×

वीरगञ्ज २९ असार । रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगतको अभाव भएको छ । विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीका कारण रक्तदान कार्यक्रमहरु पर्याप्त मात्रामा नहुँदा रगतको अभाव भएको हो ।

छिटफुट रुपमा आकस्मिक रक्तदान कार्यक्रम भएतापनि पर्याप्त मात्रामा रगत नपाएको रक्तसञ्चार केन्द्र वीरगञ्जमा रगत लिन गएकाहरु बताउँछन् । स्वास्थ्य संस्थामा रगतको अभाव भएर रगत लिन जाँदा रगत नपाएर फर्किनुपरेको सेवाग्राहीले दुखेसो पोखेका छन् । धेरै भिडभाड नगर्न सरकारको निर्देशनविपरित कार्यक्रम गर्न नसक्ने अवस्था भएकै कारण रक्तदान कार्यक्रम नभएको बुद्धिजिविहरुको भनाई छ ।

रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले अत्यधिक मात्रामा रगतको खपत हुने ठाउँ वीरगञ्जमा रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव खट्किएको बताउनुभयो । विगतको तुलनामा महामारीको समयमा रगतको माग र आवश्यक्ता बढेपनि रक्तदान कार्यक्रम नहुँदा समस्या हुने गरेको पाण्डेले बताउनुभयो ।

बेला बेलामा केही मानिसहरुले स्वईच्छा तथा आवश्यक्तालाई मध्यनजर गर्दै रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गर्ने भएकोले जसोतसो आवश्यक्ता टरेको भएपनि अब भने रगत लिन आउनेहरुलाई खालि हात फर्काउनुको बिकल्प नभएको रक्तसञ्चार समितिका सदस्य प्रभाकर गुप्ताले बताउनुभयो ।

कोरोना महामारी र प्राकृतिक विपद्को समयमा झनै रगतको माग बढेको हुँदा ईच्छुक व्यक्तिलाई रक्तसञ्चार केन्द्रमै आएर रक्तदान गरी सहयोग गर्न केन्द्रका प्रमुख पाण्डेले आग्रह गर्नुभएको छ ।

Back to top