×

वीरगन्ज २६ असार । लगातार परेको वर्षाले पूर्व-पश्चिम राजमार्ग सडक अवरुद्ध भएको छ। बिहीबार रातिदेखि परेको लगातारको वर्षाका कारण चन्द्रपुर–२ स्थित लच्चकामा बाढीले यातायात अवरुद्ध गरेको हो।

लच्चकामा पानीको बहाव बढेपछि रातिबाटै सवारी आवतजावत बन्द भएको छ। लगातारको वर्षाका कारण लच्कामा बाढी आएपछि रातिबाटै सयौं सवारी साधन सडकमै बस्न बाध्य छन्।

बिहानबाट स्थानीय, नेपाल प्रहरी र ट्राफिक प्रहरीको सहयोगमा बाटो खुलाउन प्रयास गरीएको भएता पनि पानीको सतह राजमार्गभन्दा निकै उच्च भएको र अविरल वर्षा निरन्तर हुँदा उद्धारमा केही कठिनाइ भएको थियो। लच्कामा बाढीका कारण झन्डै सयौंको हाराहारीमा मालबाहक ट्रक, साना जीप, कार, मोटरसाइकल र एम्बुलेन्स रोकिएका छन्।

जोखिमपूर्ण रूपमा केही मानिसले मोटरसाइकल गुडाएर वारपार गराएका छन् भने केहीले काधमा साईकल बोकेका छन्। अहिले वर्षा रोकिएपछि लच्कामा पानीको चाप कम भएकाले राजमार्गमा गुड्ने ठूला सवारीलाई पालैपालो पास गराइ पनि साना साधन जानसक्ने अवस्था छैन।

इलाका प्रहरी कार्यालय, जिल्ला ट्राफिक र सशस्त्र प्रहरीले बाढीको अवस्था हेरेर ठूला गाडीलाई पालैपालो पास गराइरहेको प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतो जानकारी गराए।

सो स्थानमा हरेक वर्ष वर्षायाममा बाढी आउने र सवारीसाधान आवतजावत बन्द हुने गरेको छ।

Back to top