×

वीरगञ्ज २३ असार । आउँदो बिहीबारदेखि शनिबारसम्म बाढीपहिरोको जोखिम बढ्ने भएको छ ।

मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भइ बाढीपहिरोको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो ।

मनसुन सक्रिय भएसँगै नेपालका धेरैजसो स्थानमा लगातार वर्षाका साथै तराई र पहाडका केही भूभागमा भारी वर्षासमेत हुने बताइएको छ ।

तराईका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले प्रदेश १ र २ का तराईका भूभागमा बाढीको जोखिम बढी हुने जनाएको छ । ती क्षेत्रमा पूर्वतयारीमा जुट्न सबैमा आग्रह गरिएको छ । अहिले देशभर सामान्य बदली रही प्रदेश न १, वाग्मती र गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम २१ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस छ ।

Back to top