×

वीरगञ्ज ४ असार । वीरगञ्जस्थित नारायणी अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालबाट ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

आइसोलेसनमा बसेको १४ दिन पूरा भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले बताउनुभयो । उहाँका अनुसार वीरगञ्जको सिर्सिया बस्ने १५ वर्षीया किशोरी र रौतहटको राजदेवी नगरपालिका–१ पथराकी ३६ वर्षीया महिलाका साथै पर्साको कालिकामाई गाउँपालिका वडा न. २ का १६, ३०, ४०, र ४५ वर्षीय चार जना पुरुष र पर्साकै ३३ र २५ वर्षीय दुई जना पुरुष डिस्चार्ज भएका छन् ।

रौतहटकी महिलामा जेठ २२ गते र अरुमा जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको कोरोना संक्रमण पुष्टि भएको १० दिनमा गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । सरकारको नयाँ गाइडलाइनले १४ दिन आइसोलेसनमा राखेर घर पठाउन सकिने व्यवस्था गरेको छ । उनीहरुलाई १४ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको डा. सिंहले बताउनुभयो ।

गण्डक कोभिड अस्पताललमा हालसम्म १ सय ३ जना संक्रमित भर्ना गरिएकोमा ६१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

Back to top