×

वीरगञ्ज २३ असार । व्यवस्थित र सुरक्षित वीरगञ्ज अभियान अन्तर्गत मंगलबार वीरगञ्जका विभिन्न स्थानमा सफाइ तथा सचेतना कार्यक्रम गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तको नेतृत्वमा बिर्तादेखि अलखियामठसम्म नाला सफाइ र सचेतना कार्यक्रम भएको थियो । स्थानीय भगवती युवा क्लब, वीरगञ्ज युवा समाज, वडा कार्यालय, सामुदायिक सेवा केन्द्रसमेतको सहभागितामा नाला सफाइ र सचेतना कार्यक्रम भएको हो ।

सवारीसाधन चालक, पैदल यात्री तथा पसल सञ्चालकहरूलाई बजार क्षेत्रमा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरी बनाएर काम गर्न सुझाइएको थियो । कार्यक्रममा वडाध्यक्ष जगत साह कानू, वप्रका बिर्ताका प्रनि निर्मल पनेरू, सामुदायिकका सुदीप लामा, वीरगञ्ज जेसीजका अध्यक्ष मुकेश सिंह, वडासदस्य तुफैल अन्सारी, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईं, अनुप अग्रवाललगायतको सहभागिता थियो।

यसैगरी, पावरहाउसदेखि घण्टाघरसम्मको नाला सफाइ गर्ने अभियान अन्तर्गत आज मुर्लीमा मुख्य सडकको पश्चिमपट्टिको ठूलो नाला सफाइ गरिएको छ । नाला अतिक्रमण गरी जथाभावी निर्माण गर्दा पानीको प्रवाह रोकिएकोले सफाइ अभियान गरिएको हो । एक्साभेटर लगाएर नालाको प्रवाह सुचारु गरिएको व्यवस्थित वीरगञ्ज अभियानका उपाध्यक्ष प्रकाश खेतानले बताए ।

प्रहरी नायब उपरीक्षक मनोजीत कुँवर, प्रनि दीपक साह, नगरप्रहरी, व्यवस्थित वीरगञ्ज अभियानका वडाध्यक्ष प्रद्युम्न सेढाईं, तूफान अन्सारी, कार्यपालिका सदस्य अरविन्द गुप्ता, समाज परिवर्तनका अकलेश साह, उही मूभमेन्टका दिलपाल साहलगायतको सहभागिता थियो ।

यसैगरी, माईस्थानमा स्प्रिट क्लबले साताव्यापी जनचेतना कार्यक्रम अन्तर्गत आज तेस्रो दिन पनि सचेतना कार्यक्रमलाई निरन्तरता दियो। क्लबका सदस्यहरूले सडक फूटपाथमा हिंड्नेहरूलाई मास्क लगाएर हिंड्न सुझाए ।

यसैगरी, पसल सञ्चालकहरूलाई अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरी बनाएर सामान खरीद–बिक्री गर्न माइकिङ गरेर सचेत गराएको थियो ।

Back to top