×

वीरगंज १६ जेठ । सरकारले राष्ट्रिय गौरबको आयोजनाको रुपमा राखेको वीरगञ्ज–ठोरी हुलाकी सडक निर्माणको काम निर्माण सामग्री अभाबमा ठप्प भएको छ ।

लक डाउनका बेला पनि सरकारले राष्ट्रिय गौरबका काम मध्ये हुलाकी सडक निर्माण गर्न भनेको भए पनि आवश्यक निर्माण सामग्री उपलब्ध नहुँदा काम रोकिन पुगेको हो ।

वीरगंजको प्रतिमा चोकदेखि ठोरीसम्म ६० किलोमिटर हुलाकी सडकमध्ये वीरगन्जदेखि पर्साको सेढवासम्मको ३० किलोमीटर सडक निर्माण गर्न सामग्री अभाव भएको निर्माण कम्पनीले जनाएको छ । ३० किलोमिटरमध्ये ५० प्रतिशतभन्दा बढी काम भइसकेको भए पनि बाँकी काम अघि बढाउन आवश्यक सामग्री उपलब्ध नहुँदा काम रोकिएको निर्माण कम्पनीले जनाएको छ ।

गिटी बालुवा तथा ग्राभेलका लागि आवश्यक पर्ने निर्माण सामग्री पर्साकै जमुनियाँ खोलाबाट उत्खनन् गरेर निकाल्दै आएकोमा अहिले भने रोक लगाएपछि निर्माण सामग्रीको अभाव भएको हो ।

समन्वय समिति र गाउँपालिकाबीच आरोप प्रत्यारोप

निर्माण कम्पनीले पर्साको सखुवा प्रसौनी र पटेर्वा सुगौली गाउँपालिकाबीचमा रहेको जमुनियाँ खोलाबाट गएको वर्ष आवश्यक गिटी बालुवा निकालेर निर्माण कार्यमा प्रयोग गर्दै आएको थियो । तर चालु आर्थिक वर्षमा भने अहिलेसम्म नदी उत्खनन्का लागि टेण्डर नहुँदा आवश्यक गिटी बालुवा निकाल्न सकेको छैन ।

गएको वर्ष साँझेदारीमा पटेर्वा सुगौली गाउँपालिकाले नदी उत्खनन्का लागि ठेक्का लगाएको थियो । तर यस वर्ष भने अहिलेसम्म ठेक्का लाग्न सकेको छैन ।

जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मदका अनुसार दुवै गाउँपालिकाबीचको विवादका कारण नदीको आईई प्रतिवेदन अझै सम्म हुन सकेको छैन ।

‘आईई प्रतिवेदन स्वीकृत नभएसम्म नदीजन्य वस्तु उत्खनन् गर्न नपाइने भएकाले अनिवार्य आईई गराउनु पर्ने कानुनी प्रावधान छ,’ उनले भने ।

दुबै गाउँपालिकाले एउटै नदीको लागि आईई प्रतिवेदन तयार पार्न निवेदन दिएकाले विवाद देखिएको उनले बताए ।

पहिले दुबै गाउँपालिका मिलेर आउन आफूहरुले भनेको तर अहिलेसम्म मिलेर नआएकाले प्रस्ताव तयार पार्न अनुमति नदिएको स्पष्ट पारे ।

तर गाउँपालिकाले भने आफूहरुबीच कुनै विवाद नै नरहेको र जिल्ला समन्वय समितिको बदमासिकै कारण नदी उत्खनन कार्य हुन नसकेको जनाएको छ ।

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले आफूहरुले आईई प्रतिवेदन तयार पार्न आर्थिक वर्षको सुरुवातमा नै अनुमति मागेको भए पनि जिल्ला समन्वय समितिले अझै सम्म अनुमति नदिएको बताए ।

‘समन्वय समितिले उचित समन्वय नै गरेन, उसकै बदमासीका कारण पूरै जिल्लाको विकास निर्माणको काम ठप्प हुन पुगेको छ,’ जयसवालले भने ।

पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले पनि जिल्ला समन्वय समितिकै कारण काम अड्किएको बताए ।

गएको वर्ष दुबै गाउँपालिकाले आपसी सहमतिमा बाँडफाँड गरेर नदी उत्खननको ठेक्का लगाएका थिए । पटेर्वा सुगौलीले लगाएको ठेक्कामा सखुवा प्रसौनी गाउँपालिकाले पनि सहयोग गरेको थियो । त्यसबेला सखुवा प्रसौनी र पटेर्वा सुगौलीबीच ६५÷३५ को बाँडफाँडमा पटेर्वा सुगौलीले ठेक्का लगाएको थियो ।

अहिले पनि चालु आर्थिक वर्षको सुरुमै जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा गएको वर्ष जसरी नै ठेक्का लगाउन दुबै गाउँपालिकाले सहमति गरेको सखुवा प्रसौनीका अध्यक्ष जयसवाल बताउँछन् । तर सहमति गरेर आईईका लागि अनुमति माग्दा समन्वय समितिले अनुमति नै नदिएको उनले बताए । हरेक दुई दुई वर्षमा आईई गर्नु पर्ने व्यवस्थाका कारण आईईका लागि अनुमति मागेको पनि जयसवालले प्रष्ट पारे ।

एक पटक आईई गरिसकेपछि पटक पटक गरिरहनु पर्दैन

एउटै आयोजना सम्पन्न गराउँदा पटक पटक ईआए र आईई गराईरहनु पर्दा निर्माणको काम समयमै हुन नसकेको भन्दै २०७२ मा सरकारले एक पटक ईआए र आईई स्वीकृत गराएपछि पटक पटक गराईरहनु नपर्ने निर्णय गरेको थियो । त्यसै अनुरुप अहिले विभिन्न ठाउँमा सरकारले अघि बढाएका आयोजनाका कामहरु भइरहेका छन् ।

२०७२ मा मन्त्रिपरिषद् बैठकले पारित गरेको निर्णय अनुसार नेपाल सरकारका विकास आयोजनाहरुले आयोजनाको लागि वातावरणीय परीक्षण (ईआए) गर्दाका बखत नै आयोजनालाई चाहिने निर्माण सामग्रीको उत्खनन, संकलन गरिने स्थलको समेत ईआए÷आईईमा समावेश गर्नु पर्ने उल्लेख गरेको थियो । त्यसरी गरिएको ईआए÷आईई स्वीकृत भइसकेपछि सो सम्बन्धी उत्खनन् संकलन गर्ने कार्यका लागि छुट्टै ईआए÷आईई गरिरहनु नपर्ने निर्णय नै सरकारले गरेको थियो ।

तर पर्सा जिल्लामा भने सरकारको निर्णय विपरित आईई गर्नु पर्ने भन्दै जिल्ला समन्वय समितिले अड्को थापेर बसेको छ । पटक पटक आईई गर्नु नपर्ने तर नियमानुसार सम्बन्धित जिल्ला समन्वय समितिलाई राजश्व भने बुझाउनु पर्ने निर्णयमा भनिएको छ ।

गाउँपालिका र जिल्ला समन्वय समितिबीचको विवादका कारण पूरै जिल्लाको विकास निर्माण कार्य ठप्प अहिले ठप्प जस्तै बनेको छ । जमुनिया खोला नै यस क्षेत्रको सडक निर्माणका लागि चाहिने ढुंगा, गिटी, बालुवा र माटो उत्खननको एक मात्र श्रोत हो । यस खोलाबाट अहिले कुनै पनि सामाग्री झिक्न नपाउँदा सरकारको राष्ट्रिय गौरबको आयोजनामा रहेको हुलाकी सडक निर्माण कार्य पनि ठप्प बनेको हो ।

उत्खनन्का लागि पटक पटक पत्राचार

वीरगंजदेखि सेढवासम्मको ३० किलोमिट हुलाकी सडक निर्माणका लागि चाहिने नदीजन्य सामान उपलब्ध गराउन हुलाकी राजमार्ग निर्देशनालयले सम्बन्धित कार्यालयलाई पटक पटक पत्राचार गरेको छ ।

निर्देशनालयले जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला समन्वय समिति, जिल्ला बन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका सम्बद्ध कार्यालयलाई पत्राचार गर्दै सडक निर्माण कार्यमा आवश्यक सहयोग गरिदिन भनेको छ ।

पत्रमा राष्ट्रिय गौरबको यस सडकमा निर्माण सामग्री निकाल्ने अनुमति नमिल्दा आयोजना सम्पन्न गर्न कठीनाई भइरहेकाले जमुनिया खोलाबाट आवश्यक निर्माण सामग्री नियमानुसार दस्तुर लिई निर्माण कार्यमा सहयोग पुर्याउन आग्रह गरिएको छ ।

निर्देशनालयले पटक पटक सहयोगका लागि पत्राचार गरे पनि आर्थिक वर्ष सकिन लाग्दासम्म नदी उत्खनन्का लागि कतैबाट पनि सहयोग हुन सकेको छैन ।

नदीजन्य सामान अभावमा अहिले काम गर्न कठीनाइ भएको निर्माण कम्पनीले जनाएको छ । गएको आर्थिक वर्षमा त्यही खोलाबाट ढुंगा, गिटी, बालुवा तथा माटो झिकेर सडकमा प्रयोग गरिएकोमा यस वर्ष प्रयोग गर्न नपाउँदा काम अगाडि बढाउन नसकेको निर्माण कम्पनीको भनाई छ ।

३० किलोमीटर सडकखण्डको स्तरोन्नतिको ठेक्का एक अर्ब ३२ करोड रुपैयाँमा लागेको थियो । ३० महीनामा काम पूरा गर्ने गरी २०७४ कात्तिक तेस्रो सातादेखि काम सुरु भएको यो सडक २०७७ जेठ १८ सम्ममा सक्ने समयसीमा तोकिएको छ । तर निर्माण सामग्री अभावमा काम अघि बढ्न नसकेको निर्माण कम्पनीले पटक पटक जानकारी गराइसकेको छ ।

Back to top