×

बारा १६ जेठ । भारतमा तीव्ररूपमा कोरोना संक्रमण फैलिएपछि रोजगार तथा अध्ययनका लागि भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढेसँगै भारतबाट आएका नागरिकलाई स्वास्थ्य परीक्षणबिना भित्र्याइँदा यहाँ जोखिम बढेको हो ।

कोरोना भाईरसबाट संक्रमितको संख्या बढ्न सक्ने अवस्थालाई मध्येनजर गर्दै बारामा आईसोलेसन क्षमता बिस्तार गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सम्पन्न विपद् ब्यवस्थापन समितिको बैठकले सम्भाबित जोखिमलाई मध्येनजर गर्दै प्रत्येक उपमहानगरपालिकाले ५०, नगरपालिकाले २५ र गाउँपालिकाले १० शैयाको आईसोलेसन निर्माण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो । कुल ५५ जना संक्रमित रहेको जिल्लामा हाल स्थानीय तहहरुले निर्माण गरेका ३३ र जिल्ला अस्पताल कलैयामा ५० गरि ८३ शैयाको आईसोलेसन निर्माण गरिएको छ ।

तर भारतमा रोजगारीका लागि गएकाहरु फर्किने क्रम नरोकिकाले संक्रमितको संख्या अझै बढ्न सक्ने भन्दै बैठकले आईसोलेसन क्षमता बिस्तार गर्ने निर्णय गरेको हो । त्यसैगरी बिभिन्न स्थानिय तहमा सञ्चालित क्वारेन्टाईनलाई मापदण्डअनुरुप ब्यवस्थापन गर्ने निर्णय गरिएको पनि प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो ।

Back to top