×

वीरगञ्ज, जेठ १७ – वीरगञ्ज महानगरपालिकाले पिसिआर मेशीन खरिदका लागि आह्वान गरेको कोषमा हालसम्म ६ लाख ८ हजार ६ सय ५२ रकम सङ्कलन भएको छ ।

केन्द्रिय तथा प्रदेश सरकारले सहयोग नगरेपछि परिक्षणको दायरा बढाउनका निमित्त महानगरका नगरप्रमुख विजयकुमार सरावगीले पिसिआर मेशिन खरिदका लागि सहयोग आह्वान गर्नुभएको थियो ।

नगरपालिकाले नै पिसिआर मेशिन खरीद गर्ने निर्ण गरेपछि त्यसमा विभिन्न सङ्घ संस्था तथा शुभेच्छुकहरुले हातेमालो गरेका छन् ।

केन्द्रिय तथा प्रदेश सरकारको सहयोग बिनानै आफै पिसिआर मेशिन खरिद गर्न आँट मेयर सरावगीले गरेपछि यसमा सामाजिक सङ्घ संस्था तथा समाजसेवीहरु अग्रसर भएका हुन् ।

प्याब्सन पर्साले नगद रु. ५१ हजारको चेक सहयोग गरेको छ । यसअघि पिसिआर मेशिन खरिदका लागि प्राइवेट बोर्डिंग स्कुलहरुको संस्थाले नगद रु ५१ हजार, नेशनल एकेडेमी क्याम्पसले नगद रु २५ हजार, श्रवन कुमार महतोले रु ५ हजार १, निर्मलादेवी जयन्तीले ५१ हजार, सिकारीया वित्तिय सहकारी संस्थाले रु ५१ हजार, मेरुदय लघुवित्त बिकास बैंकले नगद रु १० हजार, क्रियश्चिन समाज पर्साले नगद रु २६ हजार ५ सय, मधु राणाले नगद रु ३५ हजार, सानो पाइला बचत तथा ऋण सहकारी संस्थाले नगद रु ५१ हजार १ सय ५१, एसियन लाइफ इन्सुरेन्ट कम्पनि लिमिटेड वीरगञ्ज शाखाले नगद रु १ लाख ५१ हजार, भगवति इन्डष्ट्रिज प्राइवेट लिमिटेडले १ लाख १ हजार सहयोग गरेको नगरप्रमुखको सचिवालयका अधिकृत राकेश मिश्राले जानकारी दिनुभयो ।

सहयोग आह्वान गरेको दिनदेखी हालसम्म यति रकम मात्रै संकलन हुनुको पछाडी धेरैले साधारण विषयको रुपमा लिएको हुँदा यसलाई साधारण नसोचेर सहयोग गरी पिसिआर मेशन खरिदमा हातेमालो गर्न पनि नगरप्रमुख सरावगीले अपिल गर्नुभएको छ ।

मेयर सरावगीले हालसम्म अपेक्षा अनुसारको रकम सङ्कलन नभएको हुँदा सबैले सहयोग गर्न आग्रह गर्नुभएको हो ।

Back to top