×

वीरगञ्ज १५ असार । वीरगञ्ज महानगरपालिकाले साना सिँचाई कार्यक्रम अन्तर्गत महानगरपालिकाका ३२ वटा वडाका कृषक समूहलाई पम्पसेट सहित कृषि सामग्री वितरण गरेको छ । ३२ वटै वडमा गठन गरिएको ३३ वटा कृषक समूहलाई ३३ थान पम्प सेट, बिषादि छर्ने स्प्रेयर र त्रिपाल र बीउ राख्ने झोला वितरण गरिएको हो । कृषक समूहलाई महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले पम्पसेट लगायतका कृषि सामग्री वितरण गर्नुभएको थियो । साना सिँचाई अन्तर्गत कृषक समूहलाई वितरण गरिने पम्पसेट तथा कृषि सामग्रीहरु फागनु महिनामा एक महिनाको म्याद राखेर सूचना प्रकाशन गरिएकोमा बीचमा लकडाउनका कारण निवेदन अपुग भएपछि पुनः एक हप्ताको म्याद थप गरेर सूचना प्रकाशित गरेपछि सोही अनुसार आएका निवेदनको आधारमा कृषक समूहलाई वितरण गरेको हो । ८५ प्रतिशतको अनुदानमा पम्पसेट, ७५ प्रतिशत अनुदानमा ५० वटा त्रिपाल, ७५ प्रतिशतको अनुदानमा ५० स्प्रे मेशिन र निःशुल्क रुपमा बीऊ राख्ने हर्मेटिक ब्याग १० वटाको दरले आज सोमबारदेखि वितरण गरेको महानगरपालिकाको कृषि महाशाखाकी प्रमुख उर्मिला श्रेष्ठले जानकारी दिनुभयो । साना सिँचाई अन्तर्गत कार्यविधिहरु प्रमाणिकरण भएर आउन समय लागेकोले यसपटक पम्पसेटहरु मात्रै वितरण गरिएको उहाँले बताउनुभयो । एउटा समूहमा १५ देखि २५ जनासम्मको समूहले यसबाट लाभान्वित हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप नैरौला, नगरप्रमुखका राजनीतिक सल्लाहकार मुकेश कुमार द्विवेदी, स्थानीय कृषक समूहका किसानहरु लगायतको उपस्थिति रहेको थियो ।

Back to top