×

वीरगञ्ज १९ असार । वीरगञ्ज महानगरपालिकाले कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्नकालागि परिक्षण बढाउन गरेको अभियानले सफलता पाएको छ ।

वीरगञ्ज महानगरले सहयोग संकलन गरेर पिसीआर मेशिन संचालनमा ल्याएपछि अव वीरगञ्जका नागरिकको कोरोना भाइरसको संक्रमण परिक्षणको काम हुने भएको छ ।

परिक्षणकालागि आवश्यक पिसीआर किट, रिएजेन्ट किट र भिटिएम महानगरमा आइपुगेको छ । महानगरको करिब ५६ लाखको लागतमा २ हजार पिसीआर किट ,२ हजार रिएजेन्ट किट २० हजार भिटिएम आएको वीरगञ्ज महानगरपालिकाका प्रमुख बिजय कुामार सरावगीले बताए ।

परिक्षण कार्य संचालनकालागि महानगरले नेशनल मेडिकल कलेज र नेपाली सेनासँग जनशक्ति माग गरेको छ । नेपाली सेनासँग र दश र नेशनल मेडिकल कलेजसँग १० जना प्राविधिक जनशक्ति माग गरिएको प्रमुख सरावगीले बताए । 'महानगरसँग दश जना प्राविधिक टोली तयार छ,' मेयर सरावगीले भने, 'थप २० जनाको व्यवस्थापन गर्दा दैनीक १ हजार ५ सय जनाको परिक्षण गर्न सकिने गरि व्यवस्थापन मिलाउने काम भइरहेको छ ।'

मेयर सरावगीले कोरोना भाइरसको परिक्षण र त्यसको रोकथामको क्लिनीकल जिम्मेवारी संघ सरकारको भएको बताए । उनले वीरगञ्ज महानगरले पिसीआर मेशिन खरिद, जडान र परिक्षणकालागि चाहिएको अन्य समाग्रीको ब्यवस्था गरेर सरकारलाई सहयोग गरेको जानकारी दिए ।

नागरिकको जीवन रक्षामा प्रदेश र संघ सरकारले द्रुत गतीमा काम नगरेकै कारण महानगरपालिकाको तर्फबाट मेयर सरावगीले कोरोना रोकथाम तथा नियन्त्रणकोलागि कोभिड अस्पतालको संचालन र द्रुत परिक्षणकालागि आवश्यक पूर्वाधार निर्माणको नेतृत्व लिएका थिए ।

वीरगञ्जका २० प्रतिशत नागरिकको स्वाब परिक्षणकोलागि आवश्यक समाग्री जोडीसक्यौ महानगर प्रमुख सरावगीले भने 'अरु पनि व्यवस्थापनमा लागेका छौँ, अव त हामीले यत्रो सहयोग गरेपछि प्रदेश र संघ सरकारले पनि सहयोग गर्ने बिश्वास लिएका छौँ ।' सरावगीले दैनीक १ हजार पाँच सयका दरले परिक्षण हुँदा एक डेढ महिनामा परिक्षण सकेर संक्रमीतहरुलाई आइसोलेट गरि वीरगञ्जलाई थप चुनौतीमा जान बाट रोक्न सकिने उहाँले विश्वास व्यक्त गरे ।

वीरगञ्ज महानगरपालिकाले खरिद गरेको रिएजेन्ट किट र पिसीआर किट नारायणी अस्पताललाई उपलब्ध गराइने छ भने भिटिएम महानगरले परिचालन गर्ने स्वास्थ्कर्मीहरुकालागि आवश्यक हुने भएकोले महानगरमै राखिने महानगरप्रमुख सरावगीले बताए । एक घर बाट एक जनाको कोराना भाइरसको संक्रमणको परिक्षण गरिने छ ।

त्योसँगै भाडामा बसेका तर वीरगञ्जमा व्यापार व्यवसाय गरेकाहरुलाई पनि परिक्षणको दायरामा ल्याइने महानगरप्रमुख सरावगीले बताए । अहिले महानगरले खरिद गरेको किटले १० हजार जनाको स्वाब परिक्षण गर्न सकिने छ ।

Back to top