×

वीरगञ्ज ३ असार । वीरगञ्ज स्थित नारायणी अस्पताललाई प्रदेश २ सरकारले उपलब्ध गराउने भनेको पीसीआर मेसिन खरिदको लागी कोटेशन माग गरिएको छ ।

प्रदेश नं. २ मा कोरोना संक्रमितहरुको संख्या बढिरहेको बेला प्रदेश सरकारले कोरोना परीक्षणको दायरा बढाउने उद्येशले नयाँ पीसीआर मेसिन जडान गर्न लागेको हो । प्रदेश सरकारले केही दिन अघि मात्रै नारायणी अस्पताललाई नयाँ पीसीआर मेसिन उपलब्ध गराउने घोषणा गरेको थियो ।

सोही घोषणा अनुरूप नारायणी अस्पताल पिसिआर मेसिन खरिद गर्न गृहकार्य सुरु गरेको छ । अस्पतालका मेडिकल सुपिटेण्डेण्ट डा. मदनकुमार उपाध्यायले प्रदेश सरकारको निर्देशन अनुसार पीसीआर मेसिन खरिदका लागि अस्पतालबाट कोटेसन माग गरेको जानकारी दिए ।

'प्रदेश सरकारको निर्णय अनुसार हामीले पीसीआर मेसिन खरिदका लागि कोटेसन माग गरेका छौँ,' मेसु डा. उपाध्यायले भने, 'केही दिनभित्रै नयाँ मेसिन खरिद गरेर हामीले परीक्षण सुरु गर्ने छौँ ।'

नारायणी अस्पतालमा किट अभावले कोरोनाभाइरस चेकजाँच ठप्प भएको जानकारी पाएपछि प्रदेश सरकारले नारायणी अस्पताललाई १८ सय ५० वटा आरडिटी किट समेत उपलब्ध गराएको थियो ।

पर्सा क्षेत्र नं. १ का सांसद् प्रदीप यादवको पहलमा प्रदेश २ सरकारकी अर्थ राज्य मन्त्री उषा देवी यादवले पीसीआर मेसिन खरिद गर्ने घोषणा गर्नुभएको थियो ।

Back to top