×

वीरगञ्ज, जेठ १६ - वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) विजयकुमार सरावगीले राजीनितिक षड्यन्त्र गरेर आफुलाई बद्नाम गराउन खोजिएको आरोप लगाएका छन् ।

शुक्रबार वीरगञ्ज महानगरपालिकाका मेयर सरावगी र पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार (मन्टु) बीच भएको फोन सम्बाद भाइरल भएपछी मेयर सरावगीले यस्तो प्रतिकृया दिएका हुन् ।

'मैले केहि समय अगाडी सञ्चार माध्यमहरु मार्फत पोखरियामा ८ सैयाको आइसोलेसन निर्माण भएको खबर प्राप्त गरेको थिए, सरावगीले भने, 'त्यसैलाई आधार मानेर मैले मन्टु जीसँग पोखरियामा बिहीबार भेटिएका सङ्क्रमितहरुको उपचार त्यही गर्न अनुरोध गरेको हो, अब यो कुराको अडियोलाई भाइरल बनाई बङ्ग्याएर मेरो विरुद्ध षड्यन्त्र गरिँदै छ ।'

मेयर सरावगीले पर्साका अन्य स्थानीय तहहरुसँग समेत कोरोनाभाइरस रोकथाम र सङ्क्रमितहरुको उपचारका लागि सहकार्य गर्न आग्रह गरेको बताए । उनले केहि स्थानीय तहहरु राजि समेत भएको दावी गरे ।

'केहि स्थानीय तहहरुसँग समन्वयको कुरा चल्दै छ, केहि त सहयोग गर्न राजि समेत भएका छन् । मन्टु जीसँग पनि मैले यहि भनेको छु, अडियो सुन्दा यो कुरा प्रष्ट हुन्छ, खै यसलाई बङ्ग्याएर म माथि किन षड्यन्त्र गरिँदै छ?, मेयर सरावगीले प्रश्न गरे ।'

मेयर सरावगीले पोखरियाका मेयर रौनियारलाई शुक्रबार पोखरियामा भेटिएका सङ्क्रमितहरुको उपचार आफ्नै नगरपालिकामा रहेको पोखरिया अस्पतालस्थित आइसोलेसनामा गर्न अनुरोध गरेको फोन सम्बादको अडियो भाइरल भएको छ । मेयर सरावगीले वीरगञ्ज महानगरपालिकासँग भएको साधन र स्रोत सिमित रहेकोले पोखरिया अस्पताल मै निर्माण गरिएको ८ सैयाको आइसोलेसनमा पोखरियामा भेटिएका सङ्क्रमितहरुलाई राखेर उपचार गर्न अनुरोध गरेका थिए ।

सम्बादमा मेयर सरावगीले पोखरिया नगरपालिका मेयर रौनियारलाई भनेका छन्, 'वीरगञ्जमा विगत ६०/६५ दिन देखि प्रदेश भरीका कोरोना सङ्क्रमितहरुको उपचार हुँदै छ, हाम्रो साधन र स्रोत सिमित छन्, कति दिन सम्म हामीले सबैको जिम्मा लिने? अब तपाईहरुले आफ्नो स्थानीय तहमा भेटिएका सङ्क्रमितहरुको व्यस्थापन आफै गर्नु पर्यो । व्यस्थापन गर्न सक्नु हुन् भने सहकार्य गर्नुस ।'

फोन सम्बादमा सरावगीले सङ्घ र प्रदेश सरकारको सहयोग बिना महानगरपालिका कार्यालयले प्रत्येक दिन क्वारेन्टाइनमा रहेका व्यक्ति, कोरोना सङ्क्रमितहरु, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यवस्थापनमा लाखौँ रकम खर्च गरिरहन परेको भनेका छन् । 'सङ्घ र प्रदेश सरकारको सहयोग बिना नै हामीले प्रत्येक दिन लाखौं रकम खर्च गरेर व्यस्थापन गर्दै छौँ, अब तपाईंहरुले पनि सहयोग गर्नु पर्यो नभए हामी धन्न सक्दैनौ ।'

मेयर सरावगीले रौनियारलाई गण्डक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितहरुलाई शनिबारसम्म पोखरिया मै रहेको आइसोलेसनमा लैजान आग्रह गरेका छन् । उनले स्थानीय तहहरुले सहकार्य नगेर आफुले अब वीरगञ्ज बाहेकका सङ्क्रमितहरुको उपचार गर्न नसक्ने प्रष्ट पारेका छन् ।

यस्तो छ मेयर सरावगी र रौनियार बीचको फोन सम्बाद:

https://www.facebook.com/yatradaily/videos/3286495021384450/

Back to top