×

वीरगञ्ज २४ असार । वीरगञ्जको विर्ता स्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलमा कार्यरत तिन स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपचार गराउँन पुगेकी महिलासँग योनजन्य दुर्व्यहार गरेको आरोपमा पर्सा प्रहरीले ३ पुरुष स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको हो ।

हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रोशन अलीद्वारा सञ्चालित अली अर्थो एण्ड ट्रमा हस्पिटलमा कार्यरत एहसान हुसैन, कृष्ण दास र सरफुदीन मियाँलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

अस्पतालको आइसियु कक्षमा भर्ना भएकी वीरगञ्ज ३१ बेल्वा इस्लामपुरकी २१ वर्षीया महिलाले उपचारका क्रममा एहासान, कृष्णा र सरफुदीनसहित चारजना स्वास्थ्यकर्मीले आफुसँग यौनजन्य दुर्व्यवहार गरेको आरोप लगाएकि थिइन । अस्पतालको आइसियु कक्षमा उपचारका क्रममा मंगलबार राति पुरुष स्वास्थ्यकर्मीले बिरामी महिलासँग दुर्व्यवहार गरेको घटना बुधुबार बिहान सार्वजनिक भएको छ ।

मंगलबार बेलुका भर्ना भएकी महिलाको लुगा फेर्ने बहानामा चार जना पुरुष स्वास्थ्यकर्मीले बिरामी महिलाको संवेदनशील अङ्ग छुनुका साथै चलाएको आरोप पीडित महिलाका आफन्तले लगाएका छन् । विरामी महिलाका लागि ल्याइएको खान समेत स्वास्थ्यकर्मीहरुले आइसीयु भित्र लाग्न नदिएको आफन्तहरुको आरोप छ ।

बुधबार बिहान बिरामीलाई भेट्न आइसियु कक्षमा जाँदा आफ्नी आमासँग पीडित महिलाले आफूसँग दुर्व्यहार भएको बताएकि थिइन । पिडित महिलाले स्वास्थ्यकर्मीहरुले आफुसँग गलत दुर्य्वाहार गरेको बताउँदै तुरुन्तै अस्पतालबाट निकालेर घर लैजान अनुरोध गरेपछि मात्रै यो घटना बाहिर आएको हो । विरामी महिलाले आफूसँग भएको व्यवहारबारे आफन्तलाई बताएपछि बुधबार विहान महिलाका आफन्तले दोषीलाई पक्राउ गरी कारवाहीको लागि प्रहरीमा खबर गरेका थिए ।

वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक निर्मल पनेरुसहितको प्रहरी टोलीले अस्पतालको आइसियु कक्षमै पुगेर पीडित महिलासँग सोधपुछ गरी आरोपित मध्येका ३ स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको हो । तीनै जनालाई वडा प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पनेरुले बताए । बाँकी आरोपितलाई पनि तत्कालै प्रहरीमा उपस्थित गराउन अस्पताल प्रशासनलाई निर्देशन दिइएको पनेरुले जानकारी दिए ।

यता अस्पतालका सञ्चालक डाक्टर रोशन अलीले आइसियु कक्षमा रहेकी बिरामी महिलाको स्वास्थ्यलाई सिजर्स आउँने समस्या भएको हुँदा उनलाई समय-समयमा औषधि दिनुपर्ने बताए । औषधिको साइड इफेक्टका कारण विरामी महिला भ्रमित (हेलुसिनेसन) हुने सम्भावना रहने भएकाले भ्रममा आएर उनले यस्तो आरोप लगाएको हुनसक्ने डा. अलिले बताए ।

अलिले दुर्व्यहार भएको प्रमाणित भइनसकेको हुँदा अहिले नै केहि भन्न नसकिने बताए । 'बिरामी महिलाले लगाएको आरोपका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ,' अलिले भने, 'प्रमाणित भए कर्मचारीहरुलाई कारवाही गरिने छ ।'

तर बिरामी महिलाका आफन्तले भने उपचारका क्रममा बिरामी महिलाको कुनै प्रकारको चेकजाँच गर्दा महिला चिकित्सक वा महिला स्वास्थ्यकर्मीले मात्र गर्न पर्ने, महिला स्वास्थ्यकर्मी नभएको अवस्थामा आफन्तको उपस्थितमा मात्रै पुरुष चिकित्सक वा स्वास्थ्यकर्मीले परीक्षण गर्नुपर्ने नियम रहेको बताएका छन् ।

महिलाको उपचारमा खटिएका स्वास्थ्यकर्मीको नियत ठिक नभएको कारण नै ती महिलासँग स्वास्थ्यकर्मीले दुर्व्यवहार गरेको आरोप उनीहरुको छ । १० दिन पहिले वीरगञ्जकै एक निजी अस्पतालमा जुम्लयाहा बच्चालाई जन्म दिएकी ती महिलाको स्वस्थ्यमा समस्या आएपछि चिकित्सककै सल्लाहमा उनलाई मंगलबार बेलुकी अली अर्थो एण्ड ट्रमा हस्पिटलको आइसियु कक्षमा भर्ना गरिएको थियो ।

Back to top