×

वीरगंज ७ जेठ । आदर्शनगरस्थित चित्रलेखा स्टुडियोबाट स्पेशल टास्कफोर्सले स्थानीय जनताको गुनासोका आधारमा बालिकाहरुको दुरुपयोग गरि अवैध गतिविधी गर्नेहरुलाई रंगेहात पक्राउ गरे पनि उनीहरुप्रति पर्सा प्रहरी उदार देखिएको छ ।

जुवातास र मदिरा सम्बन्धी समाचार मेल मार्फत पठाउने पर्सा प्रहरीले यो घटनाबारे पत्रकारहरुलाई कुनै औपचारिक जानकारी गराएको छैन । कुनै विज्ञप्ति नपठाएको देख्दा पर्सा प्रहरीको नियतमाथि अहिले स्थानियहरुले औँला ठड्याउन शुरु गरेका छन् । लकडाउन र निषेधाज्ञाको धज्जी उडाउँदै सोमबार राती स्टुडियो सञ्चालक बैजु प्रजापति र उनका सहयोगी बादल जयसवाल र मनिष मिश्रा दुई जना बालिकाहरु सहित गिरफ्तार भएका थिए।

बालिकाहरुलाई सोमबार राती नै महिला सेल पठाइएको थियो। बब्लु भन्ने अर्का सहयोगी सोबार राती नै फरार थिए। उ अझै पक्राउ पर्न सकेको छैन्। उनीहरुलाई एसटीफका सई सूर्य चौधरीले जिल्ला प्रहरी कार्यालय पर्सालाई जिम्मा लगाएका थिए । जिम्मा लगाएकाहरुको स्वास्थ्य परिक्षण नै नगरी पर्सा प्रहरीले मंगलबार सार्वजनिक मुद्दा अन्तर्गत म्याद थपेको छ।

घटनाक्रमलाई अध्ययन गर्दा यो घटना कुनै हिसाबले पनि सार्वजनिक अपराध अन्तर्गत नपर्ने भनाई अधिवक्ता बिनय सिंहको रहेको छ । अधिवक्ता सिंहका अनुसार प्रहरीले यो मुद्दामा मोलाहिजा गरेको अनुमान छ ।

मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अन्तर्गत करणी सम्बन्धी कसुरको दफा २१९ मा १८ वर्ष भन्दा मुनीका बालिकालाई सहमतिमा पनि शारिरीक सम्बन्ध राखेपनि जर्बरजस्ती करणी गरेको मानिने उल्लेख छ । सोही दफाको ३ ख मा १० वर्ष भन्दा माथि १४ वर्ष भन्दा कमको बालिका भएमा १८ देखि २० वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।

करणी सम्बन्धी कसुरको दफा २२५ मा बाल यौन दुरुपयोग नहुने अन्तर्गत ३ को धारा दुईमा कसैले करणीको आशयले बालिकालाई अस्वभाविक रुपमा एकान्तमा लगेमा यौन सम्बन्धी निजको अंग छोएमा वा समातेमा बाल यौन दुरुपयोग भएको स्पष्ट उल्लेख छ । जस अपराध अन्तर्गत तीन वर्ष कैद र तीस हजार जरिवाना उल्लेख छ ।

तर बालिकाहरुसँग शारीरिक सम्वन्ध राखेको भिडियो बनाउने अवैध गतिविधीमा संलग्न भनिएकाहरुलाई प्रहरी नरम रुपमा प्रस्तुत भएकोमा स्थानियहरु आश्चर्यमा परेका छन्। सामान्य परिवारका बालिकाहरु भएका कारण ठूलो दवाव नपरेका कारण पनि प्रभावशाली रहेका यूवाहरुको पक्षमा प्रहरी नरम देखिएको प्रहरी स्रोतले नै बताएको छ। बालिकाहरुमाथि यो घटना यस्तो समयमा उजागर भएको छ जतिबेला पर्साको प्रहरी प्रमुख स्वंय महिला छिन। पछिल्ला दिनमा पर्सा प्रहरी प्रमुख गंगा पन्त चर्चामा रहेपनि यो घटनामा प्रहरी नेतृत्वको भूमिकाले उनलाई समेत विवादमा पार्ने देखिएको छ।

स्रोत: हाम्राकुरा

Back to top