×

वीरगञ्ज ६ श्रावन । सप्तकोशी नदीमा पानीको बहावले खतराको तह पार गरेको छ ।

मंगलबार बिहानबाट बाढी उर्लिएपछि कोशी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको छ । बिहान ६ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो वर्षकै उच्च मापन हो ।

कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार भएको मानिने गरेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेकाले बुधबार विहानसम्म सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कतासाथ रहन वा सुरक्षित स्थानमा जान सूचित गरेको छ ।

बहाव बढेसँगै पश्चिमी तटबन्धसँग टाँसिएका बस्तीहरु जोखिममा परेका छन् भने मध्यकोसीमा रहेको गोबरगाढा गाउँ पानीले घेरिएको छ ।

यसअघिकै बाढीमा स्थानीय तहले गोबरगाढाका बासिन्दाहरुलाई टापुबाट निकाल्ने प्रयास गरे पनि स्थानीयहरु निस्कन मानेका छैनन् । कोशीमा अत्याधिक बहाव भएसँगै बस्तीका घर घरमा पानी पसेको छ ।

बहाव ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएकाले नहर बन्द गरिएको हो ।

Back to top