×

वीरगञ्ज १५ असार । आज १७ औं राष्ट्रिय धान दिवस । विभिन्न ठाउँमा दिवसको अवसरमा कार्यक्रमहरु भए । कृषिमन्त्रीले उदयपुरमा चक्लाबन्दी खेतीको सुरुवात गरे भने वीरगञ्जमा मेसिनले धान रोपियो ।

मानो रोपेर मुरी फलाउने महिनाको रुपमा असारलाई लिइन्छ ।

तर बाराको कलैयामा विरोध जनाउन पनि धान रोपाइँ गरिएको छ । जिल्ला सदरमुकाम कलैयाका बासिन्दाले सडकमै धान रोपेर विरोध जनाएका हुन् । कलैया–१ स्थित मुख्य चौकमै कलैयाका स्थानीयले धान रोपेका थिए ।

भरत चोकबाट देवकोटा चोक तथा कलैया बजारतर्फ जाने बाटो हिलाम्य छ । सडक हिलाम्य भएका कारण सर्वसाधरणलाई हिँडडुलमा समेत सास्ती भइरहेको स्थानीयको गुनासाे छ ।

सडकको दुरावस्थाबारे पटक–पटक कलैया उपमहानगरपालिकालाई जानकारी गराउँदा समेत समाधानमा चासो नदिएपछि बाध्य भएर विरोध जनाउनु परेको उनीहरुले बताएका छन् ।

बारा उद्योग वाणिज्य संघ, कलैयाका सदस्य शशी केशरीले कलैयाको मुख्य चोक भरत चोक नै हिलाम्य हुँदा समेत सरोकारवाला मुक दर्शक भएर बसेपछि सडकमा धान रोप्नु परेको बताए ।

‘घाम आउँदा धुलो उड्छ, पानी पर्दा हिलो हुन्छ । मानिसहरुलाई आउजाउ गर्न सास्ती भइरहेको छ,’ उनले भने, ‘कति दुःख सहनु परेको छ भनेर साध्य छैन ।’

बाटोमा हिँडडुल गर्नदेखि लिएर सवारी साधन चलाउन धेरै नै कठिन भइरहेको भएपनि सडक मर्मतमा सम्बन्धित निकायले चासो नदेखएपछि उनीहरुको ध्यानाकर्षण गराउन सडकमा रोपाइँ गरिएको उनले बताए ।

Back to top