×

वीरगञ्ज, १५ असार । विश्वव्यापी स्वास्थ्य संकटका रुपमा देखापरेको नोबल कोरोना भाइरसका कारण नेपालको बाह्य व्यापार पूरै प्रभावित भएको छ । नेपालको बाह्य व्यापारमा १४ प्रतिशतले कमी आएको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ११ महिना अर्थात जेठ मसान्तसम्म नेपालको कुल आयात व्यापार १५.३१ प्रतिशतले घट्यो भने निर्यात व्यापारमा ०.१९ प्रतिशतको झिनो वृद्धि भयो ।

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर चैत ११ गतेदेखि लकडाउन घोषणा गरिएलगत्तै नेपालको आयात–निर्यात ठप्प भएको थियो । यद्यपि, अत्यावश्यकीय वस्तुहरूको आयात भने जारी राखिएको थियो ।

विभागद्वारा सार्वजनिक गरिएको तथ्यांकअनुसार चैतदेखि जेठसम्मको तीन महिनाको अवधिमा १ खर्ब ७६ अर्ब ५७ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ भने १३ अर्ब ९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ ।

जेठसम्मको अवधिमा नेपालले कुल ११ खर्ब ८१ खर्ब रुपैयाँबराबरको वस्तु आयात गरेको छ, गत आर्थिक वर्षको समान अवधिमा १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँको आयात गरेको थियो ।

यस्तै, यो ११ महिनाको अवधिमा नेपालबाट ८८ अर्ब रुपैयाँबराबरको वस्तु निकासी भएको छ, गत वर्षको समान अवधिमा ८७ अर्ब ८३ करोड रुपैयाँबराबरको वस्तु निकासी भएको थियो ।

भन्सार विभागका अनुसार ६५ प्रतिशतको व्यापार साझेदारी रहेको भारतसँगको आयात घटे पनि निर्यात व्यापार बढेको देखिन्छ । विभागअनुसार चालू आर्थिक वर्षको पहिलो ११ महिनामा भारतबाट ६ खर्ब ७० अर्ब ५९ करोड रुपैयाँबराबरको आयात भएको छ । यो गत वर्षको समान अवधिको तुलनामा २०.३३ प्रतिशत कम हो ।

गत वर्षको पहिलो ११ महिनामा भारतबाट ८ खर्ब ८१ अर्ब ६७ करोड रुपैयाँको आयात भएको थियो ।

यस्तै, नेपालबाट भारततर्फ ६२ अर्ब ९५ करोड रुपैयाँबराबरको निर्यात भएको छ, यो गत वर्षको तुलनामा ११.२४ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको जेठ मसान्तसम्म भारततर्फ ५६ करोड ५९ लाख रुपैयाँको निर्यात भएको थियो ।

दोस्रो ठूलो व्यापारिक साझेदार चीनबाट आयात हुने ९ प्रतिशतले घट्दा त्यसतर्फको निर्यात भने ४२ प्रतिशतले घटेको छ ।

विभागका अनुसार पहिलो ११ महिनामा १ खर्ब ६९ अर्ब ७२ करोड रुपैयाँबराबरको आयात हुँदा १ अर्ब १३ करोड रुपैयाँबराबरको निर्यात भएको छ । गत आर्थिक वर्षको समान अवधिमा चीनबाट १ खर्ब ८६ अर्ब ६० करोडको आयात हुँदा १ अर्ब ९६ करोड रुपैयाँको निर्यात भएको थियो ।

Back to top