×

वीरगञ्ज १७ असार । वीरगञ्जकी सकुन्तला देवीले माईस्थानस्थित मिनाबजार क्षेत्रको सडकमा लामो समयदेखि तरकारी बेच्दै आएकी छन् । सकुन्तलादेवीजस्तै अलैजा खातुन पनि सोही क्षेत्रमा तरकारी बेच्दै आइरहेकी छन् । उनीहरू मात्रै होइन, नगवा घर भएकी राजेश्वरी देवी, राजकुमारी देवी, रानीघाटकी चन्दा देवीलगायत सडकमै एकाबिहानै देखि टोकरीमा तरकारी राखेर बेच्दै आइरहेका छन् । उनीहरूको दैनिक गुजारा वर्षौंदेखि यसरी नै चल्दै आइरहेको छ । कतिपयको त यो पुर्ख्यौली पेसा नै हो ।

वीरगञ्जको घण्टाघरस्थित टाँगा स्टेसनबाट माईस्थान मन्दिर जाने सडकमा बिहान र बेलुका तरकारी बजार लाग्ने गरेको छ । स-सानो परिमाणमा टोकरीमा तरकारी राखेर व्यापारीहरूले बेच्ने गरेका छन् ।

त्यसो त वीरगञ्ज महानगरपालिकामा तरकारी बजार नै नभएको भने होइन । सात कठ्ठा क्षेत्रफलमा मीना कम्प्लेक्स बनाइएको छ । दुईतले कप्लेक्सको भुइँ तल्लामा ७१ वटा र माथिल्लो तल्लामा २० वटा गरी जम्मा ९१ वटा सटर निर्माण गरिएको छ । सटरको भाडा १० हजारदेखि २५ हजार रुपैयाँसम्म छ ।

सडकमा तरकारी बेच्नेहरू आफूहरूले त्यसको भाडा व्यहोर्न सक्ने स्थिति नरहेको बताउँछन् । कारण उनीहरू एक हजार, २ हजारको तरकारी ल्याएर बेच्छन् । त्यसैबाट गुजारा चलाउँछन् । तरकारी बेच्नेमा अधिकांश वृद्ध उमेरका महिला तथा एकल महिला छन् । अर्कोतिर साना ठूला सबै तरकारी व्यापारी त्यसमा अटाउन सक्ने अवस्था पनि छैन । मिना कम्पलेक्सभित्रै माछामासुको पसल पनि सञ्चालनमा छन् ।

तरकारी व्यापारी ओमप्रकाश साह एक बोरा तरकारी ल्याएर टोकरीमा खन्याएर बेच्ने गरेको बताउँछन् । ‘ठूलो लगानीका लागि हामीसँग पर्याप्त पैसा छैन, १८ सय दुई हजारमा एक बोरा तरकारी ल्याउँछौं । सबै बिक्री भयो भने त्यसबाट ४/५ सय बच्छ,’ साहले भने, ‘त्यसैबाट गुजारा गर्ने हो ।’

वीरगञ्जमा लकडाउन खुकुलो बन्दै गएपछि समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सुन्दर र व्यवस्थित वीरगञ्ज बनाउने उद्देश्यले कोभिड–१९ नियन्त्रण एवं बजार तथा ट्राफिक व्यवस्थापनका लागि वीरगञ्जमा अभियान सञ्चालनमा छ ।

अभियानका क्रममा बुधबार बजार र ट्राफिक व्यवस्थापन कार्यको सुरुवात गरिएको छ । नगरप्रमुख विजयकुमार सरावगीले महानगरपालिकाको तर्फबाट ४० थान डिभाइडर हस्तान्तरण गरे । घण्टाघर चोकमा डिभाइडर लगाइएको छ । पार्किङ क्षेत्र छुट्याउने, छाडा चौपाया नियन्त्रण गर्ने, रोड फर्निचर लगाउनेलगायतका कामहरू पनि अघि बढिरहेको छ ।

सोही क्रममा बुधबार बिहान माईस्थान मिनाबजार क्षेत्रमा सडकमा राख्ने गरिएको तरकारी पसल हटाउनुको साथै सटर भएर पनि सडकमा राखिएको समान हटाउन लगाइएको छ । मिनाबजार क्षेत्रमा खाद्यान्न, तरकारी र भाँडावर्तनका पसल बढी छन् । माईस्थान मन्दिर अगाडि सडकका फलफूल पसल पनि हटाइएको छ ।

विकल्प नदिई तरकारी पसल हटाएपछि तरकारी व्यापारीहरूले असन्तुष्टि जनाएका हुन् । लकडाउनले गर्दा तीन महिना व्यापार व्यवसाय ठप्प भएको अवस्थामा विकल्प नदिई हटाएर पेटमा लात मार्न खोजेको आरोप उनीहरूले लगाएका छन् । तरकारी बेच्न नपाउँदा बजार लगाउने ठाउँको प्रवन्ध गरिदिन उनीहरूले आग्रह गरेका छन् ।

नगवाकी राजेश्वरी देवीले तरकारी बेचेर गुजारा गर्दै आइरहेको अवस्थामा विकल्प नदिई हटाउँदा मर्कामा पर्ने गुनासो गरिन् । ‘तरकारी बेचेर बचत गर्न नसके पनि जसतसो जीवन गुजारा भइरहेको छ, एक्कासी आएर हटाउनुस् भनेर हुँदैन,’ उनले भनिन्, ‘खेतबारी छैन, तरकारी बेच्न नदिएपछि रोजीरोटी खोसिन्छ।’

सकुन्तला देवीले तरकारी बजार कहाँ लगाउने हो विकल्प दिन आग्रह गरिन् । व्यापारीहरूले नगरपालिकाले सडकमा बजार लगाएबापत कर समेत लिने गरेको बताएका छन् ।

अनलाइन खबरमा यो समाचार सुरेश बिडारीले लेखेका छन् ।

Back to top