×

वीरगञ्ज २९ असार । पर्सा जिल्लालाई उज्ज्यालो बनाउँने अभियान तहत प्रतिनिधिसभा सदस्य प्रदीप यादवले आज पुन वीरगञ्जका तीन स्थानमा टावर लाइट जडान गराएका छन् ।

पर्सा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद् प्रदीप यादवले आफ्नो क्षेत्रमा पर्ने वीरगञ्ज महानगरपालिकाका ३ स्थान मिलन चोक, लालपर्सा र नगवा बजारमा टावर लाइट जडान गरेका हुन ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आफ्नो संसदीय कोषको रकमबाट जडान गरिएको टावर लाइटको सांसद् यादवले सोमबार एक कार्यक्रम विच उदघाटन गरेका थिए ।

प्रत्येक टावर लाइटमा १० वटा ४ सय वाट क्षमता भएका लाईट रहेको छ । ११ लाख रुपैयाँको दरले प्रत्येक टावर लाइट जडान गर्न खर्च लागेको सांसद् यादवको स्वकीय सचिव निखिल वरनवालले जानकारी दिए ।

सांसद् यादवले यसअघि पनि वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानहरूमा टावर लाइट जडान गराएका छन् । नयाँ र आधुकिन हाइम्याक्स प्रविधियुक्त टावर लाइटले १ किलोमिटर भन्दा बढी दूरीसम्म उज्ज्यालो दिने सांसद् यादवले बताएका छन् ।

यादवको संसदीय कोषको रकमबाट यसअघि वीरगञ्जको घण्टाघर, लक्षुमनवा चोकलगायत स्थानमा टावर लाइट जडान भएको छ ।

अँध्यारोको समयमा यात्रुहरुले खेप्नु परेको सास्तीलाई मध्यनजर गर्दै आफूले नगरका विभिन्न स्थानमा टावर लाइट जडान गरेको सांसद् यादवले बताए । उनले टावर लाइटले रातिको समयमा साइकल र विशेषगरी पैदल यात्रुहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

'सबैसँग लाइट भएको वाहन हुँदैन, हाम्रा दैनिक ज्यालादारी गर्ने मजदुरहरूले साइकलबाट यात्रा गर्नुहुन्छ,' यादवले भने, 'उहाँहरू अँध्यारो मा साइकल चलाउँदा कतिपटक दुर्घटनामा परेको मैले स्वयम् देखेको छु, उहाँहरुलाई सहयोग पुग्ने उद्धेश्यले मैले टावर लाइट जडान गरेर वीरगञ्जलाई उज्ज्यालो बनाउँने प्रण लिएको छु ।'

जनता समाजवादी पार्टीका नेता समेत रहेका सांसद् यादवले विकास निर्माणको कार्यमा आफूबाट हुने हरेक काम गरेर देखाउने बताए । टावर लाइट जडानले स्थानियहरु हर्षित भएका छन् ।

Back to top