×

जनकपुरधाम २५ असार । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फोटोसहितको पोस्टर र होडिङ बोर्डलगायतका सामाग्री झुण्ड्याउन झण्डै २ करोड रकम विनियोजन भएको छ।

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले समाजिक सुरक्षा कोषको कार्यक्रम सुरु गर्दै पोल–पोलमा आफ्नो फोटो झुण्ड्याएर ‘नयाँ युगको सुरुवात’ भनी लेखेका थिए।

प्रधानमन्त्री ओलीको सडकमा उक्त फोटोहरु हेरेर जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संसदमा भनेका थिए,‘टोल टोलमा खोजी भइरहेको सरकार पोल–पोलमा भेटियो।’

प्रधानमन्त्री ओलीको नक्कल गर्दै प्रदेश २ का मुख्यमन्त्री राउतले पनि प्रदेश २ को टोल–टोलमा आफ्नो तस्वीर झुण्ड्याउन झण्डै २ करोड रुपैंया खर्च गर्ने भएका छन्।

आर्थिक वर्ष २०७७/८८ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट होडिङ बोर्ड तथा टिसर्टलगायतको छपाईमा यति धेरै रकम छुट्याएको छ।

‘बेटी पढाउ बेटी बचाउ’ अभियानमा होडिङ बोर्डसहितको प्रचारप्रसारका लागि ५० लाख रुपैंया छुट्याइएको छ।

मिडियाको माध्यमले प्रचार प्रसारका लागि ३० लाख रुपैंया छुट्याइएको छ भने दाइजो विरुद्ध विभिन्न एनजीओमार्फत प्रचार प्रसारका लागि १६ लाख रुपैंया छुट्याइएको छ।

यसैगरी, टिसर्ट, क्याप र ब्याचका लागि १० लाख रकम छुट्याइएको छ। समाजिक सञ्जालसहितबाट प्रचारप्रसारका लागि ३० लाख रुपैंया छुट्याइएको छ।

यसैगरी स्वच्छता अभियानको होडिङ बोर्डका लागि २० लाख र रेडियो कार्यक्रमका लागि १२ लाख रकम छुट्याइएको छ। यसैगरी, प्रचारप्रसारकै लागि मुख्यमन्त्री कार्यालयबाट अन्य कार्यक्रमहरुमा पनि रकम छुट्याइएको छ।

मधेश आन्दोलनको जगमा स्थापित प्रदेश २ सरकारका मुख्यमन्त्री राउत सुशासन स्थापनामा लाग्नु पर्नेमा स्वय प्रचार केन्द्रीत भएको देखिन्छ।

Back to top