×

वीरगञ्ज, जेठ १२ - वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीहरू आफैँले अस्पताल हाताभित्र सरसफाइ गरेका छन् । संक्रमितहरूले आफू बस्ने आइसोलेसन वार्ड, बाथरुम र ट्वाइलेट गरेका हुन् ।

अस्पतालले गाइने वार्डको तीन वटा कोठालाई आइसोलेसन वार्ड बनाएर २३ जना संक्रमितलाई राखेको छ । अस्पतालमा भर्ना भएयता अहिलेसम्म एकपटक पनि आइसोलेसन वार्ड, बाथरुम र ट्वाइलेट सरसफाइ नगर्दा थप संक्रमण हुने डर भएपछि आफूहरूले नै सरसफाइ गरेको एक संक्रमितले बताए ।

‘राम्रोसँग सरसफाइ गरिदिन अस्पताल प्रशासनलाई पटक-पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि हामी आफैँले सफा गर्यौं,’ ती संक्रमितले भने । अर्का संक्रमितले भने, ‘सर्फ र पानी हालेर तीनवटा आइसोलेसन वार्ड, गल्ली, बाथरुम र ट्वाइलेट सफा गर्यौं । सरसफाइको क्रममा कसैले झाडु लगाउने, कसैले पानी हाल्ने, कसैले पोछा लगाउने काम गर्यौं ।’

आफूहरूको यो कामले अस्पताल प्रशासनलाई दबाब पुग्ने उनको विश्वास छ ।

‘वार्डमा रहेको शौचालयको फोहोर र दुर्गन्धले अरू रोगको संक्रमण बढ्ने त्रास संक्रमितहरूमा पर्न गएको छ,’ उनले भने, ‘अस्पतालको अटेरीपनाका कारण केही साथीहरूलाई झाडापखालको समेत समस्या देखियो । आजको हाम्रो कामले अस्पताल प्रशासनलाई दबाब सिर्जना हुन्छ कि भन्ने सोचेका छौं ।’

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदन उपाध्यायको लापरवाहीका कारण अस्पतालमा कोरोना संक्रमितहरुलाई यस्तो समस्या भोग्नु परेको हो । अस्पतालमा कोरोना संक्रमितहरुलाई कुनै सुविधा उपलब्ध गराउन मेसु उपाध्यायले असक्षम भएका छन् ।

संक्रमण हुने डरले आइसोलेसन कक्षमा स्वास्थ्यकर्मीदेखि सरसफाइ कर्मचारी प्रवेश गर्दैनन् । संक्रमितमध्येका अर्का व्यक्तिले भने, ‘सरसफाइ त टाढाको कुरा हो । हामीमा ज्वरो आएको छ कि छैन भनेर जाँच्नसमेत चिकित्सकको टोली आउँदैन ।’

संक्रमितहरुका अनुसार उनीहरुको उपचारका लागी चिकित्सक पनि आउँदैनन् । अस्पतालले स्वास्थ्यकर र पौष्टिक खान समेत उपलब्ध गराउन नसकेपछि सानो पाइला नामक सामाजी संस्थाले हाल आफ्नो खर्चमा संक्रमितहरुका लागि भोजन उपलब्ध गराउँदै आएको छ । कोरोनासँग लड्न अस्पतालसँग करोडौंको बजेट रहेपनि मेसु उपाद्याय्को नेतृत्वमा रहेको अस्पताल साबि पक्षबाट फेल भएको प्रष्ट हुन्छ । अस्पतालको प्रशासनमाथी कोरोना संक्रमितहरुको उपचारका लागि आएको रकममा भ्रष्टाचार गरेको समेत आरोप छ ।

Back to top