×

वीरगञ्ज, जेठ ८ - भारत रक्सौलको हजारीमल क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई माथिको आदेश नआएको भन्दै भारतीय सुरक्षाकर्मीले स्वदेश प्रवेशमा रोक लगाएका छन् ।

बुधबार रक्सौलमा रोकिराखिएका २५ जिल्लाका २ सय २२ जना नेपालीलाई स्वदेश भित्र्याइने जिल्ला प्रशासन कार्यालय पर्साको तयारी हुँदापनि भित्रिने कुरा अन्यौल पूर्ण हुदाँ उनीहरु स्वदेश फर्किन नपाएका हुन्।

रोजगारीका लागि भारत गएका नेपाली नागरिकहरु कोरोना भाइरसको संक्रमण बढेसँगै लकडाउनका कारण सिमावर्ती सहर रक्सौल नाका आइपुग्दा लामो समयदेखि त्यहाँको क्वारेन्टाइनमा बस्नुपरेको छ।

केन्द्र तथा राज्य सरकारसँग समन्वय गरी जिप्रका पर्साले दुवैतर्फका क्वारेन्टाइनमा रोकिएका नागरिक आफन्तको जिम्मा लगाउने सहमति भएको थियो।

जसले गर्दा वीरगञ्जको विभिन्न क्वारेन्टाइन तथा भारतीय जमाति र आफन्तको सम्पर्कमा रहेका २ सय १० जना भारतीय नागरिकलाई मंगलबार भारत सरकारकाे जिम्मा लगाइएको थियो ।

तर, बुधबार भारत सरकारले जिप्रका पर्सा मार्फत् नेपाल सरकारलाई २ सय २२ जना नेपाली जिम्मा लगाउने भनिएपनि सीमावर्ती सहर रक्सौलस्थित पूर्वी चम्पारणका कर्मचारीहरुको आपसी तालमेल नमिल्दा बिहानैदेखि सीमामा पुगेको नेपाली टोली दिनभर रोकिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले बताए ।

‘हामी यताबाट भारतीय नागरिकलाई पठाएर आफ्नो देशका नागरिक ल्याउन तयार छौं । सोही अनुसार भारतीय सीमा सुरक्षा बल तथा त्यहाँका डिएमसँग सहमति भएको हो । तर सहमति अनुसार भारतीयलाई फिर्ता पठाएर नेपाली नागरिकलाई ल्याउने तयारी पुरा भएपनि स्वदेश भित्रिने कुरामा अन्यौल उत्पन्न भएको छ,’ उनले भने ।

बैठक बसेर नेपाली फर्काउने भनेपनि आफूलाई कुनै जानकारी नआएको उनले बताए।

नेपाल भित्रिन लागेकाहरुमा पर्साका ४२ जना, पश्चिम रुकुम र बाराका २३/२३ जना लगायत अन्य २५ जिल्लाका नेपाली नागरिक रहेको सहायक प्रजिअ बस्नेतले बताए ।

भारतीय सुरक्षाकर्मीले आफ्नै नागरिकलाई लखेट्यो

मंगलबार वीरगञ्जबाट २ सय १० जना भारतीय नागरिकलाई भारत सरकारको जिम्मा लगाएपछि बुधबारदेखी सयौँको संख्यामा रहेका भारतीय आफ्नो देश फिर्ता हुन विभिन्न जिल्ला हुँदै आईसीपीमा पुगेका छन् ।

आईसीपीमा पुगेका भारतीय नागरिक भारततर्फ प्रवेश गर्न खोजेपछि भारतीय सुरक्षाकर्मीका टोलीले आफ्नै देशका नागरिकलाई नाकाबाट लखेटको छ । जसकारण आक्रोशित भारतीयहरु भारत सरकारको विरोधमा नारावाजी गर्दै छन् ।

नाकामा आएर अलपत्र परेपछि उनीहरुलाई सो क्षेत्रका स्थानीयले खानाको व्यवस्था गरेका छन् । यस बिषयमा जिल्ला प्रशासन कार्यालयमा बुझ्दा अहिले भारतीय प्रशासनबाट कुनै आधिकारीक जानकारी नआएको हुँदा उनीहरुलाई पठाउन समस्या भएको सहायक प्रजिअ बस्नेतले बताए ।

विएल नेपालमा यो समाचार विमला गुप्ताले लेख्नु भएको छ ।

Back to top