×

वीरगञ्ज ३ असार । वीरगञ्जको नारायणी अस्पतालले विभिन्न २७ पदका लागि ५८ जना कर्मचारी भर्ना गर्न फेरि सूचना निकालेको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.मदन उपाध्याय वीरगञ्जबाट सरुवा भएर जानै लाग्दा अस्पतालमा कर्मचारी भर्ना गरेर जान लागेका हुन् ।

कर्मचारी भर्नाका बेला आर्थिक चलखेल गर्न सकिने भन्दै सुपरिटेण्डेण्ड उपाध्यायले पहिला स्थगित भएको भर्ना फेरि आह्वान गरेको अस्पतालका चिकित्सक बताउँछन ।

गएको चैत ५ गते भर्नाका लागि आह्वान गरेको भए पनि विश्वभरी फैलिएको कोभिडका कारण स्थगित भएको थियो । अहिले जसरी भए पनि अस्पतालमा कर्मचारी भर्ना गरेरे आर्थिक लाभ लिएरै जाने दाउमा मेसु उपाध्याय देखिएका छन् ।

विगतका मेसुहरुले पनि आर्थिक चलखेलका आधारमा अस्पतालमा कर्मचारी भर्ना गर्दै आएका थिए । अस्पताललाई कमाई गर्ने थलो बनाइएका बेला डा. मदन उपाध्याय आएपछि केही परिवर्तन होला भन्ने आशा गरिएको भए पनि जाने बेलामा फेरि त्यही ताल देखाइदिएका छन् ।

यस अघिका मेसुले अस्पतालमा आर्थिक अनियमितता गरेको अभियोगमा अहिले पनि अख्तियारको मुद्धा झेलिरहेका छन् ।

यता मेसु उपाध्यायले कर्मचारीलाई नियुक्ति दिन उनीहरुसँग आर्थिक सङ्कलनका लागि अस्पतालकै एक जना चिकित्सकलाई जिम्मा लगाएको स्रोतको दावी छ । एक जनाबाट कम्तिमा पनि २ देखि ३ लाख रुपैयाँसम्म लिएर नियुक्ति दिन खोजिएको मेसु निकट स्रोतले जनाएको छ ।

वीरगञ्जमा कोविड संक्रमित फेला परेपछि उनीहरुको व्यवस्थापन र उपचारमा उल्लेख्य भुमिका निर्वाह गर्दा अस्पताल सुधारका लागि पनि मेसु उपाध्यायले राम्रै काम गर्लान भन्ने सोच राखेका वीरगञ्जवासी अहिले कर्मचारी भर्नाका बेला भने उनले आर्थिक चलखेल गर्न खोज्दा आश्चर्यमा परेका छन् ।

कोविड संक्रमितको उपचारका लागि नारायणीकै शाखाको रुपमा बनाइएको गण्डक अस्पतालमा खटिएका सिंह थर भएका एक जना चिकित्सकलाई मेसु उपाध्यायले भर्ना हुन आउनेहरुसँग आर्थिक संकलनको जिम्मेवारी दिएको बुझिएको छ ।

अस्पतालले फिजिसियन, रेडियोलोजिष्ट, साईक्याट्रिष्ट, प्याथोलोजिष्ट, मेडिकल अधिकृत, स्टाफ नर्स लगायत रिक्त रहेका विभिन्न २७ पदमा कर्मचारी भर्नाका लागि फेरि सूचना प्रकाशित गरेको हो ।

अस्पतालले सबैभन्दा धेरै स्टाफ नर्स १८ जना, मेडिकल अधिकृत ८ जना, अनमी ४ जना माग गरेको छ । यसअघि पनि अस्पतालमा मेडिकल सुपरिटेण्डेण्टको सिफारिसमा नै कर्मचारी नियुक्त गर्ने गरिएको थियो । अहिले पनि मेसु उपाध्यायले आर्थिक चलखेलको आधारमा आफ्नो सिफारिसमा नै कर्मचारी नियुक्त गर्न खोजेका हुन् ।

मौखिक परीक्षाकै आधारमा कर्मचारी भर्ना गर्न खोजेको भन्दै मेसु उपाध्यायको गतिविधिको अस्पतालकै कर्मचारीले यसको विरोध गर्न थालेका छन् ।

Back to top