×

वीरगञ्ज, १५ असार । सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा १८ जना घाइते भएका छन्। घाइतेमध्ये केहीलाई गोलीसमते लागेको छ।

सर्लाहीको रामनगर गाउँपालिकामा एक साताअघि नेकपाका एक कार्यकर्ताको हत्याको घटनालाई लिएर नेकपाका युवा विद्यार्थीले आइतबार सर्लाहीका विभिन्न ठाउँमा जुलुस प्रदर्शन गरेका थिए।

धनकौलमा भएको जुलुशकै क्रममा दुई पार्टीका कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो। सर्लाहीका प्रहरी प्रमुख एसपी विश्वमणि सुवेदीले घटनामा गोली चलेको पुष्टि गरे।

‘केहीलाई गोलीको छर्रा लागेको छ, तर गम्भीर घाइते कोही छैनन्,’ सोमबार बिहान भने, ‘कुन पक्षबाट गोली चलेको हो, खुलेको छैन। हामी अनुसन्धान गरिरहेका छौं।’

घाइते हुनेमा १५ जना कांग्रेस र तीन जना नकेपाका कार्यकर्ता छन्। नेकपाका कार्यकर्ताले गोली कांग्रेसका कार्यकर्ताले चलाएको दाबी गरेका छन्।

घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको एसपी पोखरेलले जानकारी दिए। तर, उनले पक्राउ पर्नेको नाम भने खुलाएनन्। ‘अहिले स्थिति सामान्य छ, कुनै तनाव छैन,’ उनले दाबी गरे।

Back to top