×

वीरगञ्ज ६ जेठ । कोरोना संक्रमण फैलिएपछि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका कारण सेवा बन्द गरेका वीरगञ्जका बैंकहरु बुधवारदेखि सुचारु हुने भएका छन् । नेपाल राष्ट्र बैंक वीरगञ्ज र वीरगञ्ज बैंकर्स समूहका पदाधिकारीबीच भएको छलफलपछि यस्तो समझदारी भएको हो ।

वीरगञ्जमा वाणिज्य बैंकका २७ ओटा शाखाले सेवा सुचारु गर्ने भएका हुन् । वीरगञ्जमा कोरानाको जोखिम बढेपछि यसअघि लकडाउनको समयमा पनि बैंकहरूले आलोपालो सेवा दिएका थिए । एकैदिन पर्साका ५७ जनामा कोरोना संक्रमण पूष्टि भएपछि प्रशासनले वैशाख ३१ देखि जेठ ५ गतेसम्मका लागि निषेधाज्ञा लगाएको थियो । मंगलारदेखि निषेधाज्ञा हटाएर लकडाउनलाई कडा पारिने भएको छ ।

बैंकहरूले अहिलेका लागि सुरक्षा सतर्कता अपनाएर बिहान ११ देखि २ बजेसम्म सेवा दिने बैंकर्स समूहका अध्यक्ष रोशनभक्त श्रेष्ठले बताए । सेवा सञ्चालनका क्रममा सकेसम्म कम कर्मचारी उपस्थित भएर सेवा प्रवाह गर्ने समझदारी भएको नेपाल राष्ट्र बैंकका निर्देशक राजनबिक्रम थापाले जानकारी दिए । बैंकको अग्रभागमा रहेर काम गर्ने कर्मचारीको कोरोना परीक्षणको व्यवस्था मिलाउन बैंकर्सले स्थानीय प्रशासनसँग मागसमेत गरेका छन् ।

Back to top