×

महामहिम प्रधानमन्त्री श्री नरेन्द्र दामोदरदास मोदी ज्यू, महामहिम ज्यू ! तपाईलाई आज म सानो देशको सानो गाउँबाट सानो मान्छेले चिठ्ठी लेख्न पाउँदा  म आफैले आफैलाई तपाईकै इष्ट देवता ‘जय श्रीराम’ (ईश्वर) सँग स्पर्श गरेको अनुभूती गरेको छु । मैले तपाईलाई उपदेश दिन त सक्दिन तर सुझाव र सुचना चाँहि दिन अवश्य सकिन्छ कि भन्ने आशले यो चिठ्ठी लेखिरहेको छु । त्यही हाम्रो पुर्खाको नासो कालापानी, लिपुलेक र लिम्पियाधुराकै कुरा हो । तपाईसँग हामीले जोरी खोजेको होईन महामहिम ज्यू । हामीले हाम्रो नक्साको सिमांकन मात्र गरेको हो । हाम्रो पुर्खाको बिरासतलाई संरक्षण मात्र गरेको हो । यो पुर्खाको धरोहरलाई हामीले जोगाउन सकेन भने हामीलाई भावि पुस्ताले सराप्ने छन् । धिक्कार्ने छन् । त्यसैले हाम्रो यो मातृभूमिलाई कसै बैरीले गिद्दे नजर मात्र लगाए पनि हामीलाई सह्य हुँदैन किनभने हाम्रा पुर्खाले बिस्तारवादी ब्रिटीसका बिरुद्वमा सिमानाको किल्लामा बगाएको रगत अझै आलै गनाईरहेको छ, महामहिम ज्यू । त्यसैले मेरा पुर्खाले सुरु गरेको राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई अहिलेसम्म पनि गोर्खालीले निरन्तरता दिईरहेका छन । गोर्खालीहरू अनाहकमा कसैसँग जोरी खोज्दैन तर कसैले जोरी खोज्यो भने पछि नहट्ने हाम्रो पुर्खौली परम्परा छ । महामहिम ज्यु तपाईहरुको सुरक्षाकर्मीको कतिसम्म ज़्यादती छ भन्ने कुरा म बसेको एउटा सानो गाउँ ठोरीको उदाहरण दिन चाहान्छौ । हुन त, यस्ता ठोरीको जस्तो बिवाद धेरै स्थानमा छन । तपाईको सुरक्षाकर्मीले कहिले पुल चल्न दिदैन । कहिले नेपालको बाटो भत्काउन आउँछन् । कहिले सिमानामा पोष्ट बनाउन आउँछ । कहिले जोगीको भेष बनाएर सीमा मिच्न आउछन । यो के हो महामहिम ज्यु ? के भारतको नीति नै यस्तो हो ? के सबैलाई छिमेकीसंग यस्तै ब्यवहार गर्नुपर्ने भन्ने प्रशिक्षण दिएका छन् ? महामहिमज्यू !  हामी प्रष्ट भन्न चाहान्छौ । सिमानामा यस्तो हर्कत हामीलाई पनि कदापि सह्य हुँदैन । अंग्रेजले बलात्कार गरेर छोडीएको देशलाई त ‘मेरा भारत महान हे’ भनेर त्यत्रो माया लाग्छ भने हाम्रो देश संसारमा नै शुद्ध कसैले छुन नसकेको नेपाललाई कति माया लाग्छ होला ? त्यसैले सिमानामा धेरै रवाफ नदेखाऊ । हो, हाम्रा पुर्खाले हामीलाई समृद्वि दिन सकेनन । सम्पन्नता दिन सकेनन तर हाम्रा पुर्खाले एउटा असल मातृभूमि दिएर गएकोमा हाम्रा पुर्खा प्रति हामी गर्व गर्छौ । विश्वमा गोर्खाली जातीले एउटा सर्वभौमसत्ता राष्ट्र राख्न सकेकोमा हाम्रो देश र हाम्रा पुर्खा प्रति हामीलाई गौरव गर्छौ । यो गोर्खालीको लागि कहिल्यै भुल्न नसक्ने पुर्खाको बिरासत हो । त्यसैले राष्ट्रीयता, स्वाभिमान र राष्ट्रीय अखंडताको विषयमा हामी गोर्खालीहरु धेरै सम्वेदनसिल र भावुक छौं । गोर्खालीले आफूले आफैलाई बिर्सन सक्छ तर यो पुर्खाको चिनोलाई बिर्सन सक्दैन । त्यसैले यो राष्ट्र बचाई राख्न आजको पुस्ता पनि त्यति कै ज़िम्मेवारी र गम्भीर रहनु हाम्रो प्रमुख दायित्व सम्झेको हो । हाम्रा पुर्खाहरुले भन्नु हुन्थ्यो “दक्षिणको छिमेकीसँग जहिले पनि होसियार रहनु” त्यसैले महामहिम ज्यू होसियारी मात्र अपनाएको हो । किनभन्ने विगतको तपाईहरुको ब्यवहार हेर्दा पनि त्यस्तै देखिन्छ । सन् १९४७ मा स्वतन्त्र देश जम्मु कश्मीर र हैजरवादलाई जवाहरलाल नेहरुले भारतमा विलय गरेर बिस्तारवादको चरित्र देखाए । त्यस्तै पछि इन्दिरा गान्धीले सन् १९७५ मा स्वतन्त्र देश सिक्किमलाई भारतमा विलय गरेर बिस्तारवादको दुनियाँ अर्को कीर्तिमान रचे । तपाई पनि आधुनिक भारतको सबैभन्दा चर्चित अनि शक्तिशाली प्रधानमन्त्री भन्छन् । तपाई पनि सिंह जस्तो गर्जिरहनु भएको छ । त्यसैले महामहिम ज्यू, हामीलाई शंका लाग्न थाल्यो । सिक्किम, जम्वु कश्मीर र हैजरवादलाई निलेर इन्दिरा र नेहरुले विस्तारवादी इतिहास रचे जस्तै कतै आफुलाई शक्तिशाली देखाउन तपाई पनि कहिं  इन्दिरा र नेहरुकै बाटो रोजेको त होईन ? यदि त्यस्तो ‘कु’ बाटो रोज्यो भन्ने त्यो तपाई र तपाईको देशलाई आजसम्म कै सबैभन्दा ठूलो घात हुन्छ। विश्वमा विस्तारवादको युग चल्दा समेत हाम्रा पुर्खाले जोगाएर राखेको मुलक हो यो । गोर्खालीले बिस्तारवादबिरुद्व हिजो पनि लडेकै हो, आज पनि लड्न तयार छ । मातृभूमिको लागि गोर्खालीले एक थोपा रगत रहुन्जेल युद्वको मैदानमा बैरीसँग लडाई लड्न छोड्ने छैन । महामहिम ज्यू, अरु छिमेकी देश निलेको जस्तो नेपाललाई सोच्नु भएन । बिस्तारवादी अंग्रेजको नीतिलाई समेत अस्वीकार गरेर, अंग्गुरेजलाई अस्वीकार गरेर युद्व रोज्ने गोर्खाली जाती हो हामी । सानो देश भनेर हेप्नाले गर्दा अग्रेजले अनुभवी लड़ाकु युद्व सेनापति जनरल जिलेस्पीले युद्वको मैदानमा देह त्याग्नु पर्यो । र, गोर्खालीको बहादुरीलाई अग्रेजले स्वीकार गरि सन् १८१६ मा सुगौली सन्धी गर्न बाध्य भएको इतिहास साक्षी छ । महामहिम ज्यू, अहिलेको नेपाल भारतको समस्याको समाधान पनि त्यही सुगौंली सन्धीमा उल्लेख छ । बिज्ञहरुलाई राम्रोसँग पढ्न लगाउनु होस् । सन्धीको धारा ५ मा नेपालले काली नदीको पश्चिमको भूभाग सबै त्याग्नुपर्ने छ भन्ने उल्लेख गरेको हुँदा काली नदीदेखि पूर्वको भागमा पर्ने कालापनी,लिपुलेक र लिम्पियाधुरा नेपालमा भएको यथेष्ट प्रमाण भएन महामहिम ज्यु ? अनि के को लफड़ा ? के मा भयो समस्या ? यसले तपाईको छविमा आँच पुगिरहेको छ। आफ्नो सेना आफ्नै भूमिमा पर्काएर समस्या समाधानको बाटो रोज्दा राम्रो हुन्छ । फेरि महामहिम ज्यू, तपाईले त नेपाललाई “हमरा लिए नेपाल तिर्थधाम हे” भन्नुहुन्छ । यदि नेपाल तिर्थधाम हो भन्ने तपाई तिर्थधाम जादा मंदिरको घण्टी राम्रो लाग्यो भनेर झोलामा राख्न खोज्नु भयो भन्ने पुजारीले के गर्छ ? आफुसँग भएको चिम्टा निकालेर तपाईको टाउकोमा हिर्काउने छ । तपाई जति सुकै ठुलो मान्छे किन नहोस् । अर्को पटक तपाईलाई मन्दिरको ढोका बन्द हुन्छ । त्यसपछि कहाँ गयो तपाईको धर्म ? अनि कहाँ गयो तपाई त्यागपूर्ण सन्यासी जीवन ? तिर्थ जाँदा सकिन्छ, दान दिएर आउने सकिंदैन लोभ गर्नु हुदैन महामहिम ज्यू । तिर्थस्थलको समान राम्रो देख्यो भनेर नजर मात्र लगाउनु समेत पनि भक्तजनको लागि महापापा हो महामहिम ज्यू । महामहिम ज्यू, तपाईहरुकै परराष्ट्र विद्वले “नेपाल-भारत रोटीबेटीका सम्वन्ध हे” भन्नु हुन्छ । तर ब्यवहार भन्ने त्यस्तो देखिंदैन । हुन सक्छ, भूगोलले नेपाल सानो राष्ट्र हो । तर यो एउटा स्वतन्त्र सर्वभौमसत्ता सम्पन्न राष्ट्र हो । भारतको जतिकै हैसियत राख्ने राष्ट्र हो यो । भारतको भाई नेपाल होईन र नेपालको दाई भारत पनि होईन । यो हेपाहा प्रवृत्ति मुख्य कारण हो । समान हैसियतले नेपालसँग ब्यवहार गरौँ । आधा समस्या त्यतिकै हल हुन्छ । र, सिमानाको विषयमा छिटो भन्दा छिटो दुबै देशका प्रतिनिधी बसेर छलफल गरौं । आलटाल नगरौं । त्यसपछि महामहिम ज्यूले सेनालाई आफ्नो देशमा फिर्ता बोलाउन हिम्मत राख्नुहोस् । समाधानले बाटो आफै कोर्दै हिड्छ । सदियौंदेखि नेपाल भारतको सिमानाको समस्या सदाको लागि अन्त्य हुन्छ । त्यसपछि महामहिम ज्यू, तपाई दुई देश मात्र होईन अन्तर्राष्ट्रियस्तरमा नै हाईट बढ्ने छ । नेपाल-भारतको सम्वन्धको बिषयमाबीचमा ट्याउट्याउ कराउने तपाईलाई मन नपर्ने तेस्रो पक्ष भनिनेको बोली पनि बन्द हुनेछ । तपाईको तिर्थधाममा पनि तपाईको जय जयकार मनाउनेछ । महामहिम ज्यु, यो हिम्मत निकाल्नुहोस् । इतिहासलाई हामी सच्चाउन सकिंदैन तर इतिहासबाट सिक्न सकिन्छ । यहि हो इतिहासबाट सिक्ने समय । इतिहासमा गरेको गल्तीलाई इतिहासमा नै सच्याउन नसके पनि इतिहासबाट सिकेर आज नेपाल भारतबीच भएको कमी-कमजोरीलाई सच्याउन सकिने समय आएको छ । तपाईले फेरि सुनौलो इतिहास रच्ने समय आएको छ । तपाईकै कोर्टमा छ बल, हान्नुहोस् । अनि नेपाल भारतको सम्वन्धलाई अमर बनाउनुहोस् । दुनियाँमा नेपाल भारतको सम्वन्ध उदाहरणीय बनाएर देखाउनुहोस् । समय आएको छ, पर्खिदैन । यो मेरो सुझाव मात्र हो । बाँकी महामहिम ज्यूको बिचार । नेपाल भारतको सीमा समस्या समाधान भए फेरि एउटा शुभकामना पत्र लेखौंला । जय नेपाल ।

सन्तोष श्रेष्ठ नेपाल

Back to top