रै त्यो सुहाउँछ जबसम्म ऊ केही बोल्दैन ।’

हुन पनि झट्ट हेर्दा बाहिरी व्यक्तित्वले प्रभाव पारे पनि बोल्दै गएपछि मान्छेको गहिराई थाहा भइहाल्छ । पहिला–पहिला मान्छेहरू ‘महिलाको सौन्दर्य र पुरुषको ज्ञान’ भन्थे, तर अब यी दुबै कुरा दुबैसँग सम्बन्धित हुन थालेका छन् ।

 

मानिसको व्यक्तित्व बोलीमा झल्किन्छ । मानिसले बोल्ने कुराले उसको समग्र प्रवृत्तिको प्रतिनिधित्व गर्छ । वि स.२०६६ सालदेखि उद्घोषण गर्न सुरु गर्दा र आहिले गर्दा उस्ता उस्तै लाग्छ ।

फरक यति मात्रै हो कि अहिले मञ्च ठुलो भयो, मानिसको नजरमा आएँ । विभिन्न राष्ट्रिय अन्तरास्ट्रिय कलाकारहरुसँग काम गर्न पाएँ ।

तर काम गरिसकेपछि जब पारिश्रमिकको कुरा आउछ, आयोजकहरु बच्न खोज्छन् । एउटा कार्यक्रम साधारण रुपमा ६ घण्टासम्म चल्छ, दर्शकलाई सम्हाल्ने देखि कार्यक्रमको तालिका बनाउनेसम्म उद्घोषकको महत्वपूर्ण भूमिका रहन्छ ।

यसरी आफ्नो भूमिका निर्वाह गर्दा पनि अन्तमा पारिश्रमिक पाउने बेला आयोजकले कि त कम दिन खोज्छन् कि नदिइ निस्कन खोज्छन् ।

कतिपय आयोजकले त आफूलाई घाटा भएको भन्दै पारिश्रमिक नै दिन चाहँदैनन् । यस्तै केही घटना अहिले पनि मेरो मानसपटलमा ताजै छ ।

सन्दर्भ १ : बिरगंजकै एक जना आयोजकले फोन गरेर राति ९ बजे आफ्नो कार्यालयमा बोलाए । महोत्सब गर्न लागेको र त्यसमा भाईले सक्दो सहयोग गर्नु पर्‍यो भनेर तिनले आग्रह गरे ।

त्यही बेला मैले पारिश्रमिकको कुरा निकाले । न्यूनतम १५ हजार गर्दिनु पर्यो भनेपछि आयोजले १२ हजार दिने कुरा गरे ।
त्यही अनुरुप कार्यक्रम पनि गरियो । तर पारिश्रमिक दिने उनले कुनै छाँट नै देखाएनन् । कयौँ दिनपछि पारिश्रमिक लिन जाँदा ‘भाई म त घाटामा छु, पैसा दिन सक्दिन, यो अलि अलि पैसा छ लैजाउ’ भने ।

मेहनत गरिसके पछि आफूले पाउनु पर्ने पारिश्रमिक भन्दा कम दिन थालेपछि त्यो पनि तपाईँ नै राख्नुस भन्दै त्यहाँ बाट हिँडे । एउटा उद्घोषकको पैसा दिन आनाकानी गर्ने आयोजकले के कलाकारिता क्षेत्र र कलाकारको विकास गर्ला भन्ने सोच्छु म ।

सन्दर्भ २ : एक दिन आफ्नो घरयासी कामले बिराटनगर गएको थिए । फर्किने बेला नचिनेको नम्बरबाट फोन आयो, ‘भाइ म बिराटनगरको जय मिडिया प्रा. लि. बाट जयराज राय बोल्दै छु । केही दिनपछि मेरो एउटा कार्यक्रम छ हजुरसँग भेट्नु पर्‍यो । ‘म बिराटनगरमै भएको कारण घर फर्कन छाडेर उनलाई भेट्न पुगे ।

नेपाली चलचित्रकी अभिनेत्री प्रियंका कार्कीको कार्यक्रम रहेछ । मैले त्यहाँ पनि शुल्कको कुरा गरे । रु. २५ हजारमा सहमति भयो । त्यहाँ कार्यक्रम सकिए लगतै मैले पारिश्रमिक पाएँ । यस्तो बेला भने खुशी लाग्दो रहेछ । आफ्नो मेहनतको कदर भएको अनुभुति गरेँ ।

सन्दर्भ ३ : फेरि वीरगञ्जमै फर्कौँ । वीरगञ्जमा फेस अफ तराई नामक एउटा कार्यक्रम हुने तयारी चल्दै थियो । म काठमाडौँमा थिएँ ।
मलाई आकाश कलवारले फोन गरेर आफ्नो कार्यक्रमको जिम्मा दिए । उनले फोनमा भनेको कुरा अहिले पनि मेरो कानमा ठोक्किरहन्छ । उनले भनेका थिए ‘दाई मसँग खासै प्रायोजक छैनन् तपाईँले अलि मिलाएर गरिदिनु पर्‍यो ।’ उनको आग्रहलाई मैले पनि नकार्न सकिन । १० हजारमा कार्यक्रम उद्घोष गर्ने हाम्रो सहमति भयो ।

कार्यक्रम धुमधामसँगै सम्पन्न भयो । तर कार्यक्रमपछि भने नियती पहिलेकै दोहोरियो । उनको फोनमा जतिपटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन ।

पारिश्रमिकको त परैको कुरा । यस्ता धेरै घटनाहरु छन् जुन यहाँ लेख्न सम्भव छैन । अन्तमा यही भन्छुकी कसैको पनि श्रमको अवमुल्यन नगरी श्रमको उचित सम्मान गर्नुपर्छ ।

सुर्यनारायण वि.क.

कार्यक्रम उद्घोषक बन्ने मेरो सानैदेखीको सपना हो । विद्यालयमा पढ्दै गर्दा आफ्नै विद्यालयमा भएको एक कार्यक्रम उद्घोषण गर्ने अवसर मिल्यो । त्यहीँबाट यो यात्रा अविरम रुपमा अहिलेसम्म चलिरहेका छ ।

कुनै कमिटीको सचिव भए उसैले कार्यक्रम चलाउन पाउँछ भन्ने मेरो मस्तिष्कमा परेको थियो । अहिले कुनै कमिटीका सचिवले नै कार्यक्रम चलाएको हामीले देख्ने गर्छौँ । त्यसैले विद्यालय पढ्दै देखि कुनै पनि कमिटीको सचिवमा नै मेरो दावेदारी रहन्थ्यो ।
गाविस स्तरीय बाल क्लब होस वा अन्य कुनै संघ संस्था ।

सूर्यनारायण वि.क

संयोगवश अहिले आएर यही क्षेत्रलाई नै मैले मुख्य पेशाको रुपमा अंगालेको छु । सञ्चार क्षेत्र र कार्यक्रम उद्घोषण गर्ने क्षेत्रमै अहिले तल्लिन छु ।

रेडियोमा समाचार पढ्ने र कार्यक्रम चलाउने गर्दा गर्दै मैले विभिन्न कार्यक्रमहरु पनि चलाउने अवसर प्राप्त गर्दै आएँ । विभिन्न संघ संस्था, राजनितिक दल, सांस्कृतिक कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरुमा उद्घोषकको भुमिका निर्वाह गरेको अनुभव छ ।

एक जना नजिककै दाईले बोलाएपछि एउटा शैक्षिक मेलाको पत्रकार सम्मेलनमा सहजिकरण गरिदिए । अनि कार्यालयमा आएर त्यसको समाचार पनि सम्प्रेषण गरे । त्यति मात्रै नभएर २ दिने मेलाका साथै मोटिभेसनल सेमिनार पनि थियो ।

त्यसमा पनि सहजिकरण गरिदिए । अनि २ दिनकै समाचार मैले नै सम्प्रेषण गरिदिए । मैले नै लेखेको समाचार सबै अनलाई पत्रपत्रिकामा आयो । रेडियोमा पनि प्रसारण भयो । त्यति गर्दासम्म आयोजकले तपाइले राम्रो गर्नुभयो । धेरै धेरै धन्यवाद भाई म तपाईलाई हेर्छु भन्नुभयो । अनि कार्यक्रम सकिएपछि कसले सम्झिन्थ्यो र ?

त्यसैगरी एउटा महोत्सबमा कार्यक्रम उद्घोषणको लागि आग्रह भयो । रेडियोमा पनि काम गरिरहेको समय थियो त्यो । २ दिनसम्म रेडियोमा विदा मिलाएर महोत्सवमा उद्घोषण गर्न गइयो ।

पुसको कठ्याग्रिँदो जाडो, त्यही पनि दर्शकलाई नचाउँदै कार्यक्रम उद्घोष गरियो । फितलो व्यवस्थापन, समयमै कलाकार नआउँदा दर्शकलाई थामेर राख्नु पक्कै पनि चुनौति थियो । त्यो ठाउँमा अन्य कार्यक्रम सञ्चालक भएको भए के गर्थे त्यो थाहा भएन । तर म साहित्य र संगीतमा पनि रुचि राख्ने भएकोले दर्शकलाई थमाई राख्न केही असहज भए पनि कठिन भने भएन ।

गीत, मुक्तक, गजल लगायतका प्रस्तुतीहरु आफैँ दिएर दर्शकलाई कलाकार आउँदासम्म थमाई राखियो । १ दिनको ५ हजारका दरले हाम्रो सम्झौता भएको थियो । अहिले कार्यक्रम सकिएको ७ महिना बितिसक्दा पनि पारिश्रमिक त परै जाओस् फोन गर्दा फोनसमेत उठ्दैन ।

यस्ता धेरै उदाहरण छन् । जहाँ बिना पारिश्रमिक परिश्रम गर्नुपरेको । ती कार्यक्रमबाट केही सिक्ने र कलाकार तथा ठूला ओहोदाका व्यक्तित्वहरुसँग सम्बन्ध गाँस्ने अवसर भने प्राप्त गरेको कुरा भुल्न सक्दिनँ । आयोजकले जे सुकै भनेतापनि दर्शकहरुले उद्घोषण गरेको रुचाएर तारिफ गर्दा पारिश्रमिक नपाएको पिडा एकछिनका लागि भए पनि भुल्ने गरेको छु ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here