×

वीरगञ्ज १८ असार । पोखरिया नगरपालिकामा रहेको एकमात्र क्वारेन्टाइनमा स्वास्थ्यकर्मीहरूले सेवा बन्द गरेका छन्।

जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमूना माविको क्वारेन्टाइनमा खटेका ५ जना स्वास्थ्यकर्मीले सेवा बन्द गरेका हुन्। जेठ ३२ गतेदेखि सेवा बन्द गरिएको स्वास्थ्य संयोजक विनोद गुप्ताले बताए।

उनले नगरपालिकालाई पिपिईका लागि बारम्बार ताकेता गर्दा पनि सो उपलब्ध नगराएको र स्वास्थ्य सेवामा खटेका ५ जनामा कोरोना सङ्क्रमण भएपछि सेवा बन्द गरिएको बताएका छन्।

संयोजक गुप्ताले पिपिईका लागि बारम्बार ध्यानाकर्षण गराउँदै आएको तर बेवास्ता गरिएको आरोप लगाए। उनले स्वास्थ्य सेवामा खटेका नगरपालिकाका ५ जना कोरोना पोजेटिभ भएपछि पनि पिपिई उपलब्ध गराउनेतर्फ गम्भीर नभएपछि सेवा बन्द गर्नुपरेको बताए। उनले अहिले क्वारेन्टाइनमा स्वास्थ्यकर्मीहरू नगएको बताएका छन्।

विद्यालयको क्वारेन्टाइनमा हाल ५ जना छन्। असार ११ गतेदेखि उनीहरू बसेका हुन्। त्यसअघि भएकाहरू पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका छन्।

क्वारेन्टाइनमा रहेकाहरूको त्यहींका स्वास्थ्यकर्मीले स्वाब नमूना सङ्कलन गरी नारायणी अस्पतालमा पठाउने गरेका थिए। क्वारेन्टाइनमा बसेकाहरूको दैनिक स्वास्थ्य परीक्षण हुने गरेको छ। अहिले स्वास्थ्यकर्मीको अभावमा त्यहाँ परीक्षण बन्द छ।

Back to top