पर्सा प्रशाासन मौन रोक लगाइएका व्यापार मदिरा, माछामासु, सैलुन, रेस्टुराँ खुलियाम सञ्चालन हुँदै

1714

वीरगंज  ३ असार । असार १ गतेदेखि लकडाउन हटेसँगै  सरकारले निर्देशन गरेको २१ थरी व्यापार–व्यवसाय सञ्चालनमा आएका छन्। सरकारले यो अवधिमा १२ थरीका व्यापार–व्यवसाय सञ्चालनमा रोक लगाए पनि पर्सामा अहिले रोक लगाइएका व्यापार–व्यवसायहरू पनि क्रमशः सञ्चालन भएका छन्। तर यो क्रममा अहिले सैलुन, ब्युटिपार्लर मात्र नियमितरूपमा सञ्चालन भएका छैनन्।

पर्साको ग्रामीण क्षेत्रमा सैलुनहरू सञ्चालनमा छन् तर महानगरपालिकामा भने सैलुन र ब्युटिपार्लर सञ्चालनमा आउन सकेको छैन। सैलुन सञ्चालन गर्न नाई सङ्घले जिल्ला प्रशासन कार्यालय पर्सामा एक साताअघि नै ध्यानाकर्षण गराएको थियो। ८३ दिनको लकडाउनमा अन्य व्यापार–व्यवसायसरह सैलुन पनि बन्द भएको तर सरकारले जारी गरेको सूचीमा सैलुन नपरेको भन्दै नाई सङ्घ पर्साले जिप्रकाको ध्यानाकर्षण गराएको हो। सैलुन सञ्चालनमा सरकारले नै रोक लगाएकोले स्थानीय प्रशासनले सञ्चालन अनुमति दिन सकेको छैन।

सरकारले सञ्चालनमा रोक लगाएको रेस्टुराँहरू होम डेलिभरी गर्दै सञ्चालन भएका छन्। यसैगरी, सञ्चालनको सूचीमा नपरेको मदिरापसलहरू जेठ ३२ गतेदेखि नै वीरगंजमा खुलेका छन्। थोक, खुद्रा पसलले मदिरा बिक्री शुरू गर्दै पसलमा बसेर सेवन कार्य मात्र रोक लगाएको छ। मदिरा खरीद गरेर लैजानका लागि भने कुनै रोकटोक गरिएको छैन। पानपसलहरू पनि बन्द सूचीमा छन् तर अहिले शहरमा सञ्चालन भइरहेका छन्।



यसैगरी, माछामासुको ढुवानीबाहेक बिक्री खुला छैन तर शहरमा बोइलर कुखुराका पसलहरूसंगै ठाउँ–ठाउँमा माछाको बिक्री पनि शुरू भइसकेको छ। यस प्रकार प्रायः सबैखाले पसल सञ्चालनमा आएपछि सैलुन सञ्चालकहरूले पसल बन्द गर्दा ठूलो आर्थिक समस्या भएको भन्दै सटर बन्द गरेर व्यवसाय सञ्चालन गर्दैछन्। सटर बाहिरबाट बन्द गर्ने अनि भित्र कपाल, दा–ही काट्ने कार्य भइरहेको छ।

अहिले पूर्णरूपमा बन्द भनेको सिनेमाघर मात्र हो। होटल व्यवसाय पनि बन्दको सूचीमा छ तर भित्ररूपमा सञ्चालनमैं छ। यसैगरी, सवारीसाधनहरूमा चार चक्के निजी वाहन जोर–बिजोर सञ्चालनको लागि इजाजत भएपनि अहिले वीरगंजमा निजी सवारीसाधनहरूको सञ्चालनमा कुनै रोक लगाइएको छैन।

सरकारले भाडाका सवारीसाधनहरूमा अत्यावश्यक वस्तुको ढुवानीमा प्रयोग हुने बाहेक अन्य भाडाका सवारीसाधनहरूमा रोक लगाएपनि वीरगंजमा ईरिक्सा, टेम्पो, रिक्सा सञ्चालन शुरू भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले लकडाउनपछि सञ्चालनमा आएका केही ईरिक्सा, टेम्पोहरूलाई नियन्त्रणमा लिएको थियो।

तर पछि जरिवाना लिएर छाडेपछि अहिले सोको सञ्चालन पनि शुरू छ। लकडाउनको समयमा तोकिएका पसल, सवारीसाधनहरूको प्रयोगमा कडाइ गर्दै आएको प्रहरी प्रशासनले लकडाउन खुलेसँगै सरकारद्वारा निर्देशित कार्यविरुद्धको गतिविधिमा भने लापरवाही देखाउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here