×

वीरगञ्ज १६ असार । पर्साको सखुवाप्रसौनी गाउँपालिकाको गाउँसभा उद्घाटनमै सिमित भएको छ । देशभरिका स्थानीय तहले असार १० गते भित्रमा आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि गाउँ सभाले नीति तथा कार्यक्रम र बजेट पारित गरिसक्नु पर्ने थियो ।

तर गाउँपालिका अध्यक्ष प्रदिप जयसवालको कारणले गाउँसभा उद्घाटनमै सिमित भएको छ । असार १४ गते गाउँ सभाका भेला भएका सदस्यहरुले गाउँपालिकामा भएको अनियमितता र अपारदर्शीताबारे प्रश्न गरेपछि अध्यक्ष जयसवालले आलटाल गरेर गाउँसभा गर्न खोजेपछि सो दिन गाउँसभा हुन सकेको थिएन ।

उक्त दिन भेला भएका सदस्यहरुले सेनेटाईजर १०० एमएल वितरण गरेर ५ सय एमएलको बिल भरपाई बनाएको, विगतको आय–व्यय किन सार्वजनिक नगरेको, नीति नियम र ऐन कानुन के-के बनेका छन् सार्वजनिक किन नगरेको, के–के सामग्री खरिद भएको छ तथ्यांक किन नदिएको, कोभिड र राहतमा के कति खर्च भएको छ सो को विवरण दिन गाउँपालिका अध्यक्ष जयसवालसँग जवाफ मागेका थिए ।

यस्तै, जमुनिया खोला र पोखरीबाट के कति राजस्व उठेको छ सो को पनि सदस्यहरुले जानकारी माग गरिएकोमा गापा अध्यक्ष जयसवालले जानकारी नदिई आलटाल गरे आगाडि बढ्न खोजेपछि सदस्यहरुले विरोध गरे पश्चात सभा हुन सकेको थिएन ।

भोलिपल्ट असर १५ गते सम्पूर्ण सभा सदस्य उपस्थित भए पनि गापा अध्यक्ष जयसवाल आफै अनुपस्थित हुदाँ यसपालीको गाउँसभा अध्यक्ष जयसवालको रवैया कारण तत्काल नहुने सभा सदस्य धर्मराज साहले बताए ।

कोभिड-१९ व्यवस्थापन र राहत खरिदमा व्यापक अनियमितता गरेर हालसम्म मात्र १५ केजी मात्र राहत वितरण गरेको र जनतालाई विभिन्न झुठो आश्वासन दिई राहत नबाँडेकोमा दुई पटक गाउँपालिकामा ताला समेत लागेको थियो ।

क्वारेन्टाइनलाई व्यवस्थित नगरी खसी काटेर भोजभतेर गरेर ठुला बडालाई भोज खुवाई मोजमस्ती गरेको र गरिब, असहाय एवं दिनदुखीलाई भोकै राखेकोमा पुरै हिसाब किताब माग गरिएको सभा सदस्य प्रदिप चौधरीले बताएका छन् ।

गाउँपालिका अध्यक्ष जयसवालले एकलौटी पाराले गाउँपालिका चलाउन खोजेको र सामाजिक, स्वास्थ्य एवं योजनाको कर्मचारीसंगको मिलोमतोमा व्यापक भ्रष्टाचार गरी गाउँपालिकालाई बदनाम गराउन खोजेको अर्का सभा सदस्य पारस महतोले बताए । हैकमवादी पाराले गाउँसभा गराउन खोजेकोमा सोको विरोध गरिएको उनले भने ।

विगतको समयमा पनि अध्यक्ष जैसवालले आफ्नो ५ नं. वडा महुवनमा २ करोडको कालोपत्रे, ७० लाखको नाला, ५० लाखको मन्दिर, विद्यालय र तालीम गोष्ठीमा बढी रकम छुट्याई अरु वडासँग सौतेला व्यवहार गरेको र महुवन वडा बाहेकको बाँकी सबै वडाको शिक्षा, स्वास्थ्य, सिंचाई, बाटोघाटो एकदमै दयनिय अवस्थामा रहेको अर्का सभासदस्य इनरदेव महतोले आरोप लगाए । यसर्थ आगामी आर्थिक वर्षमा सम्पूर्ण बजेटको वडा स्तरमा सही अनुपातले विनियोजन गरी अगाडि बढ्ने सहमति गरे मात्र सभा संचालन हुने उनले भने ।

गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले भने काम गर्ने क्रममा सबैलाई सन्तुष्ट पार्न नसकिने भए पनि गाउँसभा मार्फत नीति तथा कार्यक्रम र बजेट पारित गर्न सकेसम्म सहमतिको प्रयास भइरहेको बताए ।

Back to top