विन्दवासिनीमा उपाध्यक्ष र अधिकृतले नै नियम मिचेर धर्मशाला बनाउँदै, ५ लाख बजेट झ्वाम पार्ने योजना

364

वीरगञ्ज ५ असार । पर्साको विन्दवासिनी गाउँपालिकामा मात्र अढाई धुरमा धर्मशाला बनाएर ५ लाख झ्वाम पार्ने दाउमा कर्मचारीदेखि जनप्रतिनिधि लागि परेका तथ्य खुलेको छ । गाउँपालिकाको बीच बस्ति मै सडक मिचेर धर्मशाला निर्माण गर्न लागिएको छ । आर्थिक वर्ष सकिनै लाग्दा बजेट फ्रिज हुने भएपछि बजेट सकाउन नियम मिचेर घना बस्तीको बीचमा धर्मशाला निर्माण गर्न लागिएको स्थानीयहरुले आरोप लगाएका छन् ।

विन्दवासिनी गाउँपालिकाको वडा नं. ३ बड्का इटियाहीमा धर्मशाला निर्माण गर्न लागिएको हो । विभिन्न व्यक्तिको दानबाट प्राप्त कित्ता नम्बर १७ को करिब अढाई धुर जग्गामा उक्त धर्मशाला निर्माणका लागि गाउँपालिकाको ५ लाखको बजेट यसअघि नै छुट्याएको थियो । तर करिब एक महिना अघि मात्र श्री हनुमान मन्दिर सेवा समितिको नामक एउटा ट्रस्टको नाममा जग्गा रजिष्टरी भएपछि धर्मशाला निर्माणको काम शुरु गरिएको छ ।

गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताको बजेटबाट रकम छुट्याएर निर्माण शुरु गरिएको धर्मशाला आगामी आर्थिक वर्षमा थप बजेट निकासा गरेर चार/पाँच तल्ले निर्माण गर्ने योजना बनाइएको छ । तर, गाउँपालिकाकाले आफैले बनाएको नियम मिचेर र सडकलाई समेत च्यापेर धर्मशाला निर्माण भइरहेको छ ।



हाल निर्माण शुरु गरिएको सो धर्मशालाको पूर्वपट्टि २० फिटे बाटो २०२१ सालको नक्सामै कायम गरिएको छ । सोही नक्सामा कायम गरिएको बाटोको नजिकै रहेको इनारलाई केन्द्र बनाएर नापी गर्दा धर्मशाला करिब ५ फिट सडक मिचेर निर्माण गर्न लागिएको राष्ट्रिय विद्यार्थी संघका जिल्ला अध्यक्ष तथा सोही वडा निवासी मधुसुदन चौरसिया बताए । साथै, नालाका लागि सडकभन्दा ३ फिट जग्गा छोडेर हरेक भौतिक संरचना बनाउनु पर्ने गाउँपालिकाले आफैले बनाएको नियम समेत मिचिएको उनले आरोप लगाए ।

५ धुर दाबी गरिए पनि धर्मशाला करिब अढाई धुरमा मात्र बनाउन लागिएको छ । धर्मशाला निर्माण हुन लागेको सो जग्गाको २७ फिट लम्बाई र १८ फिट चौडाई छ । नियमानुसार धर्मशाला निर्माण हुने हो भने मात्र २८ फिट लम्बाई र १२ फिट चौडाईमा मात्र धर्मशाला बन्नेछ । ‘सडकको ५ र नालाको ३ फिट गरी ८ फिट मिचिएको जग्गा छोड्ने हो भने, कत्रो धर्मशाला बन्छ, तपाई आफै अनुमान गर्नुहोस्’ चौरसियाले भने ‘गाउँको बीचमा धर्मशाला बनाउनु भन्दा स्वास्थ्य चौकी बनाउने प्रस्ताव गर्दा जनप्रतिनिधि बेवास्ता गरे ।’

अर्कोतर्फ, निर्माण गर्न लागिएको सो धर्मशालाको पूर्वपट्टि रहेको सडकका लागि पनि गाउँपालिकाले यसपाली ६० लाख बजेट बिनियोजन गरेको छ । सोही सडकका लागि अर्को वर्ष फेरि ४० लाख थप गर्ने गाउँपालिकाको योजना छ । सडक निर्माण गर्दा अहिले सडक र नाला अतिक्रमण गरेर बनाउन लागिएको धर्मशाला गाउँपालिका आफैले भत्काउनु पर्नेछ । यसर्थ, अहिले धर्मशालाको आंशिक संरचना बनाउने र पछि सडक बन्न शुरु भएपछि सडक मिचियो भन्दै धर्मशाला भत्काएर बजेट पचाउन प्रशासकीय अधिकृतदेखि गाउँपालिका उपाध्यक्षसम्म लागिपरेको चौरसियाले बताए ।

यस्तै, निर्माण गर्न लागिएको सो धर्मशालाले दक्षिणपट्टि रहेको कित्ता नं. ६६ को जग्गा पनि मिचेको भन्दै जग्गाधनी स्थानीय राकेश चौरसियाले बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा रोक्काको निवेदन दिएका छन् । जसको बोधार्थमा जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी अमरपट्टी र गाउँपालिका कार्यालय रहेका छन् । तर रोक्का निवेदन उपर कारवाहीका लागि न त प्रहरी चौकीले आश्वयक प्रक्रिया अघि बढायो, गाउँपालिका कार्यालयले त चिठी नै बुझ्न नमानेको पिडित जग्गाधनी चौरसियाले गुनासो पोखे । “बरु भोलिपल्टै जिल्ला प्रशासन गएर गाउँपालिकाले फुक्काको चिठी लिएर आएको छ” चौरसियाले बताए ।

यता गाउँपालिका प्रमुख श्रीलाल साह कानु (मोदी)ले उपाध्यक्षले जबर्जस्ति बजेट विनियोजन गराएर धर्मशाला निर्माण गर्न लगाएको बताए । उनले गाउँपालिकामा बसेर छलफल मार्फत समाधान खोज्न आग्रह गर्दा पनि दुवै पक्ष नमनाएको बताउँदै दु:ख व्यक्त गरे । ‘गाउँपालिकाले अब केहि दिनमा सडक निर्माणको काम सुरु गर्दा बन्न लागेको धर्मशाला भात्काउनुको कुनै विकल्प नै छैन, अध्यक्ष मोदीले भने, ‘मैले त् छलफल मार्फत केही हाल निकालेर बरु स्वास्थ्य चौकी बनाउन आग्रह गरेको छु तर जबर्जस्ति धर्मशाला बनाईंदै छ ।’

अध्यक्ष मोदीले पनि बस्तिको बीचमा धर्मशाला निर्माण गर्नुको कुनै औचित्य नरहेको बताए । यस विषयमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार र उपाध्यक्ष किरण देवी गुप्तासँग कुरा गर्न खोज्दा सम्पर्क भएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here