×

वीरगन्ज १३ असार । पर्सागढी नगरपालिकाका केही कर्मचारीले लाखौं रुपैयाँ राजस्व हिनामिना गरेको प्रमाण भेटिएको छ । लाखौं रुपैयाँ राजस्व हिनामिना गरेको प्रमाण भटे पछि निर्वाचित पदाधिकारी तथा कर्मचारीहरू विच भोजभतेर गरि हिनामिनागरेको रकम मिलाउन कसरत गरिको श्रोतले जनाएको छ ।

नगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने करजनिया खोलाबाट गिट्टी, बालुवा उत्खनन गरेबापत सङ्कलन भएको राजस्व नगरपालिकाको खातामा कम दाखिला गरेको प्रमाण भेटिएको छ । निर्वाचित पदाधिकारी तथा कर्मचारीहरूको मिलेमतोमा करीब १५ लाख रुपैयाँ राजस्व हिनामिना गरेको प्रमाण भेटिएको छ ।

खोलाको वातावरणीय परीक्षण रिपोर्ट नगरपालिकाले समयमा बनाउन नसक्दा चालू आर्थिक वर्षमा खोला ठेक्कामा लागेको थिएन । चालू आर्थिक वर्षमा विकास निर्माणको लागि खोलालाई अमानतमा नगरपालिकाले कर्मचारी खटाइ राजस्व सङ्कलन गरेको थियो ।

पर्सागढी नगरपालिका राजस्व शाखाका कर्मचारी अशोक चौधरीका अनुसार ५५ सय रसीद छापेकोमध्ये १ सयको ३२ वटा ठेली कर्मचारीलाई जिम्मा लगाइ जेठ २३ देखि ३२ गते रातिसम्म राजस्व उठाउन कर्मचारी खटाएको स्वीकार गरे ।

कर्मचारीहरूले लगेको ठेलीबाट सङ्कलन भएको राजस्व १२ लाख ४७ हजार ८ सय रुपैयाँ नगरपालिकाको खातामा जम्मा भइसकेको चौधरीको भनाइ छ । कर्मचारीहरूले लगेको ठेलीमध्ये २५० वटा फिर्ता आएको आफूले सुनेको जानकारी दिए ।

कर्मचारीहरूले लगेको ३२ सयवटा रसीदमध्ये फिर्तासमेत गरी जम्मा २ हजार ९ सय ५० वटा रसीदको हिसाब १४ लाख ६० हजार ९ सय रुपैयाँ हुन्छ तर २ लाख २१ हजार रुपैयाँ कर्मचारीहरूले नबुझाएको पाइएको छ ।

यस विषयमा नगरप्रमुख लोकनारायण यादवसँग बुझदा उनले कर्मचारीहरूले सङ्कलन गरेको राजस्व सबै दाखिला गरिसकेको जानकारी दिए । कटेका सबै रसीदको राजस्व दाखिला भएको कुनै अनियमितता नभएको दाबी गरेका छन् ।

कसरी भएको छ अनियमितता

वनक्षेत्रभित्र रहेको करजनिया खोला राष्ट्रिय वनक्षेत्रको सिमानादेखि लगभग ३ किलोमिटरभित्र पर्छ । सो खोलाबाट ट्याक्टरहरूले बालुवा, गिट्टी लिएर आउँदा सबडिभिजन वन कार्यालय सखुवनियाले छुट्टै आफ्नो दर्ता रजिस्टरमा गाडी नम्बर तथा रसीद नम्बर दर्ता गरेको भेटिएपछि रकम हिनामिना भएको तथ्य सार्वजनिक भएको हो ।

सो कार्यालयमा दर्ता भएका गाडी नम्बर तथा ५४९७ नम्बरको रसीद फेला प–यो । वन कर्मचारी सत्यनारायण चौधरीका अनुसार एकैचोटि धेरै ट्याक्टर आउँदा आफूले भ्याएसम्म दर्ता गरेको जानकारी दिए ।

वन कर्मचारी चौधरीका अनुसार धेरै ट्याक्टरको रसीद नभएको तर पैसा दिएको चालकहरूको भनाइ थियो । चौधरीका अनुसार १० दिनभित्र ५४ ÷ ५५ सय ट्याक्टर दर्ता गरेको तर ६ हजारभन्दा बढी ट्याक्टरमा गिट्टी, बालुवा गएको उनले दाबी गरे ।

नगरपालिकाको खातामा रु १२ लाख ४७ हजार ८ सय राजस्व दाखिला हुनु, नगरप्रमुखले सङ्कलित सबै राजस्व नगरपालिकाको खातामा दाखिला भएको स्वीकार गर्नु, कर्मचारीको दर्ता रजिस्टरमा दर्ता भएका गाडी नम्बर तथा रसीद नम्बर ५४ सयभन्दा बढी दर्ता भएको भेटिएपछि सोबापत २७ लाख जति राजस्व दाखिला हुनुपर्नेमा कम राजस्व जम्मा गरी १५ लाख रुपैयाँभन्दा बढी राजस्व हिनामिना भएको पुष्टि हुन्छ ।

Back to top