×

वीरगञ्ज १६ असार । प्रस्तावित नागरिकतासम्बन्धि विद्येयकको विरुद्धमा वीरगञ्जका नागरिक समाजले स्वतन्त्र रुपमा गरेको प्रदर्शनको श्रेय नेपाली कांग्रेसले लिन खोजेको नागरिक समाजका अगुवाले आपत्ति जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारले मधेसी जनता, जन आन्दोलन र मधेस आन्दोलनको जन भावना विपरित विद्येयक पारीत गर्न खोजेको भन्दै यहाँका स्वतन्त्र नागरिक समाजले सोमवार आयोजना गरेको धर्ना तथा विरोध कार्यक्रममा अन्य राजनितिक दलका नेताहरुले पनि सहभागिता जनाएका थिए ।

नागरिक समाजको नेतृत्वमा धर्ना दिएपनि केही स्थानीय अनलाईन पोर्टल र रेडियोहरुले नेपाली कांग्रेसको नेतृत्वमा धर्ना भएको भनेर समाचार सम्प्रेषण भएपछि नागरिक समाजका अगुवाले आफुले गरेको कामको श्रेय राजनितिक दलले लिन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

नागरिकता विद्येयकको विरुद्धमा भएको धर्नामा नागरिक अभियान पर्सा, नेपाल कुशवाहा कल्याण समिति, वीरगञ्ज रौनियार समाज, नेपाल ब्राहमण समाज, तेली समाज पर्सा, गोपाल सेवा समिति पर्सा, मदर्सा अर्गनाइजेशन अफ नेपाल पर्सा, फलफुल व्यवसायी संघ, कवाड व्यवसायी संघ पर्सा, लेखापढी व्यवसायी संघ, नेपाल प्राध्यापक संघ, सुनचाँदी व्यवसायी संघ, लगायतका संघसंस्था तथा, विभिन्न राजनितिक दलका नेताहरुका साथै सुरक्षाकर्मी, सञ्चारकर्मी, बुद्धिजिविलगायतले सहभागिता जनाएका थिए ।

विरोध कार्यक्रम नागरिक समाजले स्वतन्त्ररुपमा आफ्नो नेतृत्वमा गरेपनि नेपाली कांग्रेसले यसको श्रेय उठाउनु सरासर गलत भएको सङ्घीय शिक्षक फोरमका जिल्ला अध्यक्ष हरेन्द्र चौरसियाले बताए । 'हिजोको नागरिक समाजले मधेसी जनताको भावना र संस्कृति विपरित ल्याउन खोजिएको नागरिकता विधयेक विरुद्ध गरेको आन्दोलन थियो, नेपाली कांग्रेसले श्रेय उठाउनु नै थियो भने हामीलाई अगाडी नै पार्टीको नेतृत्वमा कार्यक्रम हुँदैछ भनेर जानकारी दिएको हुन्थ्यो,' चौरसियाले भने, 'हामीलाई नागरिक समाजको नाममा बोलाएर कांग्रेसको नेतृत्व भन्नु गलत हो, यसले कांग्रेसको छवी खराब बनाउँछ ।'

त्यसैगरी नेपाल ब्राह्मण समाज पर्साका सचिव बृजमोहन तिवारीले आन्दोलनको नेतृत्व कुनै एउटा दलले नगरेर विभिन्न जातीय सङ्गठनहरुले गरेको बताए । उनले हिजोको धर्ना कार्यक्रम कुनै विशेष राजनीतिक दलको भातृ सङ्गठनको अगुवाईमा नभएको जानकारी गराउँदै भने, 'मधेसी जनताले गरेको आन्दोलनको नाम बेचेर चर्चा कमाउने स्टन्टले नेपाली कांग्रेसको दरिद्र मानसिकता बारे प्रष्ट गर्छ, यो गर्नु गलत हो ।

Back to top