×

वीरगञ्ज ३२ जेठ । - पर्साको पोखरियास्थित क्वारेन्टिनमा खटिएका ५ जना स्वास्थ्यकर्मी र एक जना एम्बुलेन्स चालक संक्रमित भएका छन् । नारायाणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणका क्रममा पर्साका १७ जना संक्रमित भेटिएका थिए ।

जसमध्ये पोखरिया नगरपालिकाबाट मात्रै १० जनामा संक्रमण देखिएको थियो । उनीहरु मध्ये ५ जना स्वास्थ्यकर्मी र एक जना एम्बुलेन्स चालकमा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले पुष्टि गरेको छ । बाँकी ४ जना संक्रमित भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । एम्बुलेन्स चालक शंकास्पद संक्रमित र संक्रमित पुष्टि भएका व्यक्तिहरुलाई अस्पताल पुर्‍याउने कार्यमा संलग्न रहन्थे ।

सक्रमित हुनेमा १ जना २५ वर्षीय हेल्थ असिस्टेन्ट, ४५, ३० र २४ वर्षका ३ जना अहेब, एक जना ३२ वर्षीया अनमी र ३५ वर्षीय एम्बुलेन्स चालक छन् । जिल्ला उचांगल रामदेव कलवार प्राविधिक विद्यालयस्थित क्वारेन्टिनमा राखिएका शंकास्पद संक्रमितको स्वास्थ्य उपचारमा उनीहरु खटिएका थिए ।

संक्रमित पुष्टि भएका स्वास्थ्यकर्मीहरु स्वास्थ्यचौकीमा समेत गएर स्थानीयको स्वास्थ्य चेकजाँचमा संलग्न हुने गरेको पाइएको छ । संक्रमित पुष्टि भएका चिकित्सकहरु क्वारेन्टिनमा खटिने पालो नपरेका दिन स्वास्थ्य चौकीमा गएर सर्वसाधरण बिरामीको स्वास्थ्य चेकजाँचमा संलग्न हुने गरेको पाइएको हो । संक्रमित स्वास्थ्यकर्मीहरु बैरियाविर्ता, सिवर्वा, सिर्सिया, लमहरिया लगायत स्वास्थ्य चौकीमा कार्यरत छन् ।

आफ्नो पेशागत धर्म निर्वाह गर्ने क्रममा संक्रमित भएको स्वास्थ्यकर्मीले बताएका छन् । तर उनीहरुले पोखरियामा ड्युटी सिस्टम गलत भएको र शंकास्पद संक्रमित अनुशासनमा नबसिदिँदा संक्रमित हुन पुगेको धारणा राखेका छन् । ०७६ चैत १६ गतेबाट पोखरियामा क्वारेन्टिन स्थापना गरिएको थियो । पोखरिया नगरपालिकाभित्र रहेका पाँच वटै स्वास्थ्य संस्थाबाट २/२ दिन स्वास्थ्यकर्मी खट्ने गरी बन्दोबस्ती मिलाइएको थियो ।

क्वारेन्टिनमा शंकास्पद संक्रमितलाई राखिन्छ । स्वास्थ्यकर्मीले उपचारका क्रममा आइसोलेसनमा जस्तै स्वास्थ्य सतर्कता अपनाउनुपर्ने हुन्छ । स्वास्थ्यकर्मीलाई भद्रगोल तरिकाले ड्युटीमा खटाइएको थियो ।

क्वारेन्टिनमा बसेकाहरु सामाजिक दुरी बनाउने, मास्क अनिवार्य लगाउने, साबुन पानीले नियमित हात धुने लगायतका कार्य गर्दै अनुशासनमा बस्नुपर्ने हुन्छ । स्वास्थ्यकर्मीहरुका अनुसार क्वारेन्टिनमा बसेकाहरु अधिकांश अनुशासित थिएनन् । स्वास्थ्यकर्मी बसेको ठाउँमा आइदिने, भनेको नमान्ने, उल्टै वादविवाद गरेर सताउने गर्थे ।

आसपास घर भएका स्वास्थ्यकर्मी क्वारेन्टिनमा नबसी घरबाटै आउने जाने गर्दै आएका थिए । कोरोनालाई जितेर ड्युटीमा फर्किन मन भएपनि फेरि सिस्टमेटिक नहुने हो कि ? भन्ने चिन्ता उनीहरुलाई छ ।

संक्रमित स्वास्थ्यकर्मी मध्ये रौटहट घर भई पोखरिया–६ सिर्सिया स्थित हेल्थ पोष्टमा कार्यरत अहेबले वैशाखदेखि नै सातामा एक दिन क्वारेन्टिनमा खटिएको बताए ।

‘क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य जाँचका लागि खटिएका थियौं । व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्री त लगाएकै हो । तर पनि कोरोना संक्रमित भएछु,’ एक संक्रमित अहेबले भने, ‘हप्तामा एक दिन मात्रै ड्युटी हुन्थ्यो, बाँकी दिन दैनिक उपभोग्य बस्तु किन्न बजार पनि गइन्थ्यो । कहाँ कसरी संक्रमण भएँ भनेर भन्न सक्ने अवस्था छैन ।’

उनी पीसीआर परीक्षण नगरी १२ दिन पहिले घरमा समेत पुगेर आएका थिए । पोखरिया नगरपालिकाका स्वास्थ्य संयोजक कौशलेन्द्र मिश्रले ७ जना स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गरिएकोमा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताए ।

‘पालैपालो ड्युटी गरौं भन्दा साथीहरु मान्नुभएन । सबै संस्थाबाट मिलाएर गरौं भन्नुभयो । त्यसैले हरेक स्वास्थ्य संस्थालाई दुई दिन ड्युटी गर्नुपर्ने गरि खटाएका थियौं,’ संयोजक मिश्रले भने, ‘भारतबाट मानिसहरु आएपछि कामको चाप बढ्यो, संक्रमणको जोखिम पनि बढी थियो । तर मानिसहरुले आफूहरु क्वारेन्टिनमा छु भन्ने महसुस नगरिदिँदा स्वास्थ्यकर्मी नै पिडित बन्नु पर्‍यो ।’

उनका अनुसार स्वास्थ्यकर्मीले भनेको कुरा क्वारेन्टिनमा बसेकाले नमान्ने गरेकोले चुनौती बढेको थियो । पोखरिया क्वारेन्टिनमा अहिले भारतबाट आएका र कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जनालाई राखिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले बताए ।

होम आइसोलेसनमा राख्न पाउनुपर्ने माग

संक्रमित मध्येकै ३२ वर्षीया अनमीको साथमा ४ वर्षको छोरा छ । वीरगञ्जमा घर भएकी उनको श्रीमान कवीराज हुन् । उनले श्रीमतिलाई अस्पतालको आइसोलेसनमा नलगी घरमै राख्ने व्यवस्था मिलाउन सके उत्तम हुने बताए ।

‘तातोपानीमा बेसार हालेर खान दिन सुरु गरिसकेको छु, दुध तथा बेसार खुवाउँछु । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने अन्य जडीबुटीको पनि व्यवस्था मिलाइसकेको छु,’ उनले भने, ‘योगामा पीएचडी गर्दैछु । उनलाई घरमै योगा गराउँथे । आइसोलेसनमा भन्दा घरमै राम्रो गर्न सकिन्थ्यो भन्ने छ ।’

Back to top