×

वीरगन्ज ८ जेठ । काठमाडौंबाट प्रसारण हुने एक टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा मधेशी समुदायको अपमान गरेको भन्दै कार्यक्रममा संलग्नहरूलाई कारवाही गर्न प्रदेश २ सरकारले माग गरेको छ ।

सरकारका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले संघीय सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बुधबार एक पत्र लेख्दै कृषि टेलिभिजनको ६ जेठमा ‘कोरोना बिर्साउने गफगाफ’ कार्यक्रममा प्रस्तुत गरिएको भाषा र सांकेतिक हाउभाउले मधेशी वर्गलाई ठेस पुर्याएको र जनतामा व्यापक विरोध तथा आक्रोश थपेको भन्दै कारवाहीको मा गरिएको हो ।

संविधानको धारा १७ को उपधारा २ तथा धारा १८ को उपधाराहरू २ र ३ बमोजिम कारवाही गर्न माग गर्दै २०७४ को राज्य विरुद्वका कसुर अन्तर्गत दफा ४९ को ४ र दफा ६५ को १ को व्यवस्था बमोजिम यस्ता गतिविधीहरू बन्द हुनुपर्ने पत्रमा उल्लेख छ ।

साथै, अन्य विभिन्न टेलिभिजनको कार्यक्रम जस्तै ‘कोरोना बिर्साउने गफगाफ’, ‘ह्वाट द फ्लप’, ‘जोगीन्दर बोले प्रणाम जी’सहित नेपाली चलचित्रहरूमा केही सीमित व्यक्ति र समुदायको मनोरञ्जन तथा हाँसोका लागि कुनै खास वर्ग मधेशी सहितकालाई भाषा, भेषभुषा शब्द अभिनय र संकेतका माध्यमले होच्याउने, अपमान गर्ने जस्ता क्रियाकलपाले कुनै विशेष समुदायमा आक्रोश पैदा गरी राष्ट्रिय एकता तथा समाजिक सद्भाव खलबलाउन सक्ने भएकाले यस्ता विभेदकारी कार्यक्रम निर्माण र प्रशारणमा रोक लगाउनसमेत प्रदेश सरकारले माग गरेको छ ।

पत्र गृह मन्त्रालय, मानव अधिकार आयोग, मधेशी आयोग, चलचित्र बोर्ड सहितकालाई समेत बोधोर्थ गरिएको छ

सञ्चार मन्त्रालयलाई पठाएको पत्रलाई समाजिक सञ्जालमा राखेर आफै प्रदेश २ सरकारका मुख्य न्यायाधिवक्ता झाले सार्वनिक गरेका हुन । उनको पत्रमा धेरैले कारवाहीको मागको समर्थन गरेका छन् । तर, बैंककर्मी कुन्दन कौशिकले मुख्य न्यायाधिवक्ता झाले यसप्रकारको पत्र पठाउन नहुने बताए ।

मुख्य न्यायाधिवक्ताको काम प्रदेश सरकारलाई सल्लाह दिनु मात्रै रहेको भन्दै उनले समाजिक सञ्जालमा लेखेका छन् ।

Back to top