×

वीरगन्ज १ असार । वीरगन्जका सरकारी कार्यालयहरु आजबाट दुई सिफ्टमा सन्चालन हुँदैछन् । पहिलो सिफ्ट विहान ८ बजेदेखि १ बजेसम्म निर्धारण गरिएको छ । दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको छ ।

लकडाउनका कारण ८३ दिनसम्म बन्द रहँदै आएका देशभरका सरकारी कार्यालयहरुलाई सरकारले १ असारदेखि खोल्ने निर्णय यसअघि गरेको थियो । कर्मचारीहरुले भौतिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षाका उपाय अपनाएर काम गर्न भनेको छ । मन्त्रालयलगायतका केही केन्द्रीय निकायहरुबाट आंशिक रुपमा सेवा प्रवाह हुँदै आए पनि अन्य कार्यालयहरु बन्द रहँदै आएका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सरकारले बनाएको स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी आजबाट सबै सरकारी कार्यालयबाट सेवा सुचारु गर्न लागिएको बताए ।

स्वास्थ्य मापदण्ड पालना गराउन सम्बन्धित कार्यालय प्रमुखलाई जिम्मेवारी दिइएको छ । सेवाग्राहीको भिडभाड हुने कार्यालयमा टोकन प्रणाली अपनाउन, कार्यालय प्र्रवेश गर्नुअघि नै तापक्रम नाप्ने व्यवस्था गर्न भनिएको छ । साथै स्यानिटाइजर र मास्क लगाउने लगायतका नियम पनि सेवाग्राही र कर्मचारीले पालना गर्नुपर्ने छ ।

बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा पनि आजबाट सञ्चालन हुँदैछन् । यसरी सञ्चालन हुनेमा गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र शिक्षण संस्थाका कार्यालयसमेत छन् । यी सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ ।

यी हुन आजबाट खुल्ने २१ क्षेत्र

– अत्यावश्यक सेवाका कार्यालय

– अन्य सरकारी कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू (५० प्रतिशत कर्मचारी रहने गरी)

– स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवा, निजी क्लिनिकसमेत

– औषधि, खाद्य तथा पेयपदार्थ, तरकारी, फलफूल, दुग्धपदार्थ, अन्डा, माछा, मासु, खानेपानी उत्पादन, बिक्रीवितरण तथा ढुवानी

– पेट्रोलियम पदार्थको ढुवानी र बिक्री वितरण

– सबै प्रकारका ढुवानी सेवा

– फोहोरमैला व्यवस्थापन

– विद्युत, दमकल, एम्बुलेन्स, सञ्चार तथा प्रसारण, हुलाक सेवा

– बैंक तथा वित्तीय संस्था, सहकारी र बिमा सेवा

– सबै प्रकारका कृषि तथा पशुपन्छी पालनसम्बन्धी कार्य

– कृषि बीउ बिजन, रासायनिक मल, कृषि औजार र शीतभण्डारसम्बन्धी सेवा तथा कार्य

– उत्पादनशील उद्योग

– निर्माण सामग्रीसम्बन्धी उद्योग व्यवसाय

– विकास आयोजना (निजी क्षेत्रका समेत)

– निर्माण कार्य (निजीसमेत)

– नदी तथा खानीजन्य पदार्थ उत्खनन्, संकलन, ढुवानी र बिक्रीवितरण

– रेस्टुरेन्टबाट हुने प्याकिङ तथा टेकअवे सेवा

– क्वारेन्टाइनका लागि तोकिएका होटल

– बिजुलीका सामान बिक्री र मर्मत

– विद्युतीय उपकरण, मेसिनरी र सवारी साधन मर्मत गर्ने वर्कसप

– पुस्तक पसल तथा स्टेसनरी

Back to top