×

वीरगञ्ज ३१ जेठ । उपचारको क्रममा वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाराको निजगढ नगरपालिका वडा नम्बर ६ का पाँच वर्षीय बालकको उपचारको क्रममा ज्यान गएको हो ।

निमोनिया र उच्च ज्वरो आएपछि शुक्रबार उपचार गराउन आएका बालकको साँझ नै ज्यान गएको थियो । निमोनियाका कारण बालकको अवस्था गम्भीर बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

ती बालकको उपचारकै क्रममा अस्पतालले गरेको आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि नारायणी अस्पतालका चिकित्सकहरुलाई बोलाइएको थियो ।

त्यहाँबाट गएका चिकित्सकहरुले पनि गरेको आरडीटी परीक्षणमा बालकको पोजेटिभ रिपोर्ट आएपछि उनको स्वाब संकलन गरि पीसीआर परीक्षणको लागि लगिएको थियो ।

नारायणी अस्पतालमै गरिएको पीसीआर परीक्षणमा ती बालकमा कोरोना संक्रमण भएको पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए ।

Back to top