×

वीरगञ्ज २४ असार । टेलिभिज कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्री तथा कान्तिपुर टेलिभिजन विरुद्ध उजुरी दर्ताका लागि दरखास्त पठाइएको छ ।

कान्तिपुर टेलिभिजनबाट प्रशारित कार्यक्रम 'ह्वाट द् फ्लप'को गत जुन २५ तारिखमा प्रशारित श्रृखंलामा सम्प्रेषण गरिएको सामाग्रीले मधेसी समुदाय र विशेषगरि मधेसी महिलाको स्वाभिमानमा चोट पुर्याएको भन्दै स्थानीय युवाहरुले उजुरी दर्ताका लागि हुलाक मार्फत निवेदन पठाएका हुन् ।

बुधबार विहान जिल्ला हुलाक कार्यालय पर्सामा मार्फत वीरगञ्जका युवाहरुले कार्यक्रम प्रस्तोता क्षेत्री, कान्तिपुर टेलिभिजन, टेलिभजनका सम्पादक प्रसान्त अर्याल, कार्यक्रम संयोजक सुरेश सिंह ठकुरी र कान्तिपुर समुहका निर्देशक कैलाश सिरोहिया विरुद्ध उजुरी दर्ताकालागि काठमाडौँस्थित महानगरीय प्रहरी परिसर टेकुलाई निवेदन पठाएका छन् ।

उजुरी मार्फत मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ६५ र उपदफा (१) बमोजिम मधेस र मधेसीलाई अपमानित गर्ने खालका सामाग्री सम्प्रेषण गर्ने टेलिभिजनका प्रस्तोता, निर्माता विरुद्ध कारबाहीको माग गरिएको छ ।

"मधेसी समुदाय र विशेषगरी मधेसी महिलाको अस्मितामा चोट पुर्याउने र अपमान गर्ने विषयबस्तु प्रसारण गरि मजाक बनाएको कारण हामीले सन्दीप क्षेत्री विरुद्ध उजुरी हालेका छौँ" उजुरी दर्ता गराउँन पुगेका अधिकाकर्मी एवम् स्थानीय युवा नेता ओमप्रकाश सर्राफले बताए । उनले मधेसी समुदायलाई जिस्काउने र बेईज्जति गर्ने खालका विषयवस्तुलाई राखेर बनाइएको उक्त कार्यक्रमले मधेसीहरुको स्वाभिमानमा ठेस पुगेको बताए ।

सर्राफले प्रहरीद्वारा कारवाही नगरिए क्षेत्री र कान्तिपुर टेलिभिजन विरुद्ध सडक संघर्ष समेत गरिने भने । जाहेरी दिनेमा अशोक कुमार कुशवाहा, ओमप्रकाश सर्राफ, वृजेश्वर प्रसाद चौधरी, आशु सर्राफ, लालबाबु सिंह, किसन सर्राफ, अनिता साह, श्याम कुमार सर्राफ, हरेन्द्र पटेल, निशा गुप्ता र ओम कुमार झा रहेका छन् ।

क्षेत्री र कान्तिपुर टेलिभजन विरुद्ध यसैगरि जनकपुर, विराटनगर र कपिलवस्तुबाटपनि बिहीबार उजुरी दर्ताका लागि निवेदन पठाइएको छ ।

Back to top