×

वीरगञ्ज ६ श्रावन । वीरगञ्जमा शनिवार राति कोरोना पुष्टि भएका एक २६ वर्षीय युवक आइसोलेशनमा बस्ने डरले भागेर भारत, पश्चिम बङ्गाल राज्यको कोलकाता पुगेका छन्। उनी भारतीय नागरिक हुन् ।

नेशनल मेडिकल कलेजको एमबिबिएस पाँचौं वर्षमा अध्ययनरत युवक आइसोलेशन वार्डमा बस्ने डरले ६ जना साथीसहित भागेर कोलकाता पुगेको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरूद्दीन अन्सारीले जानकारी गराए। 'नेशनल मेडिकल कलेजमा स्वाब सङ्कलन भई नारायणी अस्पतालमा नमूना परीक्षण भएपछि पोजिटिभ देखिएका युवक आइसोलेशनमा बस्ने डरले भागेर आफ्नो घर कोलकाता पुगेका छन्,' उनले पुष्टि गर्दै भने, 'उनको रिपोर्ट पोजेटिभ आएसँगै उनलाई सम्पर्क गर्ने कोशिश गरिरह्यौं, रिपोर्ट आएको ३६ घण्टापछि उनी घर पुगेको परिवारबाट थाहा पायौं ।'

लकडाउन खुकुलो भएसँगै चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरू पुनः आफ्नो घरबाट कलेज आउने क्रम शुरू भएको छ । सोही क्रममा उनीहरू श्रावन २ गते आउँदा कलेज प्रशासनले पिसिआर रिपोर्ट मागेको थियो। त्यसै क्रममा उनको स्वाब सङ्कलन गरी पठाइएको उनले बताए । रिपोर्ट नआउन्जेल उनीहरूलाई बाहिर बस्न भनिएको थियो।

'उनीहरू कुन होटलमा बसे, त्यो थाहा भएन, शुक्रवार स्वाब दिएर भागेका हुन् कि शनिवार राति रिपोर्ट आएपछि भागेका हुन्, थाहा भएन,' प्रबन्ध निर्देशक अन्सारीले भने, 'मसँग उनीहरूले स्वाब दिएर कहाँ बस्ने भनेर सोधेका थिए, मैले क्वारेन्टाइनमा बस्नु भनेको थिएँ, रिपोर्ट नेगेटिभ आएपछि कलेजमा प्रवेश गर्न पाइन्छ र पोजेटिभ आयो भने गण्डक अस्पतालमा, त्यसपछि के गरे मलाई थाहा भएन ।'

नेपाल–भारत सीमा क्षेत्रमा लकडाउन भएको अवस्थामा उनी कसरी रक्सौल पुगे र रक्सौलबाट गाडी भाडामा लिएर वा रेलबाट कोलकाता पुगे रहस्यको विषय हो। रक्सौलबाट कोलकाता करीब ६ सय किलोमिटर टाढा छ । रेलबाट २२ घण्टा लाग्छ भने गाडीले अझै बढी लाग्छ ।

सङ्क्रमित भागेर कोलकाता पुग्नुमा कलेज प्रशासनको चरम लापरवाही देखिएको छ । कुनै पनि व्यक्तिको स्वाब सङ्कलन भइसकेपछि सेल्फ वा होम क्वारेन्टाइनमा राख्नुपर्ने हो । तर कलेजले कलेजमा प्रवेश गराउन गोप्यरूपमा ती विद्यार्थीको ठेगाना उल्लेख नगरी कलेजका चिकित्सक असरफ हुसैनको सम्पर्क व्यक्ति र मोबाइल नम्बर उल्लेख गरी स्वाब सङ्कलन गराएको थियो । तर विद्यार्थीलाई क्वारेन्टाइनमा नराख्दा उनी भागेर घर पुगेका हुन्। उनी वीरगञ्ज आसपासको छोटी नाकाबाट रक्सौल पुगेको हुन सक्ने बताइएको छ ।

यसैगरी, एक महीनाअघि एकजना ७२ वर्षीय वृद्धको मृत्युपश्चात् शव घरपरिवारलाई बुझाएको थियो । वृद्धको मृत्युभन्दा चार दिनअघि सङ्कलित स्वाब रिपोर्ट पोजेटिभ आउँदा करीब दुर्ई साता नेशनल मेडिकल कलेज सिल भएको थियो र स्वास्थ्य मन्त्रालयले छानबीन समिति गठन गरी अनुसन्धान गरेको थियो ।

प्रतीक दैनिकमा यो खबर राधेश्याम पटेलले लेखेका छन् ।

Back to top