वीरगञ्जमा स्वास्थ्यकर्मीले पाएनन् भनेजति जोखिम भत्ता, दिए काज फिर्ताको निवेदन

160


वीरगञ्ज २४ असार । वीरगञ्ज महानगरपालिकाले खटाएका फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीले भनेजति जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । सीमा नाका, ड्राईपोर्ट, वीरगञ्ज भन्सार लगायतका ठाउँमा काजमा खटिएका स्वास्थ्यकर्मीहरुले भनेजति जोखिम भत्ता नपाएपछि सामुहिक रुपमा काज फिर्ताको निवेदन दिएका छन् । मंगलबार काज फिर्ताको निवदेन दिएका स्वास्थ्यकर्मीहरु बुधबारबाट काममा जान छोडेका छन् ।

कोरोनाको संक्रमण विश्वव्यापी रुपमा फैलन थालेपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा वीरगञ्ज महानगरपालिकाले सीमा नाका, ड्राईपोर्ट, वीरगञ्ज भन्सार लगायतका ठाउँमा काजमा बोलाएर स्वास्थ्यकर्मीलाई खटाएको थियो । इनर्वा नाका, बीरगन्ज भन्सार कार्यालय, ड्राईपोर्ट र विभिन्न क्वारेन्टाइन लगायतका ठाउँमा गत माघ अन्तिम सातादेखि काजमा खटिएका स्वाथ्यकर्मीहरुले हेल्थ डेस्क मार्फत सेवा दिदैं आएका थिए । विभिन्न ठाउँमा खटिएका एचए, अहेब, अनमी लगायतका स्वास्थ्कर्मीहरुले क्वारेन्टाइनमा रहेका शंकास्पद संक्रमितहरु, नेपाल प्रवेश गर्ने व्यक्तिहरु, अत्यावश्यक सामान आपूर्तिका सवारीका चालक र सहचालकको स्वास्थ्य चेकजाँच र शरिरको तापक्रम नापेर हेल्थ डेस्क मार्फत सेवा प्रदान गरिरहेका थिए ।

“कोरोनाको डरले शुरुमा कोही पनि आउन नमानेको बेला हामीले जोखिम मोलेर काम ग¥यौं तर अहिले आएर हामीलाई भनेको सुविधा पनि महानगरपालिकाले दिएन” एचए अफताब आलमले गुनासो पोखे । बीरगन्ज महानगरपालिका अन्र्तगत करिब १ सय ६२ जना स्वास्थ्यकर्मीहरु दरबन्दीमा काम गरिरहेको भएपनि मात्र २०/२१ जना फ्रन्टलाइनमा बसेर काम गरिरहेका थिए ।



विभिन्न हेल्थ पोष्टमा दरबन्दी रहेका उनीहरुलाई महानगरपालिकाको स्वास्थ्य शाखाले जोखिम भत्ता, पेट्रोल खर्च, खाजा खर्च लगायतका सुविधा दिने भन्दै काजमा बोलाएको अनमी पुनम साहले बताइन् । उनले भनिन् “दैनिक ७ सय ५० देखि १ हजार रुपैंयासम्मको भत्ता दिने भन्दै हामीलाई बोलाइएको हो ।”

“कसैले पनि काम गर्न नमानेको बेला जोखिम मोलेर हामीले काम ग¥यौं, भनेजति नभएर अहिले भने जम्मा ५ सय रुपैयाँ दिने भन्दै टिप्पणी उठेको छ” अनमी बबिता यादवले भनिन् “राष्ट्रिय बिदा, शनिबार लगायतका कुनै पनि बिदा नभनी काम ग¥यौं तर अहिले महानगरले हामीलाई लोप्पा खुवाईदियो ।” नेपाल भित्रिने मानिसको घुईचो लागेको बेला राति १२ बजेसम्म काम गरेको क्षण सम्झदैं अर्का अहेब दिपेन्द्र गुप्ताले निन्याउरो मुख लगाए ।

महानगरको स्वास्थ्य शाखा प्रमुख अरुण महतोले भने काज फिर्ताको निवदेन आएकाले सोही अनुसार प्रक्रिया अघि बढेको बताए । संघीय र प्रदेश सरकारले प्रदान गर्ने भनेको जोखिम भत्ताको अलावा महानगरले पनि थप जोखिम भत्ता दिने भनेको कुरा स्वीकार गर्दै उनले यस विषयमा प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराईसकेको बताए । “भत्ता नदिने होइन, दिने हो, अब कति दिने निर्णय हुन्छ, मैले सबै विषय जानकारी गराईसकेको छु” महतोले भने ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here