वीरगञ्ज–पथलैया व्यापारिक मार्गमा ४ ओटा आकाशे पुल निर्माण हुँदै

2172


वीरगञ्ज २० असार । वीरगञ्ज–पथलैया व्यापारिक मार्गमा चार ओटा आकाशे पुल निर्माण गरिने भएको छ । व्यापारिक मार्गमा ढुवानी र सवारीको चाप बढ्दै गएपछि आकाशे पुल बनाइन लागिएको हो ।

आउँदो आर्थिक वर्ष २०७७/७८ बाट निर्माण थाल्ने योजनाअनुसार चार ओटै पुलको विस्तृत प्रतिवेदन तयार भइसकेको वीरगञ्ज–पथलैया व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख सञ्जयकुमार मिश्रले जानकारी दिए । जितपुरसिमरा महानगरपालिकाको सिमरा बजारमा एउटा, जितपुरमा दुई ओटा र परवानीपुरमा एउटा यस्ता पुल निर्माण गरिने उनले बताए ।

आकाशे पुलको विस्तृत प्रतिवेदन तयार पारेर सडक विभागमा पठाइसकिएको आयोजनाले बताएको छ । ‘चार ओटै पुलको विस्तृत अध्ययन तयार पारेर विभागमा पठाइसकेका छौं । स्वीकृत भएर आउनेवित्तिकै ठेक्का निकाल्छौं,’ मिश्रले भने ।



कोरोना संक्रमण नियन्त्रणका लागि गत चैतदेखि लगाइएको लकडाउनका कारण पुल निर्माणको प्रक्रियामा पनि ढिलाइ भएको छ । आउँदो वर्षको असोजसम्ममा पुलको ठेक्का लगाउने योजनाअनुसार प्रक्रिया अघि बढाइएको आयोजनाले बतायो ।

यो व्यापारिक मार्गमा यसअघि नै सडक विस्तारको योजना जारी छ । यो सडकखण्डमा १० ओटा पुल पनि निर्माण भइरहेका छन् । वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी) को सम्पर्क सडकदेखि पथलैया र परवानीपुर–गण्डकसम्मको २८ किलोमीटर सडक विस्तार भइरहेको छ ।

आईसीपी–पथलैया मार्ग विस्तारको काम तोकिएको समयसीमाभन्दा दुई वर्ष ढिला हुँदा पनि पूरा हुन सकेको छैन । लकडाउनका कारण सडक विस्तार अझ पछाडि धकेलिएको छ । लकडाउनमा पनि केही खण्डमा कालोपत्रको काम भने जारी राखिएको मिश्रले बताए । आयोजनाले यो मार्गलाई छ भागमा बाँडेर ठेक्का लगाएको थियो ।

शुरुका दुई वर्ष स्थानीय अवरोध र पेट्रोलियम पाइपलाइन विस्तारका कारण मुख्य सडकखण्डको विस्तार अवरुद्ध भएको आयोजनाले बताएको छ । जितपुर, सिमरा र परवानीपुरका स्थानी बासिन्दाले अवरोध गरेकाले काम प्रभावित भएकोमा पछिल्लो समयमा ठेकेदारले समयमा काम नगर्दा पनि समस्या भएको उनले बताए ।

शुरुमा वीरगञ्जको सुक्खा बन्दरगाहदेखि परवानीपुर हुँदै पथलैयासम्मको सडक ठेक्का लगइएको थियो । बन्दरगाहदेखि आईसीपीको सम्पर्क सडकसम्मको ठेक्का पछि दिइएको हो ।

विसं २०७३ असारमा लगाइएका ठेक्का विसं २०७५ असारमा सम्पन्न हुनुपर्नेमा पछिल्लो पटक म्याद थपेर आउँदो पुससम्म लम्ब्याइएको छ । लकडाउनका कारण थपिएको समयभित्र पनि विस्तारको काम नसकिने देखिएको मिश्रले बताए । आगामी आर्थिक वर्षको अन्त्यसम्ममा व्यापारिक मार्ग विस्तारको काम सक्ने योजना राखिएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here